पूर्वमन्त्री डा. डम्बरनारायण यादवको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वमन्त्री डा. डम्बरनारायण यादवको निधन


२ कार्तिक २०७७, आइतबार


सप्तरी । पूर्वमन्त्री डा. डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आज निधन भएको छ । महादेवा गाउँपालिका–३ बथनाहा निवासी डा. यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजयले जानकारी दिए ।

काठमाडौँमा बसोबास गर्दै आएका डा. यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए । उनी चार दिनअघि अचानक बेहोश भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा. यादवको मस्तिष्काघातका कारण निधन भएको अजयले बताए ।

यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री रहेका थिए ।

प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा. यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न रहेका थिए ।

उनको बथनाहास्थित पैतृक गाउँमा आज साँझ दाहसंस्कार गरिने डा. यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवका एक छोरा र एक छोरी छन् । उनका श्रीमतीको एक वर्षअघि निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस