भोली पाँच सय बढी उप र सहसचिवको विज्ञापन हुँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भोली पाँच सय बढी उप र सहसचिवको विज्ञापन हुँदै


२७ आश्विन २०७७, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले उपसचिव र सहसचिवको विज्ञापन गर्ने भएको छ ।

लोक सेवा आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार भोलि(बुधवार) विभिन्न सेवाका गरी पाँच सय भन्दा बढी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गर्न लागेको हो ।

प्रशासन सिंहदरबार स्रोतका अनुसार स्वास्थ्य सेवाका एक सय ५० जना उपसचिव र ७० जना सहसचिव, संसद् सेवाबाट उपसचिव र सहसचिव गरी २१ जना र निजामतीतर्फ प्राविधिक र अप्राविधिक गरी तीन सय उपसचिव र एक सय सहसचिवको विज्ञापन हुँदै छ ।

जसमध्ये सबै सेवाका गरी करिब ९० जति पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति हुनेछ भने बाँकी फाइल बढुवा र आन्तरिक प्रतियोगिता पदपूर्ति हुनेछ । उपसचिव र सहसचिवमा कुल पदको १० पदको मात्रै खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्ने व्यवस्था रही आएको छ ।

यसैबिच परराष्ट्र सेवाका तीन जना सहसचिवसहित अन्य केहि  सेवाबाटपनि अन्तिम समयमा थप माग पठाइएको बुझिएको छ । जबकि आयोगले आर्थिक वर्षको सुरुमै आफ्नो वार्षिक कार्य तालिका प्रकाशित गर्ने र सोही अनुसार मन्त्रालयबाट माग पठाउनु पर्ने भए पनि पछिल्ला समय व्यक्तिलाई उकाल्ने र पछि पार्ने खेलमा केही पद लुकाउने तथा बढाएर पठाउने गरेको पाइएको छ ।

यस पटक पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पद लुकाएर यही खेल दोहोर्‍याएको भन्दै केही कर्मचारीले प्रधानमन्त्री कार्यालयमासमेत निवेदन दिएका थिए । त्यसपछि आज सामान्य प्रशासन मन्त्रालयले अन्तिम घडीमा आएर केही पद थप गरेर पठाएको उच्च स्रोतले जानकारी दिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस