समय र मागका आधारमा परिवर्तन व्यवस्थापन « प्रशासन
prasaLogo
२६ आश्विन २०७७, सोमबार

समय र मागका आधारमा परिवर्तन व्यवस्थापन


प्रकाशित मिति : 12 October, 2020 11:41 am

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड(१९)का कारण आर्थिक, सामाजिक, प्राविधिक एवम् नैतिक लगायत सबै क्षेत्रमा यसको प्रभाव परिरहेको छ । कोभिड–१९ का कारण परिवर्तित समय, माग र आवश्यकताको आधारमा सङ्गठनमा कार्यरत सम्पूर्ण राष्ट्रसेवकहरुले सरकारले गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै उपलब्ध भएसम्म ई–सर्भिस तथा प्रविधिको सदुपयोग गरी सर्वसाधारण जनतालाई छिटो, छरितो, सुलभ, सहज, सरल, गुणस्तरीय, भरपर्दो र प्रक्रिया अपनाई सेवा प्रदान गर्नुपर्दछ ।

नियमित सरसफाइ, नियमित हात धुने, नियमित तथा अनिवार्य आवश्यकता अनुसार मास्क प्रयोग गर्ने, स्यानिटाइजरको सही सदुपयोग, स्वास्थ्यकर खानपानमा ध्यान दिने, सामाजिक तथा भौतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड सबैले पालना गरेमा रोगलाग्नबाट बच्न सकिन्छ । प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले स्थापित सार्वजनिक प्रशासन पनि कोभिड–१९ बाट अछुतो रहन सकेको छैन । समग्रमा राष्ट्रको अग्रगमन र प्रगतिको मापनको केन्द्रबिन्दु नै सो राष्ट्रको प्रशासकीय व्यवस्था हुने हुँदा प्रशासनिक संयन्त्रमा सदैव परिवर्तित समयको माग र आवश्यकता अनुसार परिवर्तन हुनु अनिवार्य ठानिन्छ ।

परिवर्तन एक निरन्तर चलिरहने प्रक्रिया हो । परिवर्तनका लागि सदैव सकारात्मक दबाब दिई राष्ट्र सेवकहरूलाई वर्तमान समय र मागको आधारमा क्षमता अभिवृद्धिको लागि समयानुकूल तथा परिवर्तित, प्रविधि मुखी तालिम, प्रशिक्षण तथा सीप विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ । यस्तो परिस्थितिमा परिवर्तित सन्दर्भ, माग र समयलाई अवसरको रूपमा लिई यथास्थितिबाट सुधारोन्मुख अवस्थामा पुग्नु परिवर्तन हो ।

समय र मागको आधारमा परिवर्तन व्यवस्थापन गर्नुपर्नाका कारणहरू
० सर्वसाधारण जनताका जायज माग, इच्छा, आकाङ्क्षा, आवश्यकता, चाहना, अवस्था, क्षमताअनुसार उपलब्ध स्रोत साधनको अधिकतम परिपूर्ति गरी सङ्गठनको छवि चम्काउन ।
० दिन प्रतिदिन विश्व परिवेशमा विकास हुँदै गरेका वा आविष्कार भएका आधुनिक, समसामयिक, सूचना तथा सञ्चार र प्रविधिको अधिकतम सदुपयोग गर्न ।
० छिटो, छरितो, सस्तो, सहज, सरल, गुणस्तरीय, भरपर्दो र प्रभावकारी सेवा प्रवाह गरी सङ्गठनलाई स्थायित्व दिन ।
० विकासका प्रयासमा सर्वसाधारण जनतालाई सहभागी उनीहरूको भूमिकाको उचित कदर गर्न ।
० यथास्थिति मनोवृत्तिलाई त्यागी अग्रगमन, प्रगति, समयानुकूल, कोरोनासँग जित्न र विकासको मार्ग रोज्न ।
० राष्ट्रसेवकहरुले स्वास्थ्य, सरसफाइ तथा सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई सरकारको निर्देशनभित्र रही प्रभावकारी सेवा प्रदान गर्न ।
० राष्ट्रसेवकहरूमा उच्च मनोबल, उत्प्रेरणा प्रदान गरी कामप्रति निष्पक्षता, बफादार, सिर्जनशील र कर्तव्यनिष्ठ, वस्तुनिष्ठ बनाउन ।
० सर्वसाधारण जनता, व्यवस्थापन र राष्ट्रसेवकहरूको बिचमा सुमधुर सम्बन्ध स्थापित गर्न ।
० सङ्गठनहरूको बिचमा स्वस्थ प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न ।
० सेवा, सुविधा, लाभ, अवसरहरूको न्यायोचित समानुपातिक वितरण गर्न ।
० उपलब्ध स्रोत साधनको महत्तम र प्रभावकारी सदुपयोग गरी सङ्गठनको उत्पादकत्व अभिवृद्धि गर्न ।

परिवर्तित समय र मागको आधारमा परिवर्तनका क्षेत्रहरू
० संरचनामा परिवर्तन
० प्रविधिमा परिवर्तन
० कार्य प्रणालीमा परिवर्तन
० भौतिक र सामाजिक दुरी कायम गर्ने
० स्वास्थ्य तथा सरसफाइमा ध्यान दिने
० भौतिक व्यवस्थापनमा मा परिवर्तन
० मानवीय तत्त्व र व्यवहारमा परिवर्तन
० सङ्गठनात्मक संस्कृति

परिवर्तित समय र मागको आधारमा परिवर्तन व्यवस्थापन प्रक्रिया
० निदान : समस्या पहिचान र क्रियाकलापको निर्धारण
० विश्लेषण : सरसल्लाह गर्ने र परिवर्तनका लागि वातावरण तयार पार्ने
० पृष्ठपोषण : एजेन्डाबारे पृष्ठपोषण लिने
० कार्य : परिवर्तनको खास कार्यका साथै कार्यान्वयन गरिने
० मूल्याङ्कन : निर्धारित उद्देश्य पूरा गर्न सक्यो, सकेन हेर्ने तथा मूल्याङ्कन र समीक्षा गर्ने ।

परिवर्तन व्यवस्थापनका प्रभावकारी उपायहरू
० राष्ट्र सेवकहरूको पदस्थापन, सरुवा, बढुवा, योग्यताको आधारमा गरिनुपर्दछ । वैदेशिक तालिम तथा अध्ययनका अवसरहरूको पनि समानुपातिक वितरण गरिनुपर्दछ । एकै तहमा पनि विभिन्न सेवा, समूहमा सेवा, सुविधा, अवसरहरूको समानुपातिक वितरणलाई निरुत्साहित गर्दै आकर्षक र अनाकर्षक सेवा, समूह विभेद हटाउनुपर्दछ ।
० सहभागितामूलक व्यवस्थापनको अभ्यास गर्दै सम्मतिपूर्ण निर्णय निर्माण प्रक्रियालाई अवलम्बन गर्नुपर्दछ ।
० परिवर्तन अपरिहार्यताबारे राजनीतिक शक्ति र उच्च प्रशासनिक नेतृत्वलाई बोध गराई उनीहरूको परिवर्तनप्रति प्रतिबद्धता एवं कटिबद्धता हासिल गर्नुपर्दछ ।
० सङ्गठनमा खुला सञ्चार प्रणालीको विकास गरी समन्वय, साझेदारी, सहयोगी र सञ्चारको क्षेत्र फराकिलो बनाउनुपर्दछ ।
० केन्द्रमा रहेको अधिकार, शक्ति, भूमिका र जिम्मेवारीलाई मातहतमा प्रत्यायोजन गरी मातहतका सङ्गठन तथा कर्मचारीमा उच्च मनोबल र उत्प्रेरणा प्रदान गर्नुपर्दछ ।
० परिवर्तनका प्रयास संरचना केन्द्रित र कार्यविधि केन्द्रित मात्र नबनाई प्रक्रिया व्यवस्थापन शैली, कार्य, प्रवृत्ति र व्यवहारको सुधारमा पनि पर्याप्त ध्यान दिनुपर्दछ ।
० सङ्गठनमा परिवर्तनको आवश्यकताको पहिचान गरी कार्य योजना बनाई समूह कार्य निर्माण गरी पारस्परिक सहयोग, समन्वय र समर्थनमा सुधार कार्य गर्दै जानुपर्दछ ।
० परिवर्तित अवस्थामा कर्मचारीहरूलाई आफ्नो भूमिका र दायित्व प्रभावकारी ढङ्गले सम्पादन गर्ने क्षमता अभिवृद्धिका लागि तालिम, प्रशिक्षण तथा सीप विकासका कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ ।
० परिवर्तित अवस्थामा कर्मचारीको सुविधा, हैसियत र प्रतिष्ठा एवं सेवाको सुरक्षाको कुनै किसिमको नकारात्मक असर नपर्ने कुरामा विश्वास दिलाउन सक्नुपर्दछ ।
० गुणात्मक परिवर्तनका लागि नागरिक समाज, विभिन्न सङ्घसंस्था, उपभोक्ता समूह सामुदायिक सङ्गठन तथा आमसञ्चारबाट पनि दबाब सिर्जना गर्नुपर्दछ । साथै नागरिकहरूले परिवर्तनको लागि आफ्नो स्तरबाट सकेसम्मको सहयोग र समर्थन गर्नुपर्दछ ।

निष्कर्ष
कोरोना भाइरस(कोभिड(१९)को कारण परिवर्तित सन्दर्भ, समय तथा उत्पन्न असहज परिस्थितिसँग भागेर, डराएर, पन्छिएर, ह्रास खाएर, मनोबल खसाएर, डर, त्रास र भयमा बाँच्नु भन्दा राम्रो कोरोना भाइरस(कोभिड(१९)सँग जुधेर, डटेर, लडेर, सम्पूर्ण सावधानीहरू अपनाएर, उच्च मनोबलका साथ, स्वस्थ रही, सरकारका नीति निर्देशन पालना गरी, दैनिक योग, ध्यान, व्यायाम र हँसिलो तथा सक्रिय भई सकारात्मक सोचका साथ परिवर्तित समय र मागको आधारमा परिवर्तन भई प्रभावकारी, गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गर्नुपर्दछ । सङ्कट सधैँ एकनास रहँदैन, बिस्तारै टरेर जान्छ । तसर्थ उपलब्ध भएसम्म विद्युतीय प्रविधिसँग परिचित हुँदै परिवर्तित समय र मागको आधारमा परिवर्तित व्यवस्थापनलाई आत्मसाथ गर्दै जानुपर्दछ । साथै मानिसमा चेतना, उच्च अपेक्षा, लोकतान्त्रीकरण, गुणात्मक सेवा वितरण, खुलापन र नवीनताको मागमा विशेष जोड दिँदै परिवर्तित समय र मागको आधारमा परिवर्तन व्यवस्थापन गर्नुपर्दछ ।

राजदेव यादव शिक्षा विकास तथा समन्वय इकाई, धनुषामा शाखा अधिकृत पदमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस