आकाशै खसेको त कहाँ छ र ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आकाशै खसेको त कहाँ छ र ?


२४ आश्विन २०७७, शनिबार


तिम्रै सल्लाहमा
तिमीहरूकै खुसीको लागि त हो
परदेशिएको म
मलाई मात्र कहाँ रहर थियो र ?
विदेशी भूमिमा
हाड घोट्न
रगत, पसिना बगाउन
अनि
प्रेममय पारिवारिक
सानो सुन्दर संसार छोडेर
मुग्लानिया हुन ।

तर
तिमीलाई एक्कासि के भो ?
बिहान सखारै
ती चिचिला
अबोध नानीबाबुलाई
विस्तरामै छोडेर हिँड्यौ
उठेर ती बिचराहरूले
आमा भन्दै बोलाउँदा
चारैतिर खोज्दा पनि
तिमीलाई
न भेटेपछि
कसरी भक्कानिए होलान्
तिमी कल्पना गर्न सक्छ्यौ ?
मेरो त अहिले पनि
आँसु टप्कन्छ ।

तिम्रो
म प्रतिको प्रेम
डगमगाएको रहेछ
बिस्तारै उसको प्रेममा
फस्दै गएकी रहेछ्यौ
मलाई के थाहा ?
मेरो त तिमी प्रतिको मायामा
कहिल्यै कमी थिएन
जति टाढा भएँ
माया त झन्
गाढा हुँदै थियो ।

हराए पनि मेरो माया
आफ्नै रगतबाट सृजित
सृष्टिका ती अनुपम उपहार
कसरी छोड्न सक्यौ ?

कमसेकम
म नआउन्जेल
सम्हालेर राखेको भए त हुने
एक आखर
जानकारी सम्म दिएको भए
सहमतिमै छोड्ने थिएँ म
हो, सहमतिमै
किनकि
प्रेम बलजफ्ति त हुँदैन
तिमी उसै प्रति आशक्ति भए
म कहाँ रोक्थेँ र तिम्रो पाइला ?

ठिकै छ गयौ
अर्कैको भयौ
म त सम्हालिन्छु
तर
यी अबोध शिशुहरू
न हुर्कुन्जेल
कहिलेकाहीँ त
आऊ है ,
यिनीहरूको न्यास्रो मेटाउन
म तिमीलाई स्वागतै गर्ने छु ।

अब यसपालि
दसैँ आइ नै सक्यो
दसैँको दिन
नानीबाबु पठाउने छु
माया गरी टीका लगाइदेऊ
र आफ्नै रक्ताम्श सम्झेर
मातृत्वको स्नेहले सुमसुम्याउँदै
सुखपूर्वक जिउने
आशीर्वाद दिई पटाऊ है ।

दोष न तिम्रो छ
दोष न मेरो
नियतिको परिणाम
स्विकार्नै पर्छ
आकाशै खसेको त कहाँ छ र ?
धर्ती भासिएको पनि कहाँ हो र ?
खालि माया फाटेको न हो
आनन्दले तिमी बाँच
यही म कामना गर्छु
सम्हालिएर बाँच्ने
म पनि कोशिश गर्छु ।
जो हुनु भै गयो
हाँसेरै बाँच्ने गर्छु ।।

—अस्तु—

प्रतिक्रिया दिनुहोस