दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुई वर्षपछि नेकपा खोटाङले पायो पूर्णता


२१ आश्विन २०७७, बुधबार


खोटाङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले केन्द्रमा दुई ठूला पार्टीबीच एकीकरण भएको झण्डै दुई वर्षपछि पूर्णता पाएको छ । केन्द्रमा तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएको लामो समयपछि जिल्लाका दशवटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जलगायत सबै जनवर्गीय सङ्गठनको जिम्मेवारीसमेत टुङ्ग्याएको हो ।

नेकपाको पालिकास्तरीय समितिको अध्यक्ष र सचिवको टुङ्गो लगाएको लामो समयपछि यही असोज १८ र १९ गते बसेको सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउनेक्रममा पालिकास्तरीय समितिको इन्चार्ज र सह–इन्चार्जको टुङ्गो लगाएको जनाएको छ । बैठकपछि नेकपा खोटाङले मङ्गलबार पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गरेर औपचारिक रुपमा सचिवालय समितिको बैठकले पारित गरेको निर्णयहरु सार्वजनिक गरेको छ ।

पार्टीको प्रचार विभाग प्रमुख जीवन राई (सङ्गीन)ले दिएको जानकारी अनुसार ऐसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईलाई इन्चार्ज र गिरेन्द्रबहादुर राईलाई सह–इन्चार्ज, केपिलासगढी गाउँपालिकामा गृहबहादुर राईलाई इन्चार्ज र रुद्रकुमार राईलाई सह–इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राईलाई इन्चार्ज र अकिल राईलाई सह–इन्चार्ज, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कुमार आचार्यलाई इन्चार्ज र सन्तोष राईलाई सह–इन्चार्ज तथा साकेला गाउँपालिकामा बिर्सिका राईलाई इन्चार्ज र दिलकुमारी राईलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा चर्च विश्वकर्माले इन्चार्ज र इन्द्र दङ्गालले सह–इन्चार्ज, जन्तेढुङ्गा गाउँपालिकामा देवी रेग्मीले इन्चार्ज र वीरबल राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा राजन बञ्जराले इन्चार्ज र इन्द्र नारथुङ्गेले सह–इन्चार्ज, रावाबेँसी गाउँपालिकामा उदयबहादुर कार्कीले इन्चार्ज र सीताराम अधिकारीले सह–इन्चार्ज तथा बराहपोखरी गाउँपालिकामा निशाना राईले इन्चार्ज र दिलबहादुर राईले सह–इन्चार्जको जिम्मेवारी पाएका छन् ।

नेकपाले क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर १ को प्रमुखमा खडेन्द्र राई र क्षेत्र नम्बर २ को प्रमुखमा दीपक पाण्डे ‘आकाश’लाई जिम्मेवारी तोकेको छ । नेकपाले विभिन्न १८ वटा विभागको जिम्मेवारी पनि बाँडफाँड गरेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

यसैबीच, नेकपा खोटाङले आफ्नो सदस्यले महिला हिंसा तथा जातीय छुवाछुत गरेको प्रमाणित भए कडाइका साथ कारबाही गर्ने निर्णय गरेको छ । जिल्लाका दलित समुदायले चरणवद्ध रुपमा शुरु गरेको सङ्घर्षका कार्यक्रममा ऐक्यबद्धता जनाउँदै नेकपाले महिला हिंसा र छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भए पार्टीबाट निश्काशन गर्ने र जनप्रनिधिको उम्मेदवार बन्नसमेत बन्देज लगाउने निर्णय गरिएको जिल्ला सचिव रामप्रसाद दङ्गालले जानकारी दिएका छन् ।

पार्टी कार्यालयमा दुई दिनसम्म चलेको सचिवालय बैठकले ६० वर्षमुनिका एकल महिला, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति, इन्डियन र ब्रिटिस भूपू आर्मीको सामाजिक सुरक्षा भत्ता कटौति नगर्न माग गर्ने, कोरोनाको सङ्क्रमण रोकथामका लागि जनचेतनामूलक अभियान चलाउने, वडा–वडामा ‘एक कमिटि, एक उत्पादन’को अभ्यास गर्ने, जनचासोका कामलाई प्राथमिकता दिएर श्रमदानमा सरिक हुने, राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि सन्देश प्रवाह गर्ने लगायत निर्णय गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस