दशैंमा भक्तपुरको तलेजुमा बलि नदिइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दशैंमा भक्तपुरको तलेजुमा बलि नदिइने


२० आश्विन २०७७, मंगलबार


भादगाउँ । यस वर्षको बडादशैंँमा भक्तपुरको तलेजु मन्दिरभित्र बलि नदिने भएको छ ।

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज बसेको जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीसहितको बैठकले कोरोना महामारीका कारण तलेजुमा विधिपूर्वक पूजा गर्ने तर बलि नदिइने निर्णय गरेको हो । भक्तपुरमा तलेजुमा सर्वसाधारणले बाहेक सरकारीस्तरमा गुठी संस्थानले मात्र बडादशैँ अवधिमा ६० बोका, ३१ राँगा र ३० हाँस बलि दिने प्रचलन छ ।

बैठकले विजयादशमीका अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पूजामा बलि नदिइने र तलेजु भवानीको पूजा स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी विधिपूर्वक सामान्य मात्र गरी सीमित गरिने निर्णय गरेको हो ।

त्यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म नगरका विभिन्न शक्तिपीठमा हुने मेला, पूजा र नवरात्रका समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरमा नजानका लागि जनतालाई आह्वान गर्ने निर्णयसमेत गरिएको छ ।

बैठकले दशैंँ अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।नगर प्रमुख प्रजापतिले जात्रा र पर्वलाई औपचारिकतामा सीमित गरी मनाइने निर्णयमा जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस