पहिरा पीडितलाई प्रदेश सरकारद्वारा सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहिरा पीडितलाई प्रदेश सरकारद्वारा सहयोग


२० आश्विन २०७७, मंगलबार


बलेवा । बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिरा पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ ।

ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ परिवार र बेपत्ता रहेका १५ परिवार गरि ३७ जनाको परिवारलाई प्रति मृतक/वेपत्ता ५० हजार रुपैयाँका दरले गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको हो । त्यस्तै गत असार र साउनमा आएका पहिरोमा परी मृत्यु भएका निसीखोला र तमान खोला गाउँपालिकाका ५ परिवारका लागि पनि राहत रकम उपलब्ध गराइएको छ ।

गण्डकी प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले सोमबार पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत रकम प्रदान गरेका हुन् । जिल्लाको पश्चिमका ४२ परिवारका लागि प्रदेश सरकारले २१ लाख रुपैयाँ उपलव्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । ढोरपाटनको बोबाङमा पहिरोसँगै आएको बाढीका कारण घरगोठ पुरिँदा बेपत्ता भएका मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै बेपत्ता छन् ।

राहत रकम प्रदान गर्दै मन्त्री चुमानले विपद्को सामना गर्न सबै एक भएर लाग्नुपर्ने बताए । ढोरपाटनले मृतक र बेपत्ताको तथ्यांक समयमा उपलब्ध गराउन नसकेका कारण पीडितलाई राहत वितरणमा ढिलाई भएको थियो । ढोरपाटनमा पुनस्थापनाको लागि प्रदेश सरकारले आवश्यक काम थालिसकेको जनाउँदै उहाँले स्थानीयसँग मिलेर बस्ति बसाउने काममा लाग्ने बताए । ढोरपाटनमा बाढीपहिरोमा १ सय ३० घर विस्थापित भएका छन् ।

पहिरा पीडित बालकलाई सहयोग

गत भदौ २९ गतेको पहिरोले घर पुरिएर आफन्तसँग बस्दै आएका जैमिनी नगरपालिका १ कुश्मीशेरा टुनिबोटका एक बालकलाई दक्षिण कोरियामा रहेका युवाले सहयोग गरेका छन् । पहिरोले घर पुरिएपछि आमासँगै मामा घरमा बस्दै आएका बिस्मात क्षेत्रीलाई ती युवाल पढाइ खर्च उपलब्ध गराएका हुन् ।

पहिरो पीडितका लागि दक्षिण कोरियामा सङ्कलन गरिएको राहत रकमबाट १५ हजार रुपैयाँ पीडित बालकको पठनपाठनमा सहयोग पु¥याउने गरी पठाइएको अभियान्ता सन्तोष पौडेलले जानकारी दिए । पहिरोले घरगोठ पुरिएपछि उनी बेसहारा बनेका छन् । अन्यत्र घर बनाउने जग्गासमेत नरहेकाले क्षेत्री परिवार समस्यामा परेको छ । उनका हजुरवुवा र काकाको घरसमेत पहिरोले पुरेको छ । क्षेत्रीले कक्षा ११ मा पढ्छन् ।

रोजगारीको सिलसिलामा कोरियामा रहेका युवाहरुले पहिरो पीडितहरुका लागि राहत रकम पठाएका थिए । उनीहरुले पठाएको २ लाख १३ हजार रुपैयाँमध्ये मृत्यु भएकाका दुई परिवारको लागि ६० हजार र घरगोठ पुरिएर विस्थापित भएका ७ परिवारलाई २३ हजार रुपैयाँका दरले राहत रकम उपलव्ध गराईएको छ । राहत रकम वितरण गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले वैदेशिक रोजगारीमा रहेका युवाहरुले देखाएको मातृ ममता प्रशंसनीय रहेको बताए । दक्षिण कोरियामा सोही गाउँबाट रोजगारीका लागि पुगेका सन्तोष पौडेल, दयाराम पौडेल र जीवन चपागाईले राहत सङ्कलनको अगुवाइ गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस