मन्त्री अर्यालद्धारा स्याङ्जाका पहिरो पीडितलाई १८ लाख राहत वितरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मन्त्री अर्यालद्धारा स्याङ्जाका पहिरो पीडितलाई १८ लाख राहत वितरण


प्रशासन संवाददाता

१८ आश्विन २०७७, आइतबार


स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा पहिरोमा परि मृत्यु भएका तथा घाइते भएकाहरूको परिवारलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राहत रकम हस्तान्तरण गरेकी हुन् ।

मन्त्री अर्यालले पहिरो पीडितको घरमै पुगेर नेपाल सरकार र सहकारी अभियानको तर्फबाट नगद १८ लाख ५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेकी हुन् । मन्त्री अर्यालले वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका केही दिन अघि गएको पहिरो पीडितलाई नगद १८ लाख ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन् ।

मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका–१४ तमादीमा पुगेर मृतकको परिवारलाई १० लाख २० हजार प्रदान गरेकी हुन् । राहत रकम नेपाल सरकारको तर्फबाट ७ लाख र मन्त्रालयको पहलमा ३ लाख रकम मन्त्रीले प्रदान गरेकी हुन् । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो ।

यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका–४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गरेकी छन् । पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत प्रदान गरेकी हुन् ।

उनले असोज ८ गते मृत्यु भएका १७ वर्षीय विष्णु दमैको परिवारलाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गरेकी हुन् । यसैगरी उनले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५/५ हजारका दरले सहयोग रकम हस्तान्तरण गरेकी हुन् ।

यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई सहकारी संघका तर्फबाट २०/२० हजार र विस्थापित चार परिवारलाई १५/१५ हजार राहत मन्त्री अर्यालले प्रदान गरेकी हुन् ।

वालिङ नगरपालिका–११ मा पहिरोबाट मृत्यु भएका स्वर्गीय दुर्गाबहादुर थापाको परिवार तथा घाइतेहरूलाई २ लाख ५० हजार, घाइते मुना थापालाई २० हजार, नारायणी सिञ्जाली १० हजार, दिलबहादुर परियारलाई १० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेकी हुन् ।

त्यसक्रममा आयोजित श्रद्धाञ्जलीसभामा मन्त्री अर्यालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेकी थिइन् । मन्त्री अर्यालको संयोजनमा नेपाल सरकार, प्रदेश सरकार तथा राष्ट्रिय सहकारी बैंक र काठमाडौं जिल्ला सहकारी संघ समेतको सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको मन्त्रीका स्वकीय सचिव बुद्ध घर्तीले जानकारी दिए ।

सरकारको तर्फबाट १२ लाख ५ हजार, काठमाडौं जिल्ला सहकारी संघको संयोजनमा काठमाडौंमा विभिन्न सहकारी संस्थाहरु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट ६ लाख रुपैयाँ गरी जम्मा १८ लाख ५ हजार रुपैयाँ स्याङ्जाका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएकाहरूलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला सहकारी संघ स्याङ्जाको अनुरोधमा जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौंका विभिन्न सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकमार्फत पहिरो पीडितलाई ६ लाख राहत सहयोग गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस