लोक सेवा प्रश्नोत्तर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लोक सेवा प्रश्नोत्तर


१७ आश्विन २०७७, शनिबार


सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन अवलम्बन गरिएका नवप्रर्तनशील कदमहरू उल्लेख गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउने क्रममा देखिएका प्रमुख समस्याहरूको समीक्षा गर्नुहोस् । Mention the innovative initiatives taken for effective public service delivery encountered in order to make it effective . 10

सेवा प्रभावकारिताको लागि नवप्रवर्तनशील कदम
सार्वजनिक सेवा प्रवाह वा वितरण भनेको सार्वजनिक सेवाहरूलाई कार्यान्वयनमा उतार्ने र ती सेवाहरू उद्देश्य अनुसार लक्षित वर्ग र लक्षित स्थानसम्म पुगेको सुनिश्चित गर्ने कार्य हो (Public service delivery is the implementation of those services and making sure they reach those people and places they’re intended to.)

सार्वजनिक सेवा प्रवाह वा वितरणले सेवा सिर्जना हुने कुरादेखि सेवाग्राहीले सेवा प्राप्त गर्ने र सो सेवा सहज रूपमा उपयोग गर्ने कुरासम्म समेट्छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन नेपालमा थुप्रै नवप्रवर्तनशील कदमहरू अवलम्बन गरिएका छन् , प्रमुख नवप्रवर्तनशील कदमहरूलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ :
· शासन प्रणाली प्रति सार्वभौम जनताको सहभागिता तथा स्वामित्व अभिवृद्धि होस भन्ने मुख्य उद्देश्यले एकात्मक तथा केन्द्रीकृत शासन प्रणालीको अन्त्य गरी तीन तहको सरकार रहेको संघीय शासन प्रणालीमा रूपान्तरण गरिएको छ,
· ICT को प्रयोगमा जोड दिइएको छ,
· निर्णयका तहहरू घटाइएको तथा अधिकार प्रत्यायोजनको व्यवस्था गरिएको छ,
· सेवा प्रवाह गर्ने विभिन्न सरकारी निकायमा क्षतिपूर्ति सहितको नागरिक बडापत्रलाई लागू गरिएको छ,
· विभागीय मन्त्रीदेखि महत्त्वपूर्ण जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्ने गरिएको छ,
· सार्वजनिक निकाय तथा पदाधिकारी, कर्मचारीको उत्तरदायित्व तथा जबाफदेहिता निर्वाहलाई प्रभावकारी बनाउन Public audit, public hearing, आदि गर्नुपर्ने व्यवस्था गरिएको छ,
· सहभागितामूलक योजना तथा विकासको अभ्यास गर्न थालिएको छ,
· सूचनाको हक सम्बन्धी कानुन निर्माण गरी नागरिकलाई सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक सुनिश्चित गरिएको । सोही ऐन अनुसार सार्वजनिक निकायले प्रवक्ता/सूचना अधिकारी तोक्ने व्यवस्था गरिएको,
· सामान्य प्रशासन मन्त्रालयले customer satisfaction survey गर्ने गरेको छ,
· जनताका गुनासो व्यवस्थापनको लागि उजुरी पेटिका राख्ने, गुनासो सुन्ने अधिकारी तोक्ने मात्र नभई हेलो सरकार कार्यक्रम समेत सञ्चालनमा ल्याइएका छन्,
· विभिन्न समयमा एकीकृत तथा घुम्ती सेवा प्रवाह कार्यक्रम सञ्चालन गरी जनताका आधारभूत सेवाहरू जनताको घर आँगनमा नै पुर्‍याउने गरिएको छ ।
· सार्वजनिक सेवा प्रवाह गर्ने विभिन्न सार्वजनिक निकायमा token system, digital display system लागू गरिएको ।
· web-site सञ्चालन गरी विभिन्न निकायले सम्भव हुने सेवाहरू online मार्फत समेत प्रवाह गरी E-governance स्थापना गर्ने दिशामा प्रयास गरिरहेका छन् ।

सार्वजनिक सेवा प्रभावकारितामा समस्याहरू :
नेपालमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउने क्रममा देखिएका मुख्य समस्याहरूलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ :

नीतिगत :
· सरकार, निजी क्षेत्र, गैर सरकारी संस्थाको भूमिका स्पष्ट रूपमा किटान नहुनु ।
· सार्वजनिक नीतिको निर्माणमा सरोकारवालाहरूको सहभागितालाई नहुनु ।
· गुणात्मक सेवाको सुनिश्चितता नहुनु ।
· उत्तरदायित्व निर्वाहको उपयुक्त संयन्त्र प्रभावकारी नहुनु ।
· सार्वजनिक सेवा प्रवाहमा नीतिगत स्पष्टता, पारदर्शिता र निरन्तरताको अभाव हुनु ।

संस्थागत/संरचनागत :
· केन्द्रीकृत सङ्गठन संरचना कायम रहनु ।
· सेवा प्रवाह गर्ने निकायहरू जनताको पायक पर्ने स्थानमा नहुन ।
· सेवा वितरण नक्सांकन (service delivery mapping) नहुनु ।
· आकस्मिक सेवा वितरण संयन्त्र (contingency service providing mechanism) नभएकोले प्रकोप लगायतका विभिन्न किसिमका सङ्कट आइपर्दा सही व्यवस्थापन गर्न नसकिनु ।

प्रक्रियागत/कार्यविधिगत :
· Process oriented प्रशासनको अवलम्बन गरिनु ।
· नतिजामुखी अनुगमन तथा मूल्याङ्कन पद्धतिको अवलम्बन नगरिनु ।
· गुनासो सुनुवाइको प्रभावकारी व्यवस्था नुहुनु ।
· सार्वजनिक सेवा बडापत्र हात्तीको देखाउने दाँत जस्तो मात्र हुनु ।
· नवप्रवर्तन (innovation) जनताको माग अनुसार अवलम्बन गर्न नसक्नु ।

व्यवहारगत :
· मूल्य, मान्यता, आचरण विकासमैत्री तथा सेवाग्राहीमैत्री नहुनु ।
· प्रोत्साहन प्रणालीको अवलम्बन नगरिनु ।
· गोप्यतावादी कार्यशैली र व्यवहार ।
· व्यावसायिक मूल्य, मान्यताको निर्माण हुन नसक्नु ।
· अनुसन्धान र विकास (reserch and development) मा जोडदिन नसकिएको ।

निष्कर्ष : नयाँ शासन प्रणालीमा रूपान्तरणसँगै नेपाली जनतामा सरकार र शासन प्रणालीप्रति अपेक्षाहरू तीव्र ढङ्गले बढ्दै गएका छन् । जनताका ती अपेक्षाहरूलाई सम्बोधन गर्ने साधन प्रभावकारी सार्वजनिक सेवा प्रवाह नै भएकोले माथि उल्लेख गरिएका तथा अन्य विभिन्न उपायहरू अवलम्बन गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तथा जनमैत्री बनाउन अति आवश्यक देखिएको छ । यसतर्फ सबैको समयमै ध्यान पुग्न जरुरी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस