भड्किएको पथिक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भड्किएको पथिक


१७ आश्विन २०७७, शनिबार


प्रस्थान विन्दु उही
गन्तव्य उही
हिँड्ने बाटाहरू फरक फरक
सविन यो बाटो रोज्यो
निर्मल त्यो बाटो हिँड्यो
भरत अझ अर्को बाटो ।

बाटो फरक फरक भए पनि
सँगै सँगै हिँड्दै गर्दा
एक अर्कामा
देखादेख चाहिँ चलिरह्यो ।

लगभग
दश, बाह्र वर्ष सम्म
रफ्तार एकनासकै थियो
तर,
त्यसपछि
रफ्तार उही हुँदा
लय उस्तै हुँदा पनि
निर्मल अगाडि पुग्यो
भरत पनि सँगै सँगै गयो
परन्तु ,
सविनको बाटोमा
अजङ्गको अवरोध तेर्सियो ।

निर्मल हिंड्ने बाटोमा
भरत हिँड्ने बाटोमा
जो अगाडि पुगेका
मुखिया थिए
उनीहरू
बाटो सफा गर्दै
पछि आउनेलाई
हौसला थपिरहे
मद्दत गरिरहे
तर,
सविनको बाटोको
अगुवा नाइके भने
बज्रस्वाँठ परेछ
निकम्मा, कुलद्रोही परेछ ।

सविन भन्दा अगाडि जाने
एक हुल पथिक
एकै चोटि जब माथि पुगे
नाइके तर्सियो
कतै उसकै ठाउँ पो कब्जा गर्छन् कि ?
त्यसैले
बाटोमा अवरोध तेर्सायो ।

बाटो साँघुरो
अगाडि अवरोध
त्यो पथिक बथान
निसास्सियो, छट्पटायो
एक आपसमा
धक्कामुक्कि पो चल्यो
वर्षौं चल्यो यसै गरी
नाइके ढुक्क बस्यो
रमिता हेरी ।

निर्मल हिँड्ने बाटोको
जो मुखिया थियो
गन्तव्य विन्दुको महामुखिया सँग
चोचोमोचो मिल्यो
खेलको नियम
उही बनाउँथ्यो
सविनको बाटोको अगुवा नाइके
ऊ सँग थुरथुर काँप्थ्यो
तथापि
आफ्नो बाटोका पछुवाहरूलाई
अवरोध हाल्थ्यो
र , आफूलाई सर्वेसर्वा ठान्थ्यो ।

सविन हेर्दै छ
निर्मल कहाँ पुग्यो ?
भरत कहाँ पुग्यो ?
आफू भने
त्यो अजङ्गको अवरोध
न पन्छाउने सामर्थ्य छ
न अगुवा नाइके
त्यो पन्छाउने सुरमा छ
अगाडि पुगेको त्यो बथान
खुदोमा लट्टे जस्तै
रुमलिएको छ
अकर्मण्यता र वेसुरले
विक्षिप्त छ ।

नाइके भने
आफ्नै दुनो सोझ्याउन ठिक्क छ
मुखिया र महामुखियासँग लुथ्रुक्क छ
सविनको भविष्य
त्यसमै अड्किएको छ
मन स्थिर छैन
त्यसै त्यसै भड्किएको छ
लामो यात्राको त्यो पथिक
न अघि बढ्न सक्छ
न पछि फर्कन सक्छ
बिचबाटोमै अड्किएको छ
र त निराश भई भड्किएको छ ।
निराश भई भड्किएको छ ।।

—अस्तु—

प्रतिक्रिया दिनुहोस