किवी गाउँका रुपमा चिनिन्छ खतिवडा बस्ती « प्रशासन
prasaLogo
१२ आश्विन २०७७, सोमबार

किवी गाउँका रुपमा चिनिन्छ खतिवडा बस्ती


प्रकाशित मिति : 28 September, 2020 3:01 pm

मङ्गलबारे । सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि छ । तर हाम्रो देशमा अहिले पनि ७० प्रतिशतभन्दा बढी नेपाली कृषि पेशामा नै रहेको भए पनि कृषकको सम्मान र यस पेशा प्रतिको आकर्षण भने घट्दो छ ।

जसका कारण बिहानदेखि बेलुकासम्म खेतबारीमा काममा खट्ने या दैनिक गाईवस्तुको स्याहार गर्ने मानिसको कमी हुँदै गएको छ । तर इलाम सन्दकपुर गाउँपालिकाका तारामणि खतिवडा भने यो मान्यताभन्दा पृथक छन् । उनी सरकारी जागिर छोडेरै व्यावसायिक कृषि पेशामा संलग्न भएको बताएका छन् । खतिवडाले सर्वोच्च अदालतको जागिर छोड्दा धेरैले बिग्रियो पनि भने । नायब सुब्बा पदमा कार्यरत उनले जागिर छोडेरै किवी फल खेतीमा लाग्ने सोच बनाए । विसं २०६४ देखि सो खेतीमा लागेका उनले जागिरबाट भन्दा धेरै आम्दानी गरेको बताउछन् ।

‘ऊ बेलाको नायब सुब्बा पद बढेर हाल माथिल्लो पद पुगिन्थ्यो होला, कमाई पनि मासिक रु ५० हजारको हाराहारीमै हुन्थ्यो होला, तर त्योभन्दा धेरै माथिको छ मेरो अहिलेको कमाई’, उनले भने । कृषक खतिवडा आफूमात्र नभएर सो पेशामा धेरैलाई संलग्न गराएका छ । शुरुमा किवी फल के हो ? यो कहाँ राम्रो फल्छ ? भन्नेसम्म जानकारी नपाएकाहरुले हाल व्यावसायिकतासँगै राम्रो आम्दानीको स्रोतसमेत बनेका छन् ।

काठमाडौँमा सरकारी जागिर छोडेर खतिवडाले ललितपुरमा नै कृषिमा काम गर्ने सोच बनाए तर पछि भने आफ्नै जन्मथलोमा फर्किएर कृषि कर्ममा लागेको उनले बताउछन् । हाल सोही पेशामा आफ्ना भाइ, भतिजहरुलाई पनि संलग्न गराएका छन् ।

सँगैका दाजुभाइ एवं गाउँलाई नै किवीमय बनाउने काममा उनकै हात रहेको सन्दकपुर तिनका ठाकुर खतिवडाको भनाइ छ ।

विसं २०७३ मा सर्वोच्च अदालतबाट कार्यालय समयभन्दा केही समयअगाडि निस्किएर पसलमा जाँदा नयाँ फल देखेपछि उनले रु २२५ मा तीन दाना किवी खरिद गरेको बताए । फल मीठो भएपछि अर्को दिन सोही ठाउँमा गएर किवी लिएर आए र यससम्बन्धी जानकारी खोज्न थाले । इन्टरनेट र विभिन्न माध्यमबाट किवीसम्बन्धी जानकारी खोजी लिएर जन्मथलो फर्किएका उनी गएको दश वर्षदेखि यही खेतीमै छन् ।

सन्दकपुर गाउँपालिका–३ तालगाउँमा करीब ५० घरपरिवार खतिवडाको बस्ती छ । साबिक सुलुबुङ्ग गाविस–५ मा तीन घरबाहेक सबै परिवार खतिवडाकै बस्ती छ । पहिले खतिवडा बस्ती भनिने यो तालगाउँलाई आजकल किवी बस्तीको नामले पनि चिन्न थालिएको छ ।

किवीलाई इलाममा तारामणि खतिवडाले नै भित्र्याएको भने होइन । तर किवीलाई एक ब्रान्डका रुपमा विकास गर्न उनको भूमिका महत्वपूर्ण छ ।

सो स्थानमा मात्र नभएर सन्दकपुर गाउँपालिकासँगै जिल्लाका सबै स्थानीय तहमा धेरैले व्यावसायिक खेती गरिरहेका छन् । पाँचथर, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, तेह्रथुम, धनकुटालगायत जिल्लामा समेत इलामबाट नै किवीका बिरुवा लगेर रोप्न शुरु गरिएको छ ।

किवीका बिरुवा, दाना र प्रशोधन गरिएका वस्तुहरुबाट राम्रो आम्दानी हुने गरेको किसान ठाकुर खतिवडाको भनाइ छ । उनले यस वर्ष बेच्न करीब १० लाखका बिरुवा ठिक्क पारेको बताए । किवी र त्यसबाट बनेका परिकार ‘धरानमा इलाम’ नामक एक कार्यक्रममा बिक्री गरेपछि हौसला प्रदान भएको ब बताए । विगत वर्ष धरानमा किवी र यसका परिकार बेच्न थालेपछि लकडाउनकै बीचमा पनि धेरै फोन आएको उनले बताए । यस वर्ष आफैँ जानु नपर्ने र फोन सम्पर्कबाट नै धेरै बिक्री गर्न सकिने लक्ष्य रहेको उनले बताए । उनले घरमै बसेर किवी बेच्न सकिने बताए ।

सोही ठाउँमा रुद्र खतिवडाले गएको वर्ष १० लाखभन्दा बढीको बिरुवामात्र बेचे। उनले यस वर्ष विगतभन्दा दोब्बर बिरुवा बेच्ने लक्ष्य राराखेका छन् । उनको समय किवीको स्याहारसुसारमा नै बित्ने गरेको छ । कोरिया जाने लक्ष्यका साथ कोरियाली भाषा पढे पनि अब कोरिया जति कमाई नेपालमा नै बसेर गर्न सकिने उनको भनाइ छ । उनी घरमै बसेर कमाउन सक्ने भएपछि किन विदेश जानुभन्छन् ।

किवीको बिरुवा प्रतिगोटा रु एक सयदेखि तीन सयसम्म पर्दछ । जातअनुसार बिरुवाको मूल्य फरक पर्ने किसानको भनाइ छ । किवी बहुवर्षे बिरुवामा पर्छ । एक पटक रोपेपछि २० वर्षभन्दा बढी आम्दानी लिन सकिने यससँग संलग्न किसानको भनाइ छ ।

किवी खेती बढ्दै गएपछि सरकारले सन्दकपुर गाउँपालिकामा किवी जोन नै घोषणा गरेर यस खेतीलाई विस्तार गर्ने काम गरिरहको छ । किवी जोनमार्फत किसानले अनुदानमा उपकरण र बिरुवा पाउने गरेका छन् ।

इलाममा उत्पादित किवीका बिरुवा नेपालभर नै बिक्री भइरहेको छ । नेपालमा प्रायः एलिसन, हेवार्ड, रेड (रातो) किवी मन्टी, सोयु ब्रुनोलगायत जातका किवी पाइन्छन् । जातको किव समेत पाइने गरेको छ ।

किवीबाट किसानले फल र बिरुवाबाट उत्तिकै आम्दानी लिने गरेका छन् । दुवैबाट उत्तिकै आम्दानी हुने भएपछि पनि किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् । लहरा प्रजातिको किवीको सामुद्रिक सतहदेखि एक हजार ४०० मिटरदेखि दुई हजार ५०० मिटर उचाइको भूगोलमा खेती गर्न सकिने बताइएको छ ।

किवीलाई नेपालमा महङ्गो फलका रुपमा लिइन्छ । शुरुमा प्रतिकिलो रु छ सयदेखि एक हजारसम्म किनबेच भएको किवी हाल सस्तो बन्दै गएको छ । हाल प्रतिकिलो रु डेढ सयदेखि तीन सय सम्ममा किनबेच भइरहेको छ ।

एउटै फलमा धेरै फलफूलको स्वाद पाइने र धेरै पौष्टिक तत्व पाउन सकिने भएकाले यो फलको महत्व बढेको किसान बताउँछन् । अण्डा आकारको यो फल लहरामा झुण्डिएर फल्दछ । एकथरी किवीमा बाहिर झुसजस्तो हुन्छ भने रातो किवीको बोक्रा भने चिल्लो हुन्छ । काट्दा भित्र हल्का हरियो भएको किवीलाई ‘ग्रिन’ अर्थात् हरियो किवी भनिन्छ । काट्दा भित्र रातो देखिने किवीलाई ‘रेड’ किवी भनिन्छ ।

रेड किवी दुई वर्षअघि देखि मात्र नेपालमा पाउन थालिएको हो । किवीमा गुलियो र अमिलो स्वादको मिश्रण पाइन्छ । पोषिलो र औषधीय गुण रहेको र रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले पनि यो फल नेपालमा लोकप्रिय बन्दै गएको किसान बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस