समयको समीकरणसहितको खुसी ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समयको समीकरणसहितको खुसी !


१० आश्विन २०७७, शनिबार


जब म पढ्न थाल्छु तब जुन पढाइ म पढ्दै छु, त्यो पढिसकेर अब्बल प्रतिभावान् कहलाइसकेका व्यक्तित्वहरूलाई सम्झेर पढ्छु, अनि उहाँहरूजस्तै बन्ने सोच बनाइ पढ्छु, जसले मेरो शरीरमा निकै ऊर्जा ल्याउँदछ। अनि जति बेला मलाइ आफू निकै कमजोर या तनाव भएको अवस्थाको छु भन्ने खालको महसुस गराउने कुनै वस्तुको अभाव या यस्तै महसुस हुन्छ, त्यति बेला म कामको संसारमा काम गर्छु भन्दा पनि काम नपाएर एक छाक टार्न नसकेका व्यक्तिहरूलाई सम्झन्छु र आफूलाई निकै ठुलो ठान्दछु अनि आफ्नो तनाव कम गर्दछु।

उसले भावुक मुद्रामा निन्याउरो मुहार लाएर भन्यो; ‘मसँग बसेर समय पनि एक दिन रोयो अनि समयले भन्दै थियो अरे उसलाई, तिमी ठिक छौ खराब त म नै चलिराछु।’ त्यो सुनेर उसमा निकै खुसीको फिलिङ्ग आयो अरे। प्रस्तुत छ : उसले देखाएको बुझाएको अनि मैले देखे-बुझेको समयको समीकरण सहितको खुसी अर्थात् उसको वृत्तचित्र शृङ्खला।

अञ्जान शहरको एक घर अनि त्यस घरको एउटा कोठा जहाँ एउटा कोठामा बस्ने व्यक्तिले अर्को कोठामा बस्ने व्यक्तिलाई चिन्ने प्रयाससम्म गर्दैनन्, चिन्दैनन्, अर्थात् कुनै वास्ता समेत गर्दैनन्। त्यो सुनसान कोठामा आफ्ना अनगिन्ती सपनाहरू लिएर आएको ऊ सुरुका दिनहरूमा त ती कोठाका भित्ताहरूसँग संवाद मात्रै गरी बसेको थियो अरे। कलेज नजिकै उसको बस्ने कोठा भएर होला कलेज बिदा भएका दिनहरूमा पनि त्यसै कलेजको वरपर देखिन्थ्यो ऊ। कलेजमा आफ्नै सुरमा हिँड्ने भएर होला ऊसँग हिँड्ने थोरै उसका मिल्ने साथीहरूको जमात छ, जुन सँगै कलेज जाने अनि सँगै फर्किने इत्यादि।

उसको घरबाट मासिकरूपमा उसलाई खर्च सीमितता कायम गरी पैसा आउँथ्यो। ऊ हरेक शीर्षकमा त्यो रकम मिलाएर खर्च गर्थ्यो। कुनै दिन कलेजका साथीहरूसँग खाजा खाँदा खाजामा थोरै परिवर्तन गर्दा घरबाट पठाएको हिसाबसँग पैसाको हिसाब अलिअलि बिग्रिन थालेछ। पैसा कम पर्न गई दालसँग मात्रै भात खाइरहँदा नमिठो अनुभव त जो कोहीलाई पनि हुने नै भो।उसलाई पनि हुनु स्वाभाविकै थियो। उसले पनि त्यस्तै फिलिङ्ग गरेछ। घरबाट ऊ शहर पस्दा रेडियोसम्म सुन्न मिल्ने किसिमको कहिलेकाहीँ घरपरिवारसँग कुरा गर्न मिल्ला भनी उसको घरपरिवारले किनिदिएको मोबाइल फोनमा त्यो दालसँग मात्रै भात खाइरहँदाको समयमा खल्तीमा मोबाइलको घण्टी बज्दा उसले हेर्दै नहेरी आमाको फोन होला भनी थाहा पाउनु निकै सोचनीय विषय हो। यो सुन्दा हर कसैको मनमा चसक्कवाला फिलिङ्ग आउँदछ।

एक दिन म आफ्नो साथीहरूसँग एउटा चिया पसलमा चिया पिउँदै गर्दा पछाडि कतैबाट कोही आएजस्तो आवाज आयो फर्केर हेर्दा त ऊ नै रहेछ। उसले साहुजीतर्फ इसारा गर्दै भन्यो, ‘साहुजी म पनि आए नि।’ यत्ति भनेर एक सानो पिर्का लिई एकातिर बस्यो ऊ। साहुजीलाई म आए मात्र भन्दा पनि साहुजीले एक कप दूधको चिया ल्यायो र दियो उसलाई। तर यहाँनेर सोचनीय विषय के थियो त भन्दा हामी आउँदा त त्यो पसलको साहुजीलाई यस्तो चिया, उस्तो चिया, अलि छिटो, चिनी कम तथानाम भन्दा पनि कति समय लगाएर मात्र पाइन्छ, त्यो पनि पसलेको स्वादमा बनेको चिया। तर, उसलाई त म आए मात्र भन्दा चिया प्राप्त भएको देखे मैले र अड्कल गरे कि ऊ त्यहाँ चिया पिउन मात्र पस्छ होला। चिया हातमा दिँदै गर्दा त्यो साहुजीले जिस्केको पारामा सोध्यो उसलाई भन्यो, ‘सरको टिसर्ट त नयाँ हो कि क्या हो ?’ उ हाँस्यो अनि एक चुस्कि चियाको लिँदै सजिलो जवाफ दियो, ‘साहुजी यसको तारिफ किनेदेखि आजसम्म केवल एक जना मित्रले मात्रै गरेको छ, आज तपाईँ दोस्रो हुनु भो’ उसले त्यसमै थप्यो, अब त यो पुरानो भइसक्यो। यत्तिकैमा साहुजीले अर्को प्रश्न तेर्स्यायो उसलाई भन्यो, ‘आज यो कति औँ कप चिया हो सर ?’ उसले फेरी मुसुक्क हाँस्दै जवाफ दियो भन्यो, ‘कप नं. 3 हो साहुजी। आजकल अलि कम पिउँछु नि म चिया। अब आजलाई पुग्यो।’ यस्तै गफमा साहुजी पनि ऊसँगै गफमै व्यस्त। यस्तैमा साहुजीसँगको कुनै प्रसँगमा उसले भनेको कुरा सम्झे; ‘चिया मेरो एक मुख्य कमजोरी हो चियाले म कहिल्यै पनि अघाइन’।

यस्तै नियमित चिया पसलको भेटले गर्दा म पनि उसको साथी बनेछु, सायद समयको समीकरणले गर्दा होला। ऊसँग निकै गफ हुन्थ्यो बेलाबेलामा। उसले आफ्नो अनुभव, कहिलेकाहीँ उखान टुक्का यस्तै सुनाउँथ्यो। एक दिन पढाइको प्रसङ्ग आयो र हामी कुरा गर्दै गर्दा उसले निकै ऊर्जावान् कुरा गर्थ्यो र अन्तिममा भन्थ्यो, ‘पढौँ है पढौँ बेलैमा’उसको यो कुरा सुन्दा घर गएर निकै पढौँ जस्तो लाग्थ्यो, गएर पढिन्थ्यो पनि एक दुई दिन।

ऊसँग एक दुई दिनको फरकमा यस्तै समयको समीकरण मिल्यो भने त्यसै चिया पसलमा भेट हुन्थ्यो। मैले कुनै दिन आफूलाई तनाव भएको कुरा गर्दा उसले आफ्नो तनावको एक अंश निकै साहित्यिक अनि भावुक मुद्रामा निन्याउरो मुहार लाएर भन्यो; ‘मसँग बसेर समय पनि एक दिन रोयो अनि समयले भन्दै थियो अरे उसलाई, तिमी ठिक छौ खराब त म नै चलिराछु‘ उसले भनेको यो कुरा त्यति बेला नबुझेको भएतापनि बुझेको जस्तै गरी हिँडे म। उसको पनि कुनै बेला समय खराब चलेको रहेछ, तर पनि उ कति खुसी। उसमा देखिएको खुसीले होला सायद समयले पनि उसलाई आफू खराब छु भन्न सकेको। म माथिको उसको त्यो हरफ आजका दिनमा आएर बल्ल बुझ्दै छु।

नियमित चिया गफमै अर्को एक दिन यस्तै म अलि उदास पारामा कसिरहेको अवस्थामा उसले ‘के भको छ हौ ?’ भन्दा मैले भनेको थिएँ; ‘जिन्दगीमा केही गर्न सकिएन सर ?’ जसको जवाफमा उसले भनेको कुरा म आजका दिनसम्म सम्झन्छु। उसले भनेको थियो, ‘मेरो कुरा सुन्नु एक छिन,जब म पढ्न थाल्छु तब जुन पढाइ म पढ्दै छु, त्यो पढिसकेर अब्बल प्रतिभावान् कहलाइसकेका व्यक्तित्वहरूलाई सम्झेर पढ्छु, अनि उहाँहरूजस्तै बन्ने सोच बनाइ पढ्छु, जसले मेरो शरीरमा निकै ऊर्जा ल्याउँदछ। अनि जति बेला मलाइ आफू निकै कमजोर या तनाव भएको अवस्थाको छु भन्ने खालको महसुस गराउने कुनै वस्तुको अभाव या यस्तै महसुस हुन्छ, त्यति बेला म कामको संसारमा काम गर्छु भन्दा पनि काम नपाएर एक छाक टार्न नसकेका व्यक्तिहरूलाई सम्झन्छु र आफूलाई निकै ठुलो ठान्दछु अनि आफ्नो तनाव कम गर्दछु।उसले भनेको यो कुरा साँच्चिकै निकै महँगो लाग्यो मलाई। जसले हालका दिनसम्म पनि निकै ऊर्जावान् बनाएको छ मलाई।

उसले हाम्रो चिया गफमै स-साना कुराहरूबाट खुसी अनुभव गराउन सिकायो। वास्तवमा कुनै पनि व्यक्तिलाई खुसीको खोजीले धेरै समयको लागि प्रयासरत बनाउँदो रहेछ। एक समय जति बेला हामीले उक्त निश्चित लक्ष्य प्राप्त गर्छौँ, जसले हामीलाई निकै ठुलो खुसीको महसुस गराउँदछ । लगत्तै हामीले अर्को खुसीलाई पछ्याइरहेका हुन्छौँ। उसले यो पनि सिकायो कि, हामी हाम्रो जीवनका अद्भुत पक्षहरू जुन आफूलाई चाहेको कुराको प्राप्तिमा अर्थात् (धन, प्रसिद्धि, स्थिति, शक्ति) हामीलाई निकै आनन्द प्रतिबिम्बित हुन्छन् । अनि चाहेको कुरा प्राप्त हुन नसक्दा हाम्रो नियन्त्रण गुम्न जान्छ अर्थात् हामीलाई राम्रा आनन्दहरूबाट निकै टाढा राख्दछ। यसो भइरहँदा हामीले हाम्रो खुसीलाई केही घटनाहरूको परिणाममा निर्भर नगरी स-साना कुराहरूमा खुसी हुन सक्नुपर्ने हुन्छ। किनकि स-साना चिजहरूको लागि कृतज्ञ हुनु भनेको बाह्य परिस्थितिको नतिजामा कम निर्भर हुनु हो। यो एक अनौठो सिप पनि हो। उसले सिकाएको यो कुरा पनि मेरो जीवनमा निकै प्रेरणादायी बनेको छ आजका दिनसम्म।

ऊसँग भेट हुँदै गर्दाका अनुभवहरू अनि चियाको चुस्कीसँगै उसले समयको समीकरणसँग खुसी हुने उखाने शैलीमा भनेका केही कुरा, मेरो मनमा झल्झल्ती झल्को दिन्छन् । म हाँस्छु अहिले पनि। उसले खुसी हुने केही साना साना कुराहरू सुनाएको थियो । उखान भने जस्तै गरी; बिहानको समयमा बेड टी (बेडमै बसी चिया पिउँदाको मज्जा) यसले उसलाई फुर्तिलो पारामा उठ्न मदत गर्छ रे ! सूर्योदय देख्दैको खुसी; यस खुसीले उसलाई दिनको सुरुवात गरी दिनचर्या बिताउन ऊर्जा प्राप्त गर्दछ रे !झ्यालमा बसेर मन पर्ने सङ्गीत सुन्दै चिया पिउँदै गरेको अवस्थाले उसको जीवनमा रङ्गमञ्च नै पैदा गर्छ रे ! भान्सामा उसलाई मन पर्ने स्वादिष्ट भोजनको गन्ध जब उसले प्राप्त गर्दछ, त्यति बेला उसलाई भोजनप्रतिको मोह बढाई भोजन पूर्णताको अनुभूति हुन्छ रे ! उसको दाँत देखिने हार्दिक हाँसो जसले उसले कुनै कुराको उत्तर नदिँदा प्रयोग गर्दछ । जसले सबैलाई हाँस्ने बनाउँछ रे ! आफ्नै हातले उनेको माला, आफ्नै हातले घोटेको चन्दन, आफ्नै हातले लेखेको पुस्तकले इन्द्रको पनि ऐश्वर्य हरण गर्दछन् भन्ने सुनेको थिए । उसले पनि यी कुराहरूबाट अपार खुसी मिल्दछ रे ! भन्ने सिकायो। कुनै भिडभाड हुने ठाउँमा जाँदा प्रवेशद्वारको छेउमा पार्किङ स्थल फेला पर्दाको खुसी, आफ्नो मन पर्ने पेय पदार्थको पहिलो घूँट्को स्वाद, अझ झन् हास्यास्पद कुरा त के भन्दा आफ्नै मोबाइलको टर्च बालेर त्यहीँ आफ्नै मोबाइललाई निकै बेर खोजी गर्दा पनि नभेटेपछि मोबाइलको टर्च बन्द गर्दा आखिर मोबाइल त हातैमा रहेको क्षणको हास्यास्पद खुसी ।

यस्तै, आफ्नो जीवनका पचास वर्ष कटिसकेका व्यक्तिहरूको कपाल फुलेको, दाँतहरू कमजोर हुँदै गएको अवस्थाले उनीहरूलाई बुढेसकालको बोध महसुस गराइ सोहीअनुसार चल्न सिकाउनु समयको समीकरण नै हो रे ! यी विभिन्न आनन्दको साँचो स्रोत अर्थात् जीवनमा सबै शानदार सुन्दर साना चीजहरू पत्ता लगाउनको लागि थोरै प्रेरणाका सङ्ग्रहहरू हेर्दा निकै आनन्द दिँदा रहेछन् जो कोहीलाई। मलाई पनि यी र यस्तै उसका कुराहरूले निकै बेर घच्घच्याउछ । अनि सम्झिन्छु यी सब कुरा जसले मेरो सपना जुन तासको पत्ताजस्तै बिग्रिएको थियो र अनि जति बेला म तनावमा हुन्छु त्यति बेला यी कुराहरूले केही हदसम्म भए पनि तनाव कम गराउँदछ।उसका यी साना साना कुराहरू मेरा लागि निकै मूल्यवान् लाग्दछन्। यी कुराहरूले मलाई एक भावनात्मक प्रसङ्ग प्रदान गर्दछ।मेरा अक्सर अप्ठ्यारोपनालाई दर्साउँछ र समाधानको बाटोतिर धकेल्दछ अर्थात्, एक जित्ने सूत्र सुझाव अनि धेरै आनन्द र जोस प्रदान गर्दछ।

एक उत्सुक पाठक जसले राम्रो एक कप कफी पिउनु र आफ्नो मन पर्ने पुस्तकमा निकै बेर घोरिनु भन्दा बढी केही माया गर्दैनन् भनेजस्तै ऊसँगको मेरो चिया गफले मलाई एक अन्योलको बाटोबाट सरल सुखहरूको लागि व्यवस्थित हुने मौका/विकल्प पैदा गरायो। जुन मेरा लागि एक रमाइलो अनि नियमित दिनचर्याको स्थायी एवं निकै गह्रौँ पक्ष बनेर आए।

माथि प्रस्तुत गरिएका अंशहरूले तपाईँ हामीहरूलाई तनाव भन्दा खुसी छनौट गर्न सिकाएको छ। यी अंशहरूले साँच्चै नै जो कोहीलाई समय समिकरणसँगैको मज्जा लिनको लागि अनि पूरा दिन उज्यालो बनाउन प्रेरणा प्रदान गर्न सक्दछन्। यसबाट प्रस्ट हुन्छ कि, यदि समयको सही समीकरण गर्न सकेमा तपाईँ हामी सबैभन्दा साना र साना चीजहरूबाट पनि निकै खुसी सिर्जना गर्न सक्दा रहेछौँ। तर, यदि तपाईँ जहिले जीवनका ठुला चीजहरूको खोजी गर्दै हुनुहुन्छ भने, तपाईँ कहिले पनि आफ्नो जीवको साधारण सुखहरूको पूर्ण रूपमा कदर गर्न सक्षम हुनुहुने छैन।

अन्तमा, उसको यो समयको समीकरण सहितको खुसी एक खुसी मात्र नभई एक ऊर्जा समेत हो। जुन ऊर्जा जो कोहीलाई एक शीर्ष गुणवत्ता कला अनुभवहरूको हूल भएको सङ्गठन संस्थाको निकै टाढा पुग्ने ठाउँमा पुर्‍याउन सहयोग पुर्‍याउने ऊर्जा हो।जुन एक सुपर खुसीको मुबारक कहानीजस्तै मेरो मुटुमा एक पुरस्कार विजेताको रूपमा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस