नेपालको कर्मचारीतन्त्रिय प्रवृत्ति र भावी नेतृत्व « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालको कर्मचारीतन्त्रिय प्रवृत्ति र भावी नेतृत्व


८ आश्विन २०७७, बिहिबार


नोवल पुरस्कार विजेता प्रसिद्ध अमेरिकन लेखक Frank Herbert ले आफ्नो पुस्तक Heretics of Dune मा लेखेका छन् – “कर्मचारीतन्त्र अर्थात् ब्यूरोक्रेसीले सिर्जनाहरू नष्ट गर्दछ। खास गरी पुरानो दिनचर्यामा रमाउन मन पराउने यथास्थितिवादी कर्मचारीतन्त्रले राम्रो परिणाम ल्याउन सक्ने नवप्रवर्तनलाई खासै जोड दिँदैन कारण त्यहाँ उसले आफ्नो सुविधाहरू खोसिन सक्ने सम्भावना देखेको हुन्छ। सुधारहरूका पक्षमा कर्मचारीतन्त्र सधैँ अयोग्य नै रहन्छ । खासगरी कर्मचारीतन्त्रले सारा प्रणालीलाई Defunct तथा Paralyzed बनाइरहेको हुन्छ ”

विश्वका हरेक देशमा कर्मचारीतन्त्रका बारेमा विभिन्न खाले दृष्टिकोणहरू रहँदै आएका छन् । कर्मचारीको आलोचना हुँदै आएको छ । विकसित देश अमेरिका, बेलायत लगायत देशमा समेत कर्मचारीतन्त्रले काम गर्न नसकेका गुनासाहरू समय समयमा बारम्बार बाहिर आउने गरेका छन् । हामीले कर्मचारीतन्त्रको इतिहास हेर्‍यौ भने विभिन्न विद्वानहरूले कर्मचारीतन्त्रका बारेमा आलोचनाहरू गरेको पाइन्छ । अमेरिकन प्रसिद्ध ब्यवस्थापनविद Gary Hamel का शब्दमा “कर्मचारीतन्त्र एक यस्तो रोग हो, यसलाई कुनै पनि थेरापीले उपचार गर्न सक्तैन । यो हरेक सक्रियताको विपरीतार्थ प्रतिरक्षात्मक प्रणाली हो, जो तल देखि माथिसम्म सक्रिय रहन्छ। यसको सङ्गठनात्मक संरचना र प्रक्रियाहरू स्वाभाविक रूपमा विषाक्त हुन्छन् । यो भावनात्मक रूपमा मूर्ख र बेग्लाबेग्लै विभाजन भएको हुन्छ । यो यथार्थतामा भन्दा उपाय विनाको कल्पना र भावनामा सधैँ डुबिरहेको हुन्छ।” त्यस्तै कर्मचारीतन्त्रको बारेमा Mosca ले “The Rulling Class (1895)” मा भनेका छन् – “सरकार जहिले पनि जनताबाट निर्वाचित जनप्रतिनिधिले चलाउँछन् । जनप्रतिनिधिहरू जहिले पनि जनता भन्दा उच्च वर्गका बाठा टाठा हुन्छन् । कर्मचारीतन्त्र राज्यको कानुनद्वारा बाँधिएका र निश्चित तलबमा काम गरिरहेका हुन्छन् । जनप्रतिनिधिहरुले नै सरकार सञ्चालन गर्ने हुँदा कर्मचारीहरू उनले निर्माण गरेका कानुनद्वारा तलब खाने हुँदा जनताप्रति उत्तरदायी नभर्इ उनीहरूप्रति नै उत्तरदायी हुन्छन् र उनीहरूकै लागि काम गर्ने गर्दछन्।” यी मात्र होइन, कर्मचारीतन्त्र माथि पछिल्लो अवस्थामा धेरै कोणबाट आलोचनाहरू हुने गरेका छन् ।

प्रत्येक वर्ष दुवर्इमा रहेको निजी अनुसन्धान संस्था Legatum Institute ले विश्वका ११० देशको कर्मचारीतन्त्रको बारेमा तथ्याङ्क सहित तुलना विश्लेषण गर्ने गर्दछ । सन् २०२० को मार्चमा Legatum Institute ले विश्वमा विभिन्न देशमा भएका भ्रष्टाचारको तह, प्रतिस्पर्धाको तह, नागरिक कर्मचारीतन्त्र सम्बन्ध, नागरिकको आवधिक निर्वाचन र न्यायप्रणालीप्रतिको विश्वास आदी सूचक राखेर तयार गरेको प्रतिवेदन “The Top 10 Best Governed Countries In the World” प्रकाशित गर्‍यो । यस प्रतिवेदन अनुसार पहिलो स्थानमा स्वीजरल्याण्डको कर्मचारीतन्त्र, डेनमार्क दोस्रो, अमेरिका तेस्रो, न्यूजिल्याण्ड चौथो, क्यानडा पाचौं, स्विडेन छैटौँ, फिनल्यान्ड सातौँ, अस्ट्रेलिया आठौँ, बेलायत नवौँ र नेदरल्याण्डको कर्मचारीतन्त्र दसौँ स्थानमा रहेका छन् । यसका अलावा प्रतिवेदनका लागि सर्वेक्षणका सूचकहरू निर्माण गर्दा आम नागरिकले आफ्ना समस्याहरू सरकारी निकाय समक्ष कति गुनासो गर्ने गरेका छन्, कति गुनासोहरू सम्बोधन हुने गरेको छ, कर्मचारीतन्त्र कतिको स्थायित्व छ अर्थात् सरुवा बढुवामा कस्तो प्रणाली अवलम्बन गरिएको छ, सरकारी निकायले आदेश गरेका कानुनहरू नागरिकले कति पालना गर्ने गरेका छन्, सरकारी कर्मचारीतन्त्रले ल्याएका योजनामा आम नागरिकको सपोर्ट कति हुने गरेको छ, कर्मचारीहरू नागरिकका काम प्रति कति जिम्मेवार र उत्तरदायी हुने गरेका छन् जस्ता विषय पनि हेरिएको थियो ।

राजनीति र प्रशासनबिचको अन्तरसम्वन्धको पुरकतालाई प्रसिद्ध अमेरिकन प्रोफेसर, प्रशासनविद् James H Svara द्वारा लिखित पुस्तक Complementarity of Politics and Administration in the Past and Future of Public Administration – 2002 मा राजनीतिक प्रणाली र प्रशासनयन्त्रको सवालमा दुई सूचकहरू Administrators: Level of Independence र Elected officials: Degree of Control लाई लिएर व्याख्या गरेका छन्। जनप्रतिनिधिद्वारा उच्च प्रशासनिक नियन्त्रण र प्रशासनिक स्वतन्त्रता कम भयो भने राजनीतिक प्रभाव हाबी हुन्छ र गतिरोध उत्पन्न हुँदा पनि कार्य परिणाम निस्कँदैन अर्थात् कर्मचारीतन्त्रले काम गर्न सक्तैन। त्यस्तै राजनीतिक न्यून नियन्त्रण र प्रशासनिक स्वतन्त्रता बढी हाबी भयो भने पनि कर्मचारीतन्त्रको आफ्नो राज चल्न थाल्छ । यसर्थ, आदर्श शासन सञ्चालनको अवस्थामा राजनीति र प्रशासनबिच पूरकता (Complementarity) सम्बन्ध कायम हुनुपर्छ र जुनमा प्रशासनको स्वतन्त्रता र राजनीति अर्थात् जनप्रतिनिधिको नियन्त्रणको हद दुवै समानान्तर हुन्छ । यसरी पूरकता (Complementarity) सम्बन्ध कायम भएमा राजनीतिज्ञ अर्थात् जनप्रतिनिधि र कर्मचारी अर्थात् प्रशासनयन्त्रबिच पारस्परिक प्रभाव र आपसी सम्मान बढ्छ ।

नेपालको राजनीतिक प्रणाली र कर्मचारीतन्त्रिय प्रणालीका विविध पक्षमा आम जनस्तरमा सधैँ आलोचना बहसको विषयवस्तु बन्ने गरेको छ । पछिल्लो अवस्थामा पनि एवम् प्रकारका विभिन्न जनबहस तथा आलोचना (Critics) समय समयमा आई रहेका छन् । राजनीतिक प्रणालीले त कर्मचारीतन्त्रलाई सधैँ आरोप लगाउने गरेको छ र लगाई रहन्छ पनि । कर्मचारीले पनि राजनीतिक प्रणालीलाई कारकका रूपमा दोषी देख्नु आफ्नो ठाउँमा सही नै हुन सक्छ । नेपालका राजनीतिज्ञ वा कर्मचारी कस्तो प्रवृत्तिका, कस्तो काम गर्छन्, को प्रति उत्तरदायी छन् भन्ने विषय त आम रूपमा जगजाहेर नै छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माका शब्द सापटी लिँदा नेपालको शासकीय प्रणाली (Governance System) राजा र माग्नेको कथा जस्तो छ । कम शासकीय सूचकाङ्क रहेका देशहरूमा शासन सञ्चालन गर्ने राजनीतिक एवम् कर्मचारीतन्त्रमय प्रणाली र जनताबिचको सम्बन्ध कस्तो रहन्छ भन्ने कुरा यो नीति कथाबाट पनि धेरै बुझ्न सकिन्छ ।

एक दिन कुनै देशको राजा कौसीमा बसिरहेका थिए, अचानक मुड खराब भयो, त्यो मुड दिनभर खराब भयो ।
त्यो देखेर चाकडीदारहरूले भने;-“सरकारले बिहान के देखिवक्स्याथ्यो ? ”
राजा- “मैले बिहान सबेरै उठ्दा पहिलो भेटको रूपमा माग्ने देखेको थिए।”
चाकडीदारहरू- “सरकार यसको जड त्यै माग्ने हो, त्यसलाई मृत्युदण्ड दिनुपर्‍यो।“
चाकडीदारहरूले माग्नेलाई समातेर ल्याए । माग्नेलाई अधिकारप्राप्त राजाबाट मृत्युदण्डको घोषणा भयो । उनलाई मृत्युदण्ड दिनु पूर्व अन्तिम इच्छा सोधियो । यतिकैमा माग्नेले राजासँग भेट्न पाउँ भने । राजासँगको भेटमा माग्नेले भने;
माग्ने- “सरकार मेरो के गल्ती थ्यो र मलाई मृत्युदण्डको सजाय सुनाइयो ?”
राजा- “तिमीले मलाई बिहान पहिलो अनुहार देखायौँ र आज दिनभर मेरो मुड अफ भो, काम सबै बिग्रे ।”
माग्ने- “सरकार म एउटा बिन्ती गरूँ, मैले पनि सरकारलाई पहिलो चोटि बिहान देख्या हो, मलाई देख्ने हरेक मानिसहरूमा काम गर्नुपर्छ भन्ने इच्छाशक्ति जागेको देखेको छु, धेरैको काम सफल भएको देखेको छु । मेरो त मृत्युदण्डको घोषणा भयो, को अपसकुनी रहिछ सरकार, न्याय पुनरावलोकन गरिपाँउ !”
त्यसपछि राजा केही बोलेनन् । यस नीति कथा वाट राज्यको परम्परागत शासकीय प्रणाली (Governance System) संलग्न सबै अधिकारीको मुड अनुसार कसरी सञ्चालन हुँदो रैछ भन्ने कुरालाई व्यङ्ग्यात्मक तवरबाट प्रस्तुत गरिएको छ ।

विश्वका सबै देशको कर्मचारीतन्त्र वा प्रशासनयन्त्रको मूल निर्धारक तत्त्व अर्थात् मूल कारक (Root cause) हाम्रो आफ्नै सामाजिक र सांस्कृतिक मूल्य र मान्यताहरू (Socio-cultural value and Norms) नै हुन । राजनीतिक प्रणाली तथा कर्मचारीतन्त्रिय प्रणाली कस्तो छ भन्ने कुरा त घामजस्तै छर्लङ्गै छ । एउटा घरमा छोराछोरी बिग्रनुमा आफन्त वा छिमेकी दोषी हुँदैनन्, त्यसका अभिभावक मुख्य दोषी र छाडा छोडिएका छोराछोरीहरू नै हुन्छन् र सोही घरले नै मुख्य जिम्मेवारी लिनुपर्ने हुन्छ । आम जनताको नजरमा नेपालको कर्मचारीतन्त्र भ्रष्ट (Corrupt) छ, प्रक्रियामुखी (Process Oriented) छ, जनताप्रति उत्तरदायी (Accountable) छैन, जिम्मेवारी (Responsibility) लिँदैन, राजनीतिज्ञसँग साँठगाँठ गरेर अनैतिक (Unethical) कार्य गर्दछ आदी । यसको मुख्य जिम्मेवार को हो त ? के यस आरोप पछाडिका कारकमा मुख्य जिम्मेवारी राजनीतिक प्रणालीलाई दिन सकिन्छ ?

अहँ हुन सक्तैन । कर्मचारीतन्त्र सुधार नहुनुमा राजनीतिक प्रणाली मूल कारक तत्त्वका रूपमा रहने विषय नै होइन, पहिलो जिम्मेवारी कर्मचारीतन्त्रले स्वयं नै लिनुपर्छ । राजनीतिक प्रणालीको वरिपरि समग्रतामा कर्मचारीतन्त्रिय प्रणाली घुम्नुपर्थ्यो तर, कर्मचारी नै व्यक्तिगत रूपमा राजनीतिक प्रणाली भित्र घुम्ने मात्र होइन धुस्नेसम्मका कार्यहरू भए र भई रहेका छन् , यो नै मुख्य नियति हो । यति मात्र होइन राजनीतिक प्रणालीका हरेक अनैतिक (Unethical) कार्यसम्पादनका लागि समेत कानुन कार्यान्वयनको संवाहक कर्मचारीतन्त्रले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सघाउने गरेको पनि आलोचना नभएको पनि होइन ।

कर्मचारीतन्त्र स्वभावैले दिएका कामप्रति गहिरो चासोका साथ समयमै पुरा गर्ने विशेषता बोकेको हुन्छ । माथिको आदेश अनुसार नैतिक वा अनैतिक कार्यसम्पादन गर्ने समेत कर्मचारीको विशेषताभित्र पर्ने हुँदा यो कठोर (Rigid) लालफित्ताशाही (Red Tapes’) प्रकृतिको हुन्छ । स्वभावैले कर्मचारीतन्त्र आत्म अनुशासन र चेन अफ कमान्डमा रहेको हुन्छ, कारण यी कुराहरू नहुँदा संगठनलाई निश्चित नीति वा विधिमा राख्न सकिँदैन । यद्वपी हाकिमका अगाडी अनुशासनका नाममा ठ्याक्कै ९० डिग्री झुक्नुपर्ने कर्मचारीतन्त्र अझै पनि लोकतान्त्रिक अभ्यासमा रूपान्तरण भएको पाइँदैन । पछिल्लो अवस्थामा लोकतन्त्रका वाहकको रूपमा काम गर्ने कर्मचारीतन्त्रमा सङ्गठनको अनुशासन भित्र रहेर आलोचनात्मक चेत (Critical Thinking) हुनुपर्छ भन्ने मान्यताको विकास भएको छ । सङ्गठनमा हुने हरेक प्रवृत्तिलाई सुधारको आशाको रूपमा छलफल, अन्तर्क्रिया सधैँ हुनुपर्छ र गलत प्रवृत्तिलाई छलफलको रूपमा उठान गर्नुपर्छ भन्ने मान्यता रही आएको छ । यसलाई सबैले अवलम्बन गर्न आवश्यक छ भन्दा यहाँ अनुपयुक्त नहोला ।

नेपालको कर्मचारीतन्त्र मध्ययमवर्गिय सामाजिक चरित्र- “Prismatic Form” बाट आएको छ । कर्मचारीतन्त्रका हरेक माथिल्लो वा तल्लो तहका कर्मचारीहरूको सेवा प्रवेश पछिको Major but Non-core उद्देश्य अर्थात् सपना हुने गर्दछ- “सहरमा एउटै भए पनि सुविधा सम्पन्न महँगो घर अनि सवारी साधन खरिद गर्ने, समाजमा उच्च वर्गको आलिसान जिन्दगी देखाउने, अरूको नजरमा आफूलाई सधैँ Power Elite देखाउने, पेन्सनपछि संवैधानिक निकायमा जागिर खानुपर्ने, बिदशी गैरसरकारी संस्थामा बढी तलबमा जागिर खाने, राजदूत बन्ने आदी । यसैको सेरोफेरोमा स्वार्थ प्राप्तिका लागि राजनीतिक प्रणालीको वरिपरि घुम्ने र सधैँ आत्मसमर्पण, आत्मवलिदान गर्नुको विकल्प बाहेक अन्य उपाय कहिले पनि देखेन नेपालको कर्मचारीतन्त्रले ।

उच्च, मध्यम कार्यकारी तहका नेतृत्वलाई सङ्गठन र व्यवस्थापनका विविध आयामहरूमा समग्र कर्मचारीका कामको अवस्था, उत्प्रेरणा, सीप विकासप्रति चिन्ता चासो कहिल्यै जान सकेन, अझ भनौँ भने मानव स्रोत व्यवस्थापनप्रति अरुचि देखायो । ओठे सुधारका गायत्री मन्त्रका जपहरू धेरै भए तर सुधारको झिनो प्रयाससम्म पनि हुन सकेको देखिएन । सङ्गठनमा असल नेतृत्वको साटो बोस बन्ने प्रवृत्ति “Bossism culture” हुर्कँदै गयो । राज्यको Elite Class को सहयोगीको रूपमा हुर्कँदै आएको कर्मचारीतन्त्रको मुख्य धर्म नै राजनीतिक पार्टीको इच्छा, चाहना, घर परिवार र आफन्तहरूको इच्छा चाहना पुरा गर्नमै दिन बित्यो । एउटै सिक्काका दुई पाटा भने पनि राजनीतिक प्रणालीमा कर्मचारीतन्त्र यसरी च्यापिएको छ कि सर्पको मुखमा मुसाको शरीर भित्र र टाउको मात्र बाहिर देखिएको छ ।

पार्टी राजनीति गर्ने राजनीतिज्ञ वा दैनिक प्रशासन र विकास व्यवस्थापनका वाहक कर्मचारी, दुवै यही समाजका ऐना हौ, उपज हौँ र यै सामाजिक चरित्र भन्दा फरक हुन पनि सक्तैन । हाम्रो सामाजिक चरित्रले नै राजनीति वा कर्मचारीतन्त्रको दिशानिर्देश गरिरहेको हुन्छ । राजनीतिक प्रणाली होस वा आम जनताबाट मुखरित हुने हामी विरुद्धका आवाजहरू यसैका कारण बारम्बार सञ्जालीकृत हुने गर्दछन् । सुध्रिन र सुधार गर्न त्यति सहज त छैन, यद्वपी अरू विकल्प पनि त छैन । यी पछाडिका कारण हाम्रा व्यक्तिगत प्रवृत्तिहरू मुख्य रूपमा जिम्मेवार छन् । नेपालको कर्मचारीतन्त्रलाई बारम्बार प्रहार भई रहेका विषयलाई मध्यनजर राख्दै गर्दा हामीले प्रशासनयन्त्रमा लागेका आरोपहरू चिर्दै असल र नैतिकतायुक्त प्रणालीको रूपमा विकास गर्नुको विकल्प छैन । कम्तीमा हामी सार्वजनिक सवारी साधनमा निजामतीको पोसाक सहित यात्रा गर्दै गर्दा हरेक नागरिक मात्र होइन हामी स्वयंमा पनि आत्मसम्मानको अनुभूति पैदा होस ।

उपरान्त, यी र यस्तै दोषारोपणलाई माथिल्लो स्तरबाट नै चिर्न र असल, नैतिकवान् र उत्तरदायी कर्मचारीतन्त्रको रूपान्तरणका लागि काँधमा सुधारको तीर बोक्न तयार हुने, इतिहासमा नाम लेखाउन इच्छुक कर्तव्यपरायण उच्च प्रशासनिक नेतृत्व मुख्य सचिव, हामी सबैको आशा र अपेक्षा हो र सधैँ रहिरहन्छ । अब भविष्यमा क्रमशः आउने उच्च प्रशासनिक नेतृत्वले शासकीय सुधार सहितको कर्मचारी यन्त्रको विनिर्माणमा गहिरो अभिरुचि राख्नेछ र अमिट छाप छोड्नेछ भन्ने विषयमा आम नागरिकको विमति हुने कुरा पनि रहेन । यी तार्किक र तथ्यगत विषयमा नेपालको राजनीतिक प्रणालीका साथै कर्मचारीतन्त्रिय प्रणालीले पनि विशेष ध्यान पक्कै राख्नेछ ।

यसै प्रकारले मन्त्रालय नेतृत्व गर्ने उच्च प्रशासकहरुलाई पनि एवम् प्रकारले भूमिका निर्वाहका लागि उत्तराधिकारी योजना (Succession Plan) तय गर्न समेत जरुरत भैसकेको छ । यो हामी जस्ता नेपालको कर्मचारीतन्त्र समयानुकूल सुधार रूपान्तरण हुनु आवश्यक छ भन्ने सकारात्मक आशा गर्ने कर्मचारी यन्त्रको मात्र होइन आम नागरिकको पनि आशा अपेक्षा हो र जनमत पनि हो ।

Tags :
प्रतिक्रिया दिनुहोस