मानिसको बदलिएको सोच र चरित्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मानिसको बदलिएको सोच र चरित्र


४ आश्विन २०७७, आइतबार


स्याङ्जाको ग्रामीण क्षेत्रमा सन् ४० को दशकसम्म विदेश भनेको “लाहुर” जानु थियो जुन सङ्ख्या सो समयमा पनि उल्लेख्य नै हुन्थ्यो । “लाहुर” जानेलाइ “लाहुरे” भनियो भन्ने प्रचलन छ तर त्यतिबेला “लाहुरे” शब्दले भारतीय, बेलायती र सिङ्गापुर सुरक्षा फौजमा जानेलाइ मात्र जनाउथ्यो । “लाहुरे” त्यतिबेलाको समाजमा उच्च दर्जामा रहन्थे किनकी यसबाट आर्थिक उपार्जनका साथमा केहि जान्ने मौका पनि मिल्थ्यो । त्यसको धेरै समयपछिमात्र मानिसहरु अन्य मुलुकमा जान थाले । पैसा कमाउन थाले र आफ्नो आर्थिक हैसियत बढाए । अहिले त कुनै घरका मानिस कुन मुलुकमा छन् भन्ने विषयले मात्र हैसियत निर्धारण हुन थाल्यो ।

“लाहुर” जानु कतिका लागि त बाध्यता थियो होला । तर कतिका लागि भने पहिलो रोजाइको रोजगारी नै थियो । “लाहुरे” हुन बाँकी रहेकालाइ “लाहुर” जाने पेशा आकर्षणमा रहन्थ्यो । तर “लाहुरे” भइसकेकाको अनुभव भने फरक खालको हुन्थ्यो । विदेश जान परेकोमा उनीहरुमा एक प्रकारको तनाव हुन्थ्यो । बिछोडको पिडा रहन्थ्यो ।

मानिसका रोजाइ वा बाध्यता जे भएपनि “लाहुर” जानु, पैसा कमाउनु, फर्कदाँ बाकस सहितको लत्ता कपडा ल्याउनु नियमितता जस्तै थियो । यसरी फर्कदाँ उनीहरुले पैसा त के कति ल्याउथे थाहा हुन्थेन । तर आइसकेपछि जग्गा जमीन किन्ने वा घर बनाउने वा शहरतिर बसाइ सर्ने क्रम शुरु हुन्थ्यो । गाउँमा विदेशी रक्शी र चुरोट पनि यहि समयदेखि आएको हुनुपर्छ । यहि क्रमले भारतीय र बेलायती सँस्कृतिलाइ पहाडका गाँउठाउँमा ल्यायो जसका राम्रा र कमजोर दुवै पक्षहरु छन् ।

तर यहाँ उठान गरेन खोजिएको विषय रोजगारी भन्दा पनि बिदेशिनुसँगै जोडिएको त्यतिबेला मनोविज्ञानसँग सम्बन्धित छ । यससँग अहिलेका मानिसको स्वभाव र चरित्रको विश्लेषण गर्न खोजिएको छ । मानिसको मनोभावना र सोचमा आएको फेरबदललाइ केलाउन खोजिएको छ ।

माथि भनिएजस्तै ४० को दशकसम्म गाउँमा सकेका जति “लाहुर” जाने र नसक्ने तथा जान नचाहनेहरु विद्यालय जाने क्रम पनि शुरु भइसकेको थियो । एउटै कक्षाका साथीमध्ये एउटा “लाहुर” हुन्थ्यो भने अर्को विद्यालयमा हुन्थ्यो । यस समयसम्म कतिका लागि त “लाहुरे” हुनु वा नहुनु भनेको भाग्यसँग जोडिएको विषय पनि थियो ।

“लाहुर” गएको साथीका बारेमा अर्को साथीले घरमा रहेका परिवारलाइ सन्चो बिसन्चोको हालखबर सोध्दा घरपरिवारको जवाफ हुन्थ्यो, “हेर न बाबु, छोरा फौजमा गएको पनि चार महिना भइसक्यो, यति बेलासम्म चिठ्ठी आइसक्नु पर्ने हो । यस अघि त तीन महिना पुरा हुदाँनहुदैँ चिट्ठी आउथ्यो, तर यसपाला खै किन ढिला भयो ?” उनीहरु आफैले आफैलाइ चित्त बुझाउने गरी थप्थे, “आउँदै होला कि ।” आमा बुबा र घरपरिवारका सदस्यको भित्री मनमा के कस्ता कुरा खेल्थे सो त जान्ने कुरा भएन, तर बाहिर भन्ने कुरा सबैका यस्तै हुन्थै । यो कथा विदेशमा परिवारका सदस्य रहेका आम घरको हुने गर्दथ्यो ।

तर अहिले अर्थात ७० को दशकमा साना बाबुनानीलाइ त्यतिबेला आफ्ना मानिसको सन्चो बिसन्चोको खबर थाहा पाउन तीनचार महिनामा कुर्नु पर्थ्यो भनेर सुनायो भने यो विषय साच्चिकै दन्त्य कथा जस्तो हुन्छ । उनीहरुको मनमा यस्तो पनि हुन्थ्यो र भन्ने हुन्छ । साँच्चै आफन्तका बारेमा सन्चो बिसन्चोको खबर पाउन पनि तीन चार महिनासम्म मानिसले के कसरी पर्खे होलान ? उनीहरुसँग पर्खनु वा कुर्नु भन्दा अर्को विकल्प नै थिएन त के गरुन भन्न पनि सकिएला, उनीहरुमा बाध्यता थियो भन्न पनि सकिएला ।

के त्यतिबेला मानिसहरु दुखी थिए र ? खबर कुर्न परेकै कारणबाट थप दुखी थिए होलान त ? अवस्था जे जस्तो रहे पनि मानिसले कुरेकै थिए । कुरेर नै केहि पाएका थिए । अहिलेका मानिसले पनि भनेजति सबै के नै पो पाएका छन् र ? त्यतिबेला लामो बिछोड पछि भेटघाट हुन्थ्यो अनि खुसी मनाउने हुन्थ्यो । अहिले सँधै सँगै छ र पनि मानिस खुसी छैन त ? छ महिना वा वर्षदिनसम्म भेट नभए पनि कुरेर बस्ने अनि रमाउने संस्कार ठिक हो कि सँधै सँगै रहदाँ पनि खुसी हुन नसक्ने अवस्था ठीक हो ? यसो भनेर सबैजना कुण्ठामा नै छन् भन्ने पनि होइन । तर आजका मानिस बाहिर जे जस्तो स्वरुपमा देखिए पनि भित्र त्यति विधि खुसी चाँहि छैनन नै । समग्रमा भन्दा मानव जीवन केहि चाहने, केहि पाउने, केहि नपाउने, अनि कुर्ने यस्तै चक्रमा चल्ने त रहेछ नि । स्वरुपमा विगत र अहिले फक होला तर सारमा खासै उहि जस्तो छ ।

एकैछिन अहिलेका कुरा गरौँ । अहिलेका मानिस मोबायल नचलाइकन कति समय बस्न सक्छन होला ? आफैले आफैलाइ सोधौँ कि, मैले मोवाइलमा कुरा नगरिकन कति समय बस्न सक्छु होला ? धेरै समय स्थिर भएर बस्न कठिन छ । अरुसँग कुरा गर्दा र खाना खाँदा त मोबायल चलाउने भइयो हामी । अहिलेका मानिस त मोबायल बिना बाँच्नै नसक्ने जस्तो भइसके भन्यो भने पनि अन्यथा हुदैन् । के हामीले खोजेको हाम्रो जीवन यहि नै हो त ?

यसैसँग अन्य थुप्रै प्रश्न पनि जोडिन्छन । जे हिजो थिएन आज छ तर मानिसलाइ केहि नपुगे जस्तो भइरहेछ । यस्तो चाहना ज्ञानमा भए त ठिकै हुन्थ्यो होला । तर यहाँ त उपभोगमा पो यस्तो भइरहेछ । के समयसँगै मानिसका आधारभूत आवश्यकतामा परिवर्तन हुदैँ जाने हो ? यो क्रम कहिलेसम्म चल्छ होला ? समयसँगै मानिसका आधारभूत आवश्यकता बढ्दै जाने हो कि यसमा कुनै किसिमको नियन्त्रण चाहिने हो ? अथवा यो आवश्यकताको सूची कहाँसम्म पुग्ने हो ?

मानिसका लागि न्यूनतम आधारभूत आवश्यकता त हिजोका दिनमा पनि चाहिन्थ्यो । आजका दिनमा पनि चाहिन्छ नै । हिजो नभएका केहि वस्तुहरु समयसँगै अहिले आधारभूत आवश्यकतामा थपिए होलान । तर अहिले यहाँ उठाइएको मोबायल मानिसको न्यूनतम आधारभूत आवश्यकता हो कि बिलासी वस्तु हो ?

के चार महिनासम्म सन्चो बिसन्चो खबर नपाउँदा पनि कुरेर बस्न सक्ने मानिस आज एकै दिनमा कम्तिमा पनि तीनचार पटक परिवारसँग कुरा गर्नुपर्ने अवस्थामा पुग्नु भनेको आधारभूत आवश्यकतामा परिवर्तन हुनुमात्र हो त ?

हामीले सुक्ष्मरुपमा हेर्ने हो भने हाम्रा आफन्त पनि बदलिएका छन् । हाम्रा आफन्तको घेरा दिनप्रतिदिन साँघुरो बन्दै गएको छ । विगतमा टाढाको नाता पर्ने व्यक्ति घरमा आउँदा रमाइलै लाग्थ्यो । तर अहिले त एक चिन्न पनि गाह्रो हुन थाल्यो । अब घरमा पाहुना आउँदा भित्रै देखि खुसी मान्ने अवस्था छैन । बाहिर जे भनेपनि भित्र भित्रै झर्को र फर्को मान्ने अवस्था सृजना हुदैँछ । आखिर हामीमा किन यस्तो स्वभाव विकास भइरहेछ ?

यी र यस्तै तरिकाबाट कतै हाम्रो सोचमा नै सिमितता त आइरहेको छैन ? हामीमा आएको यो परिवर्तन मानिसका आधारभूत आवश्यकतामा आएको परिवर्तनका कारणले सृजना भएको हो वा अन्य कुनै अन्य कारणबाट आएका हुन त ? शहरमा बस्न थालियो बस्ने ठाँउ साँघुरो छ । आफैलाइ बस्न त कठिन छ भने अरुलाइ कसरी एडजस्ट गर्न सकिन्छ भन्ने तर्क पनि गर्न सकिएला । सबैजना ब्यस्त भएपछि विगतमा झैँ कहाँ आफन्तलाइ सम्झेर बस्न सकिन्छ र ? भन्ने पनि होला । एकपटक सम्झौँ त, हिजोका दिनमा पाहुना आउँदा आमा सहित घरका साना केटाकेटीलाइ सुत्नका लागि गुन्द्री र चकटीमात्र भागमा पर्थ्यो । अचम्म त के थियो भने त्यसरी सुत्दा पनि असजिलो लाग्दैनथ्यो । अहिलेको सबैथोक छ र पनि अभावमा रहेको महसुस मात्र गर्दैछ मानव जातीले । आखिर किन यस्तो भइरहेछ ?

अहिले त आफन्त भेटने क्रममा पनि कमी आउन थाल्यो । यातायातका साधन बढे । खर्च पनि बढ्यो । आफनै काम परेमात्र आफन्त खोज्ने भइयो धेरैजना । नाताको कारणले भन्दा पनि कामले बढि नजिक र टाढाको बनाउन थाल्यो । आफन्तको परिभाषा नै बदलिन थाल्यो । कुन वास्तवमै आफन्त र कुन फरक भनेर छुट्याउनै कठिन भयो । मानिसले तत्कालको फाइदा हेर्ने भएकोले नाताका आफन्तभन्दा फाइदा दिने बढि आफन्त जस्तो हुन पुगे । तर मानिसलाइ काम वा जागीरले बनाएका भन्दा पनि नाता सम्बन्धले बनाएका आफन्त चहिन्छन र काम लाग्छन् । जागीर वा कामसँग जोडिएका आफन्त त स्वार्थ जोडिदाँसम्म मात्र कायम हुने हो । हामी अहिले यो बुझ्न चाहेका छैनौ वा बुझ्नका लागि हामीसँग समय छैन् । जति बेला बुझिन्छ त्यति बेला धेरै ढिला भइसकेको हुनेछ ।

यातायात वा कामले सम्बन्धमा परिवर्तन आएको भनिएला तर कामका आफन्त र सम्बन्धका आफन्त छुट्याउने मामिलामा हामीमा कमजोरी आएकै छ । तर हामी यसलाइ समयमा चिन्न सकेका छैनौ । आखिर यो बदलाव कहिलेसम्म हो त ? यसमा कुनै नियन्त्रण चाहिन्छ ? अनि यस्तो बदलाव के ले ल्याइरहेछ त ?

मानिसमा आएका यी सबै परिवर्तन रहरले गर्दा भएको हो वा बाध्यता मात्र हो वा मानिसको सोचमा साच्चै नै परिवर्तन आएको छ ? कि मानिसको धैर्य गर्न सक्ने क्षमता घटेको हो ? अहिले मानिसले गर्नै पर्ने काम गरिरहेका छन् कि नगर्नु पर्ने काम पनि थाहै नपाइ गर्न बाध्य भइरहेछन् ? कतै मानिसलाइ प्रविधिले त चलाइ रहेको छैन ?  कतै भूमण्डलिकरण वा यस्तै अन्य कारणले मानिसका आवश्यकता एवम् मानविय सम्बन्धमा नै फेरबदल त ल्याएको छैन ? मानिसले जलवायु परिवर्तनको असर अरुमा हुन्छ त भनिरहेछ तर त्यसको असर आफूमा के कति छ भन्ने बारेमा सोचेको छ त ? के विगतको मानिस र आजको मानिसको सोच र मनोविज्ञानमा के कति भिन्नता आएको छ ? यस्तो परिवर्तन के ले ल्याएको छ ? यस्तो परिवर्तनले मानिसलाइ विकासको उच्च अवस्थातिर लगेको छ कि अवनतितर्फ लैजादैँ छ ?

माथिका प्रश्नहरुको उत्तर खोज्न त्यति सजिलो छैन । यस्ता दार्शनिक प्रश्नहरुको उत्तर सामान्य ढँगबाट दिन खोज्नु पनि सम्भव नहोला । यसका लागि मानव इतिहास अध्ययन गर्नुपर्ने हुनसक्छ । प्रकृति र मानिसमा आएको परिवर्तन सुक्ष्म ढँगबाट अध्ययन गरिनुपर्छ । मानव र प्रकृतिको अन्तरसम्बन्ध केलाउनु पर्छ ।

तर सत्य के हो भने मानिस समग्र प्रकृतिको एक अङ्ग मात्र हो । मात्र एक अङ्ग । अहिलेसम्म पृथ्वीमा रहेका प्राणीमध्ये मानिस उच्च चेत र सोच भएकोमा पर्छ भन्ने गरिन्छ । मानिसले यहि सोच र चेतले अरु सबैमाथि शासन गर्न खोजेको छ । मानिसले के गर्नु पर्थ्यो त्यो त भन्न कठिन छ तर मानिसले आफनो वुद्धि अरु सबैलाई नियन्त्रणमा राख्नमा नै लगाइरहेको छ । यहि बुद्धिले जल, स्थल र आकाशमा नियन्त्रण राख्ने प्रयास गरिरहेको छ । यसमा केहि सफलता हासिल गरेको पनि छ । जङ्गललाई घेरेर नै नियन्त्रण कायम गरेको छ  यसो हेर्दा समग्र वातावरण मानिसको कब्जामा छ ।

तर वास्तविकता यस्तो छैन । अरुलाइ कब्जामा राखेको छु भन्ने भ्रममा रहेको मान्छे आफै अरुको कब्जामा परिरहेको छ । कसरी प्रविधिले मानिसलाइ कसरी नियन्त्रणमा राख्न शुरु गर्यो भनेर मोबायलको एउटा मात्र उदाहरण हेर्दा पुग्छ । यस्ता थुप्रै उदाहरण पाउन सकिन्छ ।

चार महिनासम्ममा छोराको पत्र आउला, श्रीमानको पत्र आउला, बाबाको पत्र आउला भनेर कुरेर बस्न सक्ने मानिसको मन अहिले दुइचार घण्टा त के दुइचार मिनेट पनि कुर्न नसक्ने भइसक्यो । विगतदेखि अहिलेसम्म परिवर्तन भएको वा साँघुरो भएको मानिसको मन हो । बाध्यता, विकल्प, विकास वा जे जे भनेपनि आजका मानिसले धैर्यता गुमाउँदै गएका छन् । मन झन झन साँघुरो बनाएका हुन कि बनेको सो छुट्याउनु पर्ने भएको छ । तर मन झन साँघुरिएको चाँहि सत्य हो ।

अहिले सुविधा छ त्यहि भएर यसको प्रयोग गर्नुपर्छ भन्ने मत पनि राख्न सकिएला । तर अवस्ता त्यसो मात्र पनि होइन । मन त जति मात्रामा तन्काउन र खुम्च्याउन पनि सकिने रहेछ । सुविधा खोजी गर्दै जाँदा त अनन्तमा पुगिने निश्चित छ जसको कुनै अन्त नै छैन । मनलाइ नियन्त्रण नगर्ने हो भने यसले व्यक्तिका चाहना तन्काइरहने निश्चित छ । निरन्तर तन्काइरहन्छ । मन त बेलगाम दौडिरहने खालको हुन्छ । मनका बारेमा चाहे पूर्विय दर्शनमा खोजौँ, चाहे पश्चिमा दर्शन खोझौँ, या साहित्य पढौँ । सबैको भनाइ छ मन बेलगाम दौडन सक्छ वा दौडन्छ । संसारमा धेरै बिकेको द अलकेमिस्टका लेखक पनि आफ्ना पात्रका माध्यबाट बेलगाम मनलाइ नियन्त्रण गर्नुपर्छ भन्छन् । यसलाइ साहित्य मान्ने अनि हाम्रा दर्शनलाइ पुरातन मान्ने ? यो पनि हाम्रै सोचका कारण हो ।

प्रविधिको प्रयोगमा भएको पनि यहि हो । अहिले मानिसले प्रविधि प्रयोग गरेको छ भनेको छ तर प्रविधिले मानिसलाई प्रयोग गरिरहेको छ ।

मानिसको मन अनन्त क्षमता यूक्त छ, व्यक्तिलाई आफ्ना कर्ममा निर्देशित गर्ने मनले जस्ता सुकै कार्यमा लैजान पनि सक्छ, कार्यमा नियन्त्रण राख्ने सामर्थ्य पनि यहि मनमा नै छ । हिंसातर्फ प्रेरित गर्ने पनि व्यक्तिको मन नै हो, यसैगरी व्यक्तिलाई पूर्ण सात्विक बनाइ अर्काको सहयोगमा समर्पित गर्ने पनि यहि मन नै हो । मनको नियन्त्रण आवश्यक मात्र होइन अनिवार्य नै छ ।

गीतामा श्रीकृष्णले अर्जुनलाई मनलाई नियन्त्रण गर्नु पर्नाको कारण र योगबाट मनलाइ नियन्त्रण गर्न सकिन्छ भनेर अध्याय छ मा सबिस्तार वर्णन गर्नु भएको छ । मन नियन्त्रणका लागि श्रीकृष्णले भन्नु भएको सबै भनाइ सान्दर्भिक र उपयोगी छन् । ती मध्ये छैटौँश्लोकको भनाइ यस सन्दर्भमा उल्लेख गर्न उपयुक्त नै हुन्छ । उहाँको अनुसार “बन्धुरात्मात्मनस्तस्थ येनात्मैरात्मनाजितः आनात्मनस्तुशत्रुत्वे वतैलात्त्मनै शत्रुबतु ।। अर्थात “जसले मनलाई जितेको छ उसका लागि मन नै सर्वश्रेष्ठ मित्र हो र जसले मनलाई जित्न सकेको छैन त्यसका लागि मन नै सबैभन्दा ठूलो शत्रु पनि हो ।”

जब कौरब र पाण्डवबीच युद्ध हुने नै भयो तब धृतराष्ट्रलाई अत्यन्त छटपटी हुन थाल्यो । धृतराष्ट्रका मनमा अनेक तर्क आउन थाले । युद्धमा भोलि के होला ? उनलाई आफ्ना छोराहरु हार्छन कि वा युद्धमा मारिन्छन् कि भन्ने चिन्ता थियो जुन स्वभाविक नै थियो । उनमा निद्रा पर्न छाड्यो । खान मन लागेन । यी सबै स्वभाविक नै थिए । जब वेदव्यासले धृतराष्ट्रलाई यस्तो अधैर्य रहेको अवस्थामा देखे । अनी व्यासले उनलाई भविष्यको चिन्ता नगर वर्तमानको बारेमा जानकारी राख् भनेर सम्झाए । अनि धृतराष्ट्रले बेदव्याससँग मनलाई नियन्त्रण गर्ने औषधी मागे । व्यासले आफ्नो मनको धैर्य राख्न भने । यसको औषधी भने कै आफ्नो मनको नियन्त्रण आफैले गर्ने हो भने ।

वास्तवमा यहि एउटा तरिकाबाट मात्र मनलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने त छैन होला । तर यसका लागि सबैभन्दा पहिला व्यक्ति स्वयम् परिवर्तनका लागि लागि तयार हुनुपर्छ भन्ने रहेछ । हिजो अर्थात एक मिनेट अघिसम्म दौडि रहेको मनलाई धैर्यतामा राख्नु भनेको पनि परिर्वतन नै हो । व्यक्तिले खोजेको परिर्वतन के हो ? कहिले अर्थात कुन समय देखि परिवर्तन आवश्यक छ ? परिर्वतनका लागि व्यक्ति भित्रै देखी वा आन्तरिक रुपबाट नै तयार हुनुपर्छ भन्ने रहेछ ।

कहिलेकाँही मानिसलाई स्थापित भाष्य मात्र सहि हो जस्तो लाग्छ । स्थापित भाष्य यति बलियो हुन्छ कि जसलाई राज्यसत्ता, सामाजिक मूल्य मान्यता र भाष्यकारहरुले प्रत्यक्ष अप्रत्यक्ष ढँगबाट सहयोग गरिरहेका हुन्छन् । यस्ता स्थापित भाष्य परिर्वतन गर्न त्यति बेला मात्र सम्भव हुन्छ जति बेला व्यक्तिको मन पूर्णरुपमा बदलिन तयार हुन्छ । समग्रतामा मूल्य मान्यतामा पूर्ण परिर्वतन खोजिन्छ । सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तन खोजिन्छ । मैले यसमा उठाउन खोजेको स्थापित भाष्य शिक्षा एवम् सामाजिक क्षेत्रसँगको विषयसँग सम्बन्धित छ । मनलाइ नियन्त्रण गर्ने विषयका लागि यी र यस्तै बृहत विषयमा प्रवेश नगरिकन व्यक्ति बदलिउ भनेर मात्र पुग्दैन् ।

मैले यो विषय किन उठाउन खोजे भने हाम्रो समाज र शिक्षा प्रणालीले व्यक्तिलाई अत्यन्त महत्वाकाँक्षी बनायो । मानिसले जे पनि पाउन सक्छ, उसले पायो भने मैले किन नपाउने, मैले जीवनमा अरुलाई उछिन्नै पर्छ भन्ने मात्र सिकायो । यो अहिलेको स्थापित भाष्य हो । अब यसलाई बदल्नु पर्ने देखियो । एउटा मात्र उदाहरण लिउँ । वेदव्यास सम्पूर्ण विषयका ज्ञाता र द्रष्टा भएर पनि उनलाई राजकाजमा रुचि भएन, राज्य बिस्तारमा रुचि भएन । उनी अध्ययन, ध्यान, चिन्तन, मननमै लागे ।

शिक्षा प्रणालीले सबै जना एउटै कामका लागि जन्मिएका होइनौँ भनेर पढाउनु पर्छ । हामी मानव भएर मात्र एक हौँ, क्षमताका दृष्टिकोणले हामीमा फरक छ भनेर पढाउनु पर्छ । शिक्षाको दर्शन नै बदल्नु पर्छ अनिमात्र असल र धैर्यवान मानिस बन्न र बनाउन सक्छौँ ।

डा. लम्साल, बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौडाका सचिव, हुन् र लेखमा व्यक्त धारणा लेखकका निजी बिचार हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस