लम्पी स्कीन डिजिज : एक नयाँ रोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लम्पी स्कीन डिजिज : एक नयाँ रोग


डा.संजिव कुमार ठाकुर

४ आश्विन २०७७, आइतबार


सारा विश्व महामारीसँग जुधिरहेको बेला मानव सँगसँगै पशुमा पनि नयाँ नयाँ रोग देखिन थालेको छ । यस्तै रोगहरू मध्येको एक रोग हो लम्पी स्कीन रोग । जुन अफ्रिकन मुलुकहरूमा देखिने गर्थे । सन् २०१९ मा भारत र बंगलादेशमा देखा परिसकेको यो रोग यसपालि नेपालको पूर्वी भाग झापा, मोरङ, सुनसरी हुँदै प्रदेश नं २ को लगभग सम्पूर्ण जिल्ला, बागमती प्रदेशको मकवानपुर चितवनलगायत थुप्रै ठाउँहरूमा फाट्टफुट्टरुपमा देखिन थालेको छ । पीसीआर विधिबाट यो रोग लम्पी डिजिज नै भएको पुष्टि भइसकेको छ ।

यो मुख्यरूपमा पातलो छाला भएका उन्नत जातका गाई, स्थानीय जातका गाई र कम मात्रामा भैँसीमासमेत देखिने गर्दछ । यो ‘पोक्सभैरेडी फ्याम्ली’को ‘काप्रिपोक्स’ भाइरसले गर्दा लाग्ने गर्दछ । जसलाई रगत चुस्ने परजीवी जस्तै लामखुट्टे, झिँगा, किर्ना इत्यादिको टोकाइले एक पशुबाट अर्कोमा सार्नसक्ने जोखिम हुन्छ । त्यसैले गोठको सरसफाइ र परजीवी नियन्त्रणमा जोड दिनुपर्छ । जसले गर्दा रोग सर्ने दर कम गर्न सकियोस् ।

यो रोगको सुरु अवस्थामा खाना नखाने, उच्च ज्वरो आउने, र्‍याल काढ्ने, धक्ने, खुट्टा खोच्याउने खासगरी पछाडिको र पछि मुख, टाउको, गर्दन, लगायत शरीरको धेरै भागहरूमा आधा इन्च भन्दा सानोदेखि दुई इन्चसम्म साना साना गाँठाहरू देखिने गर्दछन् । जुन पछि फुटेर सेतो पहेँलो क्रिम जस्तो वस्तु निस्कने र छाला भित्र घाउ हुने समस्या देखिन्छ । जसमा झिँगा र अन्य व्याक्टेरियल सङ्क्रमण हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । जसले सामान्यतः २०–२५ दिनमा सन्चो हुने यो रोग जटिल हुन जाने भोजन नली, स्वासनली र पाठेघरमा समेत असर हुने गर्दछ, पशु दुब्लाउँदै जाने, शरीरमा पानीको कमी हुने र केही पशुहरूको मृत्यु समेत हुनसक्छ । तर मृत्यु दर निकै कम हुने गर्दछ ।

दुग्ध उत्पादनमा धेरै असर गर्ने भएकोले यो ठुलो चिन्ताको विषय बन्न पुगेको छ । यो भाइरल रोग भएकोले यसको खासै उपचार छैन । लक्षण अनुसारको उपचार गर्ने जस्तै : ज्वरो कम गर्ने औषधि, एन्टी अलेर्जिक, ब्रोडस्पेकट्रम एन्टीबयोटिक, घाउको ड्रेसिङ, मलहम लगाउने, मल्टी भिटामिन, खाना नखाने कमजोर पशुहरूमा फ्लुइड थेरापी गर्ने जस्ता कार्यहरूबाट कम्प्लीकेटेड केसमा मृत्युदर घटाउन सकिन्छ । यो रोगको रोकथाम र नियन्त्रणको लागि रोगी पशुलाई अलग राखी उपचार गर्ने, सामूहिक चरणमा नलाने, सरसफाइमा ध्यान पुर्‍याउने, भाइरुसैडल औषधि गोठ र पशुलाई पर्ने गरी छर्कने, उपचारमा संलग्न प्राविधिक जैविक सुरक्षामा ध्यान दिनु पर्दछ । नत्र एक पशुबाट अर्कोमा सजिलै उपचारकै क्रममा सर्ने जोखिम हुने गर्दछ ।

तर यो रोगसँगै मिल्दो जुल्दो अन्य छालाको गिर्खा देखिने रोगहरू छन् । जस्तै वार्वल फ्लाई इन्फेस्टेसन जसमा ज्वरो आउँदैन तर गिर्खा निचोर्दा सेतो प्युपा आउने गर्दछ । यसैबाट सजिलै फिल्डमा छुट्याउन सकिन्छ । त्यस्तै डरमाटोफिलोसिस यसमा पनि गिर्खा आउने तर ज्वरो आउँदैन र यो ब्याक्टेरियल इन्फेक्सन हो । जसको एन्टिबायोटिकबाट सजिलै उपचार गर्न सकिन्छ ।

अफ्रिकन मुलुकहरूमा लम्पी रोग नियन्त्रणका लागि खोपको प्रयोग गरिँदै आएको छ । तर हाम्रो जस्तो मुलुक जहाँ यो रोग पहिलो पटक देखिएकोले खोपको प्रभावकारिताको अध्ययन गरेर मात्र खोप भित्रने सम्भावना हुन्छ ।

सरकार यस प्रक्रियामा लागि सकेकाले चाँडै राम्रो सन्देश आउने सम्भावना छ । त्यतिन्जेल रोकथाम र नियन्त्रणका माथि लेखिएको उपाय अवलम्बन गर्नुको विकल्प छैन ।

आत्तिएर पशु बेच्ने, प्रभावित ठाउँको पशु खरिद बिक्री गरी एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउने कार्य रोग फैलाउने माध्यम हुन सक्ने भएकोले यसतर्फ ध्यान पुर्‍याउनु पर्दछ ।

साथै स्थानीय पशुशाखाहरु र विज्ञ केन्द्रहरू हाते मालो गरी रोग नियन्त्रणका लागि जनचेतना फैलाउने र उपचारमा लाग्ने कार्य गर्नुपर्दछ ।

ठाकुर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,महोत्तरीका अधिकृत आठौँ हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस