पहिरोका कारण लोकमार्गको बागलुङ खण्ड र लमजुङ बेँसीशहर-चामे सडक अवरुद्ध « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पहिरोका कारण लोकमार्गको बागलुङ खण्ड र लमजुङ बेँसीशहर-चामे सडक अवरुद्ध


३ आश्विन २०७७, शनिबार


बलेवा । आज बिहानको अविरल वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका–५ इनारपानी र गलकोट नगरपालिका–९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको हो ।

आज बिहानदेखि पहिराले लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।

बिहानैदेखि पहिरो हटाउने काम शुरू भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव पाठकले बताए ।

त्यसैगरी लमजुङमा शुक्रबार साँझबाट निरन्तर परेको अविरल वर्षासँगै आएको बाढीपहिराले बेँसीशहर–चामे सडकमा अवरुद्ध भएको छ ।
लमजुङ र मनाङ जिल्ला जोड्ने बेँसीशहर–चामे सडक खण्डको खरखरेभिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

बेँसीशहर नगरपालिका–६ मा सडकभन्दा करीब ३०० मिटर माथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिराले ३० मिटर सडक अवरुद्ध बनाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सबइन्जिनीयर सुमन अधिकारीले बताए ।

सडक अवरुद्ध हुँदा ढुवानी, यात्रुवाहक सवारीसाधनदेखि आकस्मिक सेवाका सबै सवारी साधन रोकिएका छन् । यसअघि पनि गत बुधबार बिहान यही स्थानमा अविरल वर्षासँगै आएको बाढीपहिराले करीब २० मिटर सडक भासिएको थियो भने केही भागमा ढुङ्गामाटोले सडक ढाकेर अवरुद्ध भएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस