ऊ बेला बरु केही शान्ति थियो
जन मुहारमा हँसिलो कान्ति थियो
धर्म, कर्मको भर थियो
पाप, परलोकको डर थियो
मान्छेमा इमान, जमान थियो
कमै मात्र बेइमान थियो ।
आधुनिकताको यहाँ रटान छ,
समृद्धिको ठुलै बखान छ,
सूचना, सञ्चार प्रविधिले,
संसार एउटै गाउँ बन्यो,
चाहेको गर्न सक्छौँ भन्यो
अपराध झन् झन् मौलाएको छ
मान्छे किन हो बौलाएको छ ?
घर घर भित्रै काटमार छ,
आफ्नोले आफ्नै बलात्कार गर्छ,
छोराले बाबु काट्छ,
आमाले बच्चा मार्छ,
स्वास्नीले लोग्ने रेट्यो,
पतिले पत्नीको गला निमोठ्यो ।
मान्छेले मान्छे बेच्छ,
मान्छेले मान्छे किन्छ,
मान्छेले मान्छेलाई हेर
कति क्रुर यातना दिन्छ
विवेक शून्य भयो मान्छे,
तड्पाई तड्पाई ज्यानै लिन्छ ।
कोही भोकले मर्छ
कोही रोगले मर्छ,
सानो बिमारले अस्पताल पुग्दा,
डाक्टरको खेलाँची जोकले मर्छ
मूल्यवान् उसले पैसा ठान्छ
लापरबाहीले ज्यानै जान्छ ।
जता हेर्यो विकृति, विथिती
नासिँदै छ कि हाम्रो रीति ?
संघीयता भन्छ, लोकतन्त्र भन्छ,
एक से एक सबै राजा बन्छ
टपरटुईँयालाई मोज भा छ,
सोझो निमुखा थिचिँदै गा छ ।
दण्ड, भेद यहाँ साम, दाम छ
मान्छे मान्छे सँगै त्राहिमाम् छ
जता जाऊँ थकित, पीडितको कथा छ
मुटु जलाउने आर्तको व्यथा छ
रमाइलो खै, कहाँ के हाल छ ?
चौतर्फी यहाँ उस्तै बेहाल छ ।
परिवर्तनले अपेक्षा राख्छ राहातको
परन्तु शोक धुन गुन्जन्छ आहातको
कति लेख्नु सधैँ निरस, उराठिला कुरा
राम भजन जप्दै चल्दछन् छुरा
पार पाउने आशाको त्यान्द्रो देख्दिन
भो अब म कविता लेख्दिन
कोट्याउँदै घटना कविता लेख्दिन ।
हो, साँच्चै म अब कविता लेख्दिन ।
……अस्तु…….