आमने सामने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आमने सामने


२७ भाद्र २०७७, शनिबार


विराटनगरमा एक जना नामुक वैद्य रहेछन् । उनले जस्तासुकै बिरामीलाई पनि जोखना हेरेकै भरमा औषधि दिएर ठिक पार्दा रहेछन् । धेरै टाढा टाढाबाट उनलाई खोज्दै मान्छे उपचार गर्न उनको घरमै आउने गर्थे । सधैँ धेरै मान्छे आउँदा भीड भाड हुने भएकाले उनको बैङ्कमा जस्तो टोकनको व्यवस्था गरिएको रहेछ । उनी धेरै नामुक तान्त्रिक वैद्य भनेर चिनिएका रहेछन् । उनको झारफुक र तान्त्रिक औषधि खाएपछि दीर्घ रोगीहरू पनि ठिक भएको कुरा त्यहीँ आउने बिरामीहरूले बताए ।

विराटनगरमै बस्दै आएका रवि दाइले पनि त्यो कुरा सुने र ती तान्त्रिक वैद्यकोमा औषधी खान जान थाले । रवि पनि दीर्घकालीन पेटको बिरामी रहेछन् । धेरै डाक्टरकोमा गएर लाखौँ खर्च गरेछन् तर उनको त्यो बिराम निको भएको रहेनछ । जब रविले ती तान्त्रिक वैद्यको बारेमा सुने त्यो बेलासम्म कोरोना महामारी विराटनगरमा छ्यापछ्याप्ती भइसकेको थियो ।

एक दिन रवि बिहानै तान्त्रिक वैद्यको औषधी खान भनेर गए । उनी त्यहाँ पुग्दा कोही पनि आएका थिएनन् । तान्त्रिक वैद्यले भन्दै थिए आजकाल कोरोना महामारीका कारण मान्छेहरू आउन छोडे । रविले वैद्यसँग गफ गर्दै गर्दा एक जना विधवा जस्तो देखिने महिला त्यहाँ आई पुगिन् । वैद्यलाई आफ्नो बारेमा हेर्न लगाइन् । वैद्यले जोखना हेरेर भने तपाईँको श्रीमानको मृत्यु भएको रहेछ । ती महिला भक्कानो छोडेर रुन लागिन् । ती महिला सहित पुरै परिवार अमेरिकामा बस्दा रहेछन् । उनी चाहिँ काम विशेषले नेपाल आएकी रहिछन् । जब उनी नेपाल आइन, अमेरिकामा कोरोना महामारी चर्किएछ र उनको श्रीमानको अमेरिकामै त्यही कोरोना सङ्क्रमणकै कारण मृत्यु भएछ ।

उनको त्यो मार्मिक कहानी सुनेर रवि भाव विह्वल भयो र औषधि बोकेर घर तिर लाग्यो । एक महिना पछि उसको औषधि सिद्धियो र रवि फेरी तान्त्रिक वैद्यकोमा बिहानै गए। ऊ बिहानै वैद्यकोमा पुग्दा घरको गेट पुरै लागेको थियो । रविले गेट खोल्यो, भित्रबाट चुकुल लगाएको रहेनछ, ऊ गेट खोलेर के भित्र मात्र छिरेको थियो, तीन/चार जना मान्छे कराउँदै आए, ए हुँदैन हुँदैन, भित्र आउँनु हुँदैन, बाहिर गइहाल्नुस् । रवि झसङ्ग झस्कियो र हतार हतार गेटबाट बाहिर निस्कियो । त्यो घरका वैद्य सहित त्यहाँ कराउँदै आउने मान्छेहरू सबै कोरोना सङ्क्रमित भइसकेका रहेछन् । त्यो घर सिल गरिएको रहेछ ।

जीवनमा पहिलो पल्ट रवि कोरोना सङ्क्रमितसँग आमने सामने भएका थिए, उनको होसले ठाउँ छोडी सकेको थियो । उनलाई लाग्यो आफू कोरोना सङ्क्रमित भइसकेँ । रविले चारैतिर अँध्यारो देख्यो । रविलाई लाग्यो उ नरकको खाडीमा हाम फालिसकेको छ । रवि हतार हतार दौडेर घर पुगे, पुरै नुवाई धुवाइ गरे र हात जिउभरि स्यानिटाइजर दले अनि आफूलाई सम्हाल्दै आफ्नो नियमित काममा व्यस्त हुने प्रयास गर्न थाले। रवि बिरामी नै भए पनि आत्मबल दह्रो भएको कारण उनलाई कोरोनाले छुन सकेन । त्यसैले आत्मबल दरो बनाऊँ, सुरक्षित बसौँ, सामाजिक दुरी कायम गरौँ, आफूलाई कमजोर नसोचौँ । सबैको जय होस् ।

Tags :
प्रतिक्रिया दिनुहोस