कोरोना आयो, क्या गजब भयो ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना आयो, क्या गजब भयो !


२७ भाद्र २०७७, शनिबार


आहा ! क्या गजब भयो
उपयुक्त समयमा
कोरोना आयो
उसलाई त आनन्द भा ‘ को छ
भ्रष्टाचारमा चुर्लुम्म
डुबेर निस्कँदा
थुतुनो भरी
कालो पोतिएको बेला
समाजमा थुतुनो लुकाएर
कसरी हिँड्नु भनी
सोचिरहेको समयमा
क्या गजब गर्‍यो कोरोनाले
मुखौटो लगायो हिँड्यो
टन्टै साफ ।

मै हुँ भन्थ्यो उसले
खुबै हैकम जमाउँथ्यो
दम्भ देखाउँथ्यो
पर्‍यो बलात्कार काण्डमा
पन्छिन त खोजेकै थियो
साम, दाम, दण्ड, भेद
सबै उपाय लगाएर
उम्कन त खोजेकै थियो
तर के गरोस्
सबै प्रमाण
नष्ट गराउन सकेन
नाकै काटियो,
काटिएको नाक
लुकाई हिँड्न
बडो गाह्रो थियो समाजमा
क्या सही समयमा
आयो कोरोना
नाक लुकाउन समस्यै भएन ।

भ्रष्टाचारी,
बलात्कारी,
व्यभिचारी.
तस्कर र दलाल
फोस्रा आश्वासन
जनतालाई बाँडेर
पूरा नगर्ने
ढँटुवा र बेइमान
लाजै पचाएका
नजिक आउँदा पनि
थु थु थुक्नु पर्ने
कुहिएको सिनो जस्ता
ठुस्स गन्हाउने
कु-मान्छेहरूको
दुर्गन्धबाट बच्न
हामी पनि मास्क लगाऔँ ।

क्या उपयुक्त समयमा
आएछ कोरोना
ती दुर्गन्धित मनुवाको
दुर्गन्धबाट बच्न
मास्क लगाऔँ ।
कोरोनाबाट बच्न
मास्क लगाऔँ ।।
नाक, मुख छोप्ने गरी
एउटा मुखौटो लगाऔँ ।।।
—अस्तु—

Tags :
प्रतिक्रिया दिनुहोस