लोक सेवा पीडित बुढो उम्मेदवारको कथा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा पीडित बुढो उम्मेदवारको कथा


२७ भाद्र २०७७, शनिबार


औपचारिक शिक्षा आर्जन गरेका अधिकांशको पहिलो रोजाई नै सरकारी जागिर हुन्छ । कतिपयले अन्य विकल्प रोज्लान् त्यो फरक विषय भयो । तर सरकारी जागिरप्रतिको भित्री अभिलाषा सबैको हुन्छ । मध्यपश्चिममा लोक सेवा तयारी गर्ने लहर भर्खर भर्खर सुरु भएको हो त्यसमा अझ रुकुममा त कमै मात्र छन् । पछिल्लो समय लोक सेवा तयारी गरेर सरकारी जागिरे बन्नुपर्छ भन्ने धारणा बलियो बन्दै गएको छ ।

विक्रम खत्री रुकुम जिल्लाको दक्षिण पश्चिमको ग्रामीण इलाकाको स्थायी बासिन्दा हुन् । एक निम्न मध्यम वर्गीय किसान परिवारमा हुर्किएका उनमा पढ्ने र सरकारी जागिर खाने रहर सानैदेखि पलाएको थियो । तर उनले सरकारी जागिर भनेर शिक्षक मात्र थाह पाएका थिए । द्धन्दको कारण गाउँमा कुनै सरकारी कार्यालय थिएनन् । त्यसैले शिक्षकबाहेक अन्य पेसा रोज्ने सुविधा र चेतना थिएन । उनका बुबा रत्न तथा आमा कल्याणी पनि छोराको योजनामा सहमत थिए । परिवारको जेठो सन्तान भएको नाताले छोरा विक्रमप्रति उनीहरूको ठुलो अपेक्षा थियो । दुई छोरा र दुई छोरीसहितको मिलेको परिवार एक नमुना बनाउँछु भन्ने भित्री अभिलासा थियो रत्न र कल्याणी दम्पतीको । अरू भाइबहिनीहरू सानै भएको तथा किसान परिवार भएकोले स्वाभाविक रूपले घरको काम बढी गर्नुपथ्र्याे । तर पनि सानो र एकल परिवार मिलीजुली राम्रैसँग चलिरहेको थियो ।

विक्रम घरको काममा बामालाई सघाएर पनि पढाइमा अब्बल थिए । उनको लगनशीलता, इमानदारिता तथा मिजासिलो स्वभावबाट सबै शिक्षक शिक्षिकाहरू निकै प्रभावित थिए । विक्रमको पारिवारिक अवस्था राम्रोसँग थाह पाएका गुरुवर्गहरु बेलाबेलामा विक्रमको घरमा पुगेर विक्रमलाई पढाइको वातावरण बनाइदिन भनेर सम्झाउँथे तर सामान्य साक्षरता मात्र भएका विक्रमका आमाबुबाको साहस आँट र पढाइप्रतिको प्रेम देखेर निकै प्रभावित थिए ।

२०५८ तिर देशभर सशस्त्र द्धन्दको सन्त्रास थियो, सङ्कटकाल लागेको थियो । रुकुम जिल्लाको अवस्था झन् त्यस बेला अत्यन्तै भयभीत थियो । परीक्षा दिन सदरमुकाम जानुपर्ने बाध्यता थियो भने सदरमुकाम जान राज्य र विद्रोही दुवै पक्षबाट उत्तिकै सन्त्रास रहन्थ्यो । परीक्षा दिएर फर्कने शर्तमा विद्रोही पक्षबाट सिफारिस लिएर मात्र सदरमुकाम जानुपर्ने बाध्यता थियो । उनी लगायत उनको साथीहरूले पनि त्यही विधिको प्रयोग गरेर सदरमुकाम पुगे । विद्रोही पक्षबाट फुत्किए पनि सदरमुकाममा सरकारी सुरक्षाकर्मीले अर्को मनोवैज्ञानिक तनाव दिन्थे । गाउँबाट आएका जति सबै विद्रोही नै हुन् भन्ने मनसायले व्यवहार गर्थे । सबै अप्ठ्याराहरू पार गर्दै उनी लगायत उनका साथीहरूले परीक्षा दिए । परीक्षाको नतिजा पनि आयो । सधैँ झैँ यस पटक पनि उनी अब्बल साबित भए । प्रथम श्रेणीमा उत्तीर्ण भए।

एसएलसीको नतिजा पछि उनको परिवारमा खुसी भन्दा पीडा बढी भयो । दुःख यो अर्थमा की उनलाई पढाउन बाहिर पठाउने सामर्थ्य उनको परिवारमा थिएन । सबैको सल्लाह अनुसार उनलाई विज्ञान विषय पढाउन जिल्ला बाहिर कि दाङ कि नेपालगन्ज पठाउनुपर्ने थियो । आर्थिक अभाव र परिवारको अवस्थाका कारण उनलाई टाढा पठाउनु निकै गाह्रो काम थियो । जे जस्तो भए पनि वुबाआमा दुवै हिम्मतिला थिए, ऋण गरेरै भए पनि विक्रमलाई पढाउन नेपालगन्ज पठाए । विक्रम नेपालगन्जस्थित महेन्द्र वह्ुमुखि क्याम्पसमा विज्ञान सङ्काय अन्तर्गत प्रवीणता प्रमाणपत्र तहमा भर्ना भए । घर परिवारको समस्या देखेका आमाबाबुको दुःख बुझेका विक्रमले मेहनतको बलमा भौतिक शास्त्रबाट आइएस्सी र विएस्सी अध्ययन पुरा गरे । परिवारको विवशताको राम्रो अनुभूति गरेका विक्रम पढाई लगतै एक सामुदायिक विद्यालयमा अध्यापन कार्यमा लागे । भाइबहिनीको खर्च तथा बुबाआमाको दुःख कम होस भन्ने हेतुले उनी शिक्षण कार्यमा लागेका थिए । अब उनले बिहे पनि गरेकोले उनमा थप जिम्मेवारी थपियो । ३÷४ वर्ष शिक्षणमा बिताएपछि फेरी अध्ययनमा निरन्तरता दिनुपर्ने दबाब प¥यो । त्यसको लागि उनी काठमाडौंै पुगे । पाटन संयुक्त क्याम्पसबाट भौतिक शास्त्रमा एमएस्सी पनि सिध्याए । त्यसपछि पनि अध्यापन कार्यमानै निरन्तरता दिए । आफूलाई अध्यापन कार्यबाट निकै सन्तुष्टि मिलेको अनुभूति गर्थे उनी । स्पष्ट वक्ता र विषयवस्तुमा राम्रो दक्खल भएकोले उनी अध्यापन कार्यमा पनि सोचे अनुसार नै सफल भए । विक्रम र विद्याथीबीच अत्यन्तै घनिष्ठ सम्बन्ध थियो । सबैले विक्रम सर भनेपछि हुरुक्क हुन्थे । यसरी भनौँ उनको शिक्षण पेसा राम्रैसँग चल्यो ।

पारिवारिक समस्याको राप तथा आफ्नो कामको तापले विक्रमले आफ्नो भविष्य नै भुलेछन् । जब साथी सङ्गीहरूलाई स्थायी जागिरमा देखे बल्ल उनले आफूतिर हेर्न पुगे । आफूभन्दा कमजोर अवस्थाका साथीहरू पनि सरकारी जागिरमा रहेको देखेर उनलाई अत्यास लाग्न थाल्यो । उनले आफ्नो विगततिर हेरे तर त्यो बितेको समयको हिसाब निकाल्न उनका विज्ञान र गणितका सूत्र काम लागेनन् । एकातिर पारिवारिक व्यवस्थापनको दबाब अर्कोतिर आफ्नो भविष्यको अनिश्चितता उनलाई चौतर्फी आक्रमण भएको अनुभूति हुन थाल्यो । शिक्षण पेसामा यति समय बिताउँदा उनले त्यो पेसाको अनुभूति गरिसकेका थिए । शिक्षण आफैँमा सम्मानित पेसा हो यति मात्र होइन उनको बाल्यावस्थादेखिको रोजाई पनि । तर अनावश्यक राजनीति, वृत्ति विकासका सीमित अवसर तथा सामाजिक क्षेत्रबाट भोग्नुपरेका अनावश्यक लान्छनाबाट विक्रम निकै हैरान भइसकेका थिए । अब भने शिक्षण पेसाप्रति पहिलेजस्तो आशक्ति बाँकी थिएन उनको । अर्कोतिर साथीहरूको निजामती तर्फको यात्राको कारण पनि उनमा निजामती कर्मचारी बन्ने भूत सवार भयो । ढिलै भए पनि निजामती सेवामा प्रवेश गर्ने प्रण गरे । तर उनीसँग समय निकै कम थियो । थोरै समयमा लोक सेवा पास गर्नुपर्ने जबरजस्त दबाब थियो उनमा । यसको लागि गाउँको विद्यालयमा शिक्षण गरेर पेचिलो प्रतिस्पर्धा जित्न नसक्ने महसुस गरी शिक्षण कार्य नै अन्त्य गने निर्णयमा पुगे । तर उनको परिवारलाई यो निर्णय मन पर्ने विषय थिएन । शिक्षण पेसाबाट आएको आम्दानीले परिवारको गर्जो टरेको थियो । भाइबहिनीको बिहे, पढाइलेखाई तथा अन्य पारिवारिक खर्च यसैबाट भएको थियो । बुढा भइसकेका वुबाआमालाई खाइपाइ आएको जागिर छोड्ने विषय प्रिय लागेन । तर विक्रमलाई आफ्नो यथार्थता कसैले नबुझिदिएकोमा निकै खिन्नता महसुस हुन्थ्यो । यही विषयले परिवारमा खटपट सुरु भयो । तर विक्रमले दृढ सङ्कल्प गरिसकेका थिए । जुनसुकै परिस्थिति सहनसक्ने आत्मविश्वासका साथ शिक्षण पेशा छोडे ।

अब भने उनको निजामती प्रवेशको यात्रा शुरु भयो । परिवारको असन्तुष्टि, भएको जागिर छोडेर आउँदाको चुनौती, तथा आर्थिक सङ्कटका सम्भावित जोखिमलाई सामान्य मानेर लोक सेवाको प्रतिस्पर्धामा होमिन उनी काठमाडौंं खाल्डोमा छिरे । त्यति बेलासम्म उनलाई लोक सवा बारेमा केही थाह थिएन । स्कुल पढ्दा हाजिरी जवाफको तयारी गर्नुबाहेक उनलाई सामान्य ज्ञानको धारण शून्य नै थियो । उनले आफ्ना अग्रजको सल्लाह र सिफारिस बमोजिमका किताबहरू किने । यस पटकको काठमाडौं आगमनमा अर्कै खालको अनुभूति भयो । जताततै लोक सेवाको तयारी कक्षा बारेका प्रचार सामाग्री देखे । अघिल्लो पटकको काडमाडौंं बसाइमा केही पत्तो पाएका थिएनन् । सायद चासो नदिएर होला । ट्युसन कोचिङको लहरबाट उनी पनि प्रभावित भए र बागबजारको सेडेप सेन्टरमा शाखा अधिकृतको ट्युसन सुरु गरे । विज्ञानका सैद्धान्तिक विषय जस्ताको तस्तै घोकेर परीक्षा उत्तीर्ण गर्न बानी परेका उनलाई शाखा अधिकृतको पहिलो पत्र सजिलो नै लाग्यो । बौद्धिक परीक्षण गणितको विद्यार्थी भएको नाताले सजिलो हुनु स्वाभाविक थियो । अंगे्रजी पहिलेदेखि नै मध्यम हो उनको । सामान्य ज्ञान भने नयाँ नै थियो ।

जसोतसो तयारी गर्दै गए कोचिङ सेन्टरमा हुने अभ्यास परीक्षा दिँदै गए । ती परीक्षामा हुने सुधारले उनमा झन् हौसला बढेर आउन थाले । मङ्सिर अन्तिम बुधवार २०७२ को विज्ञापन पनि भयो । विज्ञापनले उनमा एक अनौठो प्रकारको ऊर्जा मिलेजस्तो माने । फारम भरेपछि त नाम निकालैकै अनुभूति गरे । झन् झन् पढाइप्रति रुचि बढ्दै गयो । एक दुई दिन गर्दै परीक्षाको दिन पनि आयो । मध्यवानेश्वरको रत्न राज्य माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा पुगेर परीक्षा पनि दिए । यस पटक उनले परीक्षाको नयाँ अनुभूति गरे । लोक सेवाको सन्दर्भहीन प्रश्न तथा समयको साँघुरो सीमा बीचमा परीक्षा दिन निकै गाह्रो माने । परीक्षा सोचे जस्तो भएन आइक्युप्रतिको ओभर कन्फिडेन्स तथा अंग्रेजीमा गरेको आशा दुवैले परीक्षामा काम गरेन । सामान्य ज्ञानमा त पहिले नै कमजोर थिए । परीक्षा भएको दिनदेखि दुईचार दिन परीक्षाको टीकाटिप्पणीमा नै बित्यो । पास भएपछि मात्र अरू चरणका परीक्षा दिन मिल्ने भएकोले परीक्षाफल नआउँदासम्म अन्योल नै भयो । करिब दुई हप्तामा नतिजा आयो उनी पास भए । र बाँकी दोस्रो चरणका परीक्षा पनि दिए । लेखन सीप विज्ञानको निरस घोेकाईले सकिसकेको थियो । सृजनशीलता हराइसकेको थियो । विज्ञान विषय लिएर पढ्दाको पश्चात्ताप उनले द्वितीय चरणका जाँच दिँदा बल्ल महसुस गरे । परीक्षा सोचेजस्तो भएन । सबै प्रश्न हल गरे पनि आफैलाई नाम निस्कन्छ भन्ने विश्वास लागेन । नतिजा आयो उनको नाम लोक सेवाको विद्युतीय सूचना पाटीमा देखिएन ।

उनले अर्का वर्षको तयारीमा लाग्ने सुर कसे । उनले गल्ती कहाँनेर गरे भने अधिकृत भन्दा मुनिको नायब सुब्बा र खरिदारको विज्ञापनमा फारम भरे पनि न त्यसको तयारी गरे न परीक्षा नै दिए । फेरि अधिकृतको २०७३ को विज्ञापनको प्रतीक्षामा तयारीमा जुटे । यस पटक उनले अझै कम्मर कसेर लागे । आफ्ना प्यारा सन्तान श्रीमती तथा आमा बुबा अनि गाउँघरको मायालाई चटक्कै भुलेर दशैंतिहार जस्तो पर्वमा पनि घर गएनन् । विज्ञापन भयो परीक्षा पनि दिए । प्रथम चरणमा अघिल्लो सालभन्दा राम्रो भयो । द्वितीय चरणको परीक्षा पनि अघिल्लो सालभन्दा सुधार भयो । यो पटक आशावादी भए । परीक्षा दिए पछि एक प्रकारको आत्मविश्वास पालेर बसे । नतिजा आयो उनको नाम लिखितमा निस्क्यो। लोक सेवाप्रतिको विश्वास उनले आफैले महसुस गर्ने गरी झन् प्रगाढ भयो । नाम त निस्क्यो तर त्यसपछिको तेस्रो चरणको परीक्षाको उनले पहिलो पटक फेस गर्नु पर्ने थियो । कम्प्युटरमा राम्रो ज्ञान थिएन । परिणाम स्वरूप उनको सूचना प्रविधि सीप परीक्षण परीक्षा राम्रो भएन । १० पूर्णाङ्कमा जम्मा ४ अङ्क ल्याए । अन्तिम नतिजा आयो उनको नाम ११ नम्बर वैकल्पिकमा अट्यो । नतिजा हेर्दा उनी छाँगाबाट खसेझैँ भए । तर के गर्नु अर्काै विकल्प थिएन फेरि अर्को विज्ञापनको तयारीमा लागे । यस पटक नायव सुब्बा र खरिदारमा पनि परीक्षा दिएका थिए तर नाम कुनैमा पनि आएन । २०७४ को मंसिरमा सदाझैँ विज्ञापन भयो । प्रथम चरणको परीक्षा उत्तीर्ण गरे तर द्वितीय चरणको परीक्षाको नजिकमा उनी अस्पताल नै भर्ना गर्नुपर्ने गरी बिरामी भए । एकातिर बिरामी अर्कोतिर परीक्षाको तनाव उनी निकै कमजोर भए । परीक्षा औपचारिकताको लागि मात्र भयो । अब भने उनी नराम्रोसँग समस्यामा परे । लोक सेवा कतिसम्म भाग्यको खेल रहेछ भन्ने अनुभूति भयो । घरपरिवारसँग पनि झन् तनाव बढ्दै गयो । आर्थिक अभाव छोराछोरीको पढाइलेखाईको दायित्व तथा आफूप्रतिको लघुताभाष र हीनताबोधले उनी निकै गले ।

०७४ को नतिजा आयो उनको कुनै पोस्टमा नाम आएन । उनीप्रति कसैले पनि विश्वास गर्न छोडे । उनी अब अनेक मनोवैज्ञानिक प्रेसरमा परे । उनीसँग अन्य विकल्प नभएका होइनन् फेरि पनि शिक्षण पेसामा फर्कने सबैभन्दा सजिलो विकल्प थियो । तर उसले त्यो विकल्प रोज्न सकिरहेको थिएनन्। फेरि यो लोक सेवाको लत कस्तो भने बरु गाँजा चरेस खानेले खाना छोड्ला तर लोक सेवाको परीक्षाको लत लागेकोले परीक्षा दिन छोड्न सक्दैन । कहिल्यै पनि आशा नमर्ने । त्यसलाई चटक्कै भुलेर अर्को काममा लाग्न नसकिने । एकातिर उनमा आफ्नै खालका दबाब बढ्दै गए भने अर्कोतिर संघीयता व्यवस्थापनको कामको लागि भन्दै २०७५ मा विज्ञापन नखुल्ने भयो । यो घटनाले उनलाई सर्वस्व गुमाए झैँ लाग्यो । तर उनले धैर्यता गुमाएनन् । कालो बादलभित्र आशाको दियो हुन्छ भने झैँ आशा बाँकी नै राखे । सबैबाट विश्वास गुमाइसकेपछि पनि उनको आत्माले हार मानेको थिएन । त्यहीँ वर्ष न्याय क्षेत्रको मात्र विज्ञापन भयो र त्यसको नायव सुब्बा र खरिदारमा फारम भरे खरिदारमा सिफारिस भई जिल्ला अदालत मकवानपुरमा पोस्टिङ भए । सानो सफलता भए पनि यसले उनको जीवनमा सानो आशाको दियो बालिदियो । २०७६ को शाखा अधिकृतको विज्ञापन भयो प्रथम चरणको परीक्षा पनि भयो तर विश्वव्यापी कोरोना महामारीको कारण उनको परीक्षा अन्यौलता परेको छ ।

शाखा अधिकृत भन्दा तलको जागिरमा परीक्षा नै दिन्न भन्ने उच्च महत्त्वाकाङ्क्षा तथा उनको घमण्डी आत्मविश्वास अनि लोक सेवा परीक्षाका भाग्यरूपी अनौठा संयोगको भेट नहुँदा उनले नराम्रो दुःख पाए । अब भने उनी निजामती सेवाको लागि उमेर हद पार हुने जोखिमबाट मुक्त भएका छन् । उनको निजामती सेवाको यात्रा सफल रहोस् शुभकामना ।

 

Tags :
प्रतिक्रिया दिनुहोस