निरपेक्ष मित्रताको आत्मीय साथी ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निरपेक्ष मित्रताको आत्मीय साथी !


२७ भाद्र २०७७, शनिबार


‘कहिले काहीँ केही सम्बन्धहरू भनेर हुँदैन या भन्नुपर्दैन, समयले आफै विकास गर्दछ’।

कुनै पनि मान्छे आफ्नो जीवन सम्पूर्ण जीवनमा बिताउने कोसिस गर्दछ। ऊ चाहन्छ कि ऊ पनि एक पूर्ण मान्छे बन्न र उसलाई उसका मित्र, साथी एवं शुभचिन्तकहरूले सधैँ घेरिराखुन्।अनि उसका मित्र, साथी एवं शुभचिन्तकहरू पनि एकै स्वरमा भनुन् वाह ! वाह ! क्या खुब ! मानौँ कि कुनै सिनेमाको निकै चाखलाग्दो ह्याप्पी ईन्डिङजस्तो।उसले पनि सायद यही सोचेको होला अनि चाहेको होला।

संसारका सबै व्यक्तिहरू प्राय:जसो फरक फरक नै हुन्छन्। व्यक्तिहरूबिचको यो व्यक्तिगत विभिन्नता मानवशास्त्रको एक अद्भुत नियम नै होला। व्यक्तिहरू विविध किसिमले: धर्म, संस्कार अनि संस्कृतिले, क्रियाकलापहरूले, विचार अनि आस्थाले, विविध गति अनि व्यवहार लगायतले फरक फरक नै हुन्छन्।यस्तो विविधतामाझ व्यक्तिगत विभिन्नताका साथसाथै सबैका आ-आफ्नै कथाव्यथाहरु हुन्छन्। कसैका मुठ्ठीभर कथाहरू हुन्छन् त कसैका अञ्जुलीभर। यस्तै उसको पनि आफ्नै विविधता छ।प्रस्तुत छ, उसको त्यो विविधताको च्याप्टर।

ऊ एक सामान्य अनि मध्यम मान्छे हो। ऊ सधैँ विश्वास गर्छ कि, अन्य मानिसहरू जस्तै उसका लागि पनि एक निरपेक्ष मित्रताको आत्मीय साथी बनेको अनि बनाइएको होला। जसलाई ऊ उसको जीवनमा निकै क्लाउड महसुस गराउने व्यक्ति सम्झेर होला ‘क्लाउडमय उडान’ नामले सम्बोधन गर्दछ। ऊ त्यहीँ कुरामा विश्वास राख्छ कि उसका अभिभावकहरूले पनि उसको सपनाको त्यो क्लाउडमय उडान फेला पार्नेछन्, अनि संरक्षण गर्नेछन्। ऊ महसुस गर्दछ कि, उसको क्लाउडमय उडान जसले उसको जीवनमा निकै क्लाउड महसुस गराउला। यसो हुँदै गर्दा ऊ सम्झिन्छ, अनि पर्खिन थाल्छ, निकै बेर कुर्छ, हेर्छ घरीघरी आफ्नो मुहार पुस्तिका/फेसबुकमा कतै सन्देश त आएको छैन भनेर, आफ्नो मोबाइलको ग्यालरीमा हेर्छ कतै तस्बिर भेटिन्छ कि या अन्त कतै। उसलाई नअघाउन्जेल हेरिरहन मन छ कि उसको त्यो अनौठो लेफ्ट हेन्ड साइड (बायाँ) मान्छे अर्थात् उसको त्यो निरपेक्ष मित्रताको आत्मीय साथीलाई।

आफ्नो जीवनका सत्ताइस वसन्त पार गर्दासम्म उसले आफ्नो त्यो विविधताको नपल्टाएको च्याप्टर यसपालि त्यो निरपेक्ष मित्रताको आत्मीय साथीले पल्टाइदियो कि जस्तो लाग्छ उसलाई।खुब सोधनी गर्दा पनि कहिल्यै पनि कुनै प्रतिक्रिया नदेखाउने उसले पहिलोपल्ट भन्यो अर्थात् उसको भनाइको भाव थियो कि, ‘कहिले काहीँ केही सम्बन्धहरू भनेर हुँदैन या भन्नुपर्दैन, समयले आफै विकास गर्दछ’ सायद त्यस्तै भयो कि उसको जीवनमा पनि।

विगतका वर्षहरूसम्म उसले कुनै तरिकाले कहिल्यै पनि यसबारे सोचेनछ अर्थात्, पहिले पनि कैयौँ वसन्त आए होलान् वास्ता गरेनछ, तर यसपालि आएको र आउन लागेको वसन्तको बारेमा अनुभव गर्नु विल्कुल उसका लागि अलग्गै हुनेमा ऊ विश्वस्त देखिन्थ्यो।केही समय अघिको एक आवाजमय गफबाट ऊ एक फरक मित्र प्राप्त गर्न सफल भएछ।अनि, उसैसँग गफ गर्दा खुब यी सबै कुरा आउन थालेछन्। उसले महसुस गर्न थालेछ कि ऊ त्यहीँ मान्छे हो भनेर अनि त्यसैले होला उसले यस विविधताको च्याप्टरलाई ‘निरपेक्ष मित्रताको आत्मीय साथी’ अर्थात् ‘क्लाउडमय उडान’को संज्ञा दिएको।

आजकलको जमानामा फोन नम्बर नभएर के भो त मुहार पुस्तिका/फेसबुकले एक छिनमै सारा विश्व खल्तीमै अटाएको महसुस गराइदिन्छ भन्छन्। नभन्दै उसलाई पनि उसको त्यो क्लाउडमय उडानले केही समय अघि फेला पारेको थियो फेसबुकमा। त्यस क्लाउडमय उडानसँग फेसबुकको कुराकानी हुँदै, भाइबर, मेसेन्जर, अनि फोनमा कुरा हुन थालेको नि निकै समय भइसकेछ उसको। त्यो कुराकानी यत्तिको बारम्बार थियो कि, जुन एक नसाको जस्तै लत बन्ला भनेर उसले कल्पना समेत गरेको थिएन होला सायद। कुनै दिन कुनै प्रसङ्गमा उसको त्यो साथी रिसाउँदा उसले देखाउने प्रतिक्रिया अर्थात् उसको मुख बिगार्ने कलाबाटै सबै कुरा प्रस्ट बुझिन्थ्यो अर्थात् भनिरहनु नपर्ने भैसकेको थियो।

कैयौँ मान्छेहरू भेटिए अनि भेटिन्छन् जीवनमा तर कसैले मनमा दह्रो इम्प्रेसन पार्दा रछन् भन्ने कुरा उसले यसपालि विशेष प्राथमिकताका साथ महसुस गरेर होला आफ्नो मुहार पुस्तिकाको वालमा लेखेको थियो।जसमा थुप्रै व्यक्तिहरूका प्रतिक्रियाहरूसँगै दुवै हातले ताली बजाएको प्रतिक्रिया प्राप्त गर्नु उसका लागि एक छुट्टै आनन्दको अनुभूति पहिलो थियो होला।

यस्तै सिलसिलामा केही समय उसको त्यो आत्मीय साथीसँग कुरा भएनछ।लगत्तै फोनको घण्टी बज्यो। उसलाई को, के, किन, अर्थात् यो घण्टी बज्नु पछाडिको मनसाय बुझ्न कुनै गाह्रो थिएन। तर, यत्ति लामो समयसम्म, किन बजेन ? किन पज भयो ? भन्ने प्रश्न सोध्न चाहेन उसले किनकि, उसको त्यो निरपेक्ष मित्रताको आत्मीय साथीलाई राम्रोसँग थाहा छ कि, ‘एक लेखक सधैँ वास्तविक जीवनको कथाहरू सुन्न सदैव उत्सुक हुन्छ’ अनि त्यो पज भएमा पज भएबमोजिमको शीर्षक पस्किन पनि बेर लाउँदैन छिनमै भनेर किनकि एक वास्तविक लेखक आफ्नो लेख-कथाहरूसँग कहिले सहर त कहिले गाउँमा पुग्छ, कहिले पहाडमा त कहिले हिमालको काखमा। कहिलेकाहीँ पात्रहरूसँगै पाठकलाई सँगसँगै लिएर जानु लेखकको एक मुख्य विशेषता हो। अनि पाठकको सुखदु:खको साथी बनिदिनु अर्को विशेषता।साथै हरपल उनीहरूसँगै हुनु एक छुट्टै आनन्दको अनुभूति। त्यसै कारणले होला लेखन क्षेत्रको एउटा सर्वमान्य सिद्धान्त ‘रिडर रेस्पोन्स थियरी’ मा एक कथनस्वरुप उल्लेख गरिएको कि, ‘लेखिसकेपछि लेखक मर्दछ तर पाठक र समालोचक जन्मिन्छन्’। उसले पनि सायद आफ्नो लेखाइमा त्यस्तै मिठास भेट्दछ होला र पो लेख्न थाल्ने होला।

भनिन्छ, नि ‘यस जीवनमा कुनै समय कसैको लागि त्यहाँ कोही छ’।यो भनाइ यत्तिको सत्य होला भनेर उसले कल्पना पनि गरेको थिएन होला किनकि, एउटा कुरामा उत्सुक नभई चिन्तित थियो ऊ कि, उसको त्यो निरपेक्ष मित्रताको आत्मीय साथी अर्थात् क्लाउडमय उडान साँच्चिकै उड्ला त ? उसका भावनाहरू सबैभन्दा राम्रा थिए।जुन अध्ययन मनन गर्ने एक अनपेक्षित मौका थियो र हुनेछ। के त्यो मौका उसको त्यो क्लाउडमय उडानले पाउला त ? जुन प्रश्नको उत्तर उसको नयाँ अध्यायको मुख्य ढोका बन्द गर्नुअघि अर्थात् उसले उसको कपाल रङ्गाउनू अघिसम्म मात्र प्राप्त हुनेछ किनकि, त्यसपछि त पक्कै पनि उसको एक नयाँ अनि छुट्टै अध्याय सुरु हुन्छ होला।
उसलाई कुराकानीमै अर्थात् गफमै भए पनि विभिन्न ठाँउहरु उकाली ओराली भन्ज्याङ अनि चौतारी घुमाइदिने, मन पर्ने मिठो खानेकुरा खाएको अनुभूति गराइदिने, थकान मेटिने गरी गहिरो निन्द्रा लगाइदिने, अनि साँच्चिकै भन्नुपर्दा उसलाई लेखकभन्दा पनि एक पाठक अनि श्रवणकर्ता बनाइदिने त्यो निरपेक्ष मित्रताको आत्मीय साथी अर्थात् क्लाउडमय उडानको मुहार पुस्तिका (फेसबुक)मा देखिने मुहार होस् या विभिन्न विद्वानहरूले लेखेका पटक-पटक पढ्दा पनि पढेर नथाकिने पुस्तकहरू निकै ऊर्जावान् प्रेरक अनि प्रेमिल लाग्दछन्।यी दुईमध्ये पनि सबैभन्दा बढी प्रेमिल लाग्ने त उसको त्यो उडान भर्न बाँकी रहेको क्लाउडमय उडान नै होला सायद।

ऊ पुस्तक पढ्दा होस् वा लेख्न बस्दा या अन्य केही गर्दा ‘चिया सँगको प्रेम’ अनि ‘आवाजसँगको प्रेम’ लाई सँगै लिएर बस्छ, भन्नुको मतलब ऊ हातमा चियाको कप अनि मनमा त्यो क्लाउडमय उडानको खुब सम्झना।चिया कडा पिउने अनि चियामा गुलियो बढी मन पराउने भएर होला ऊ प्राय: कडा तर मिठो बोल्ने प्रयास गर्दछ।जुन ‘चियाको चुस्किसँगै मिठो सम्झना’ व्यक्त गरेजस्तै लाग्छ होला उसको त्यो क्लाउडमय उडान अर्थात् निरपेक्ष मित्रताको आत्मीय साथीलाई।

यति भनिरहँदा,
आखिर, जे, जुन, जस्तो भए तापनि उसको त्यो क्लाउडमय उडानले छिट्टै उडान भरोस्।यो एक लेखकको कथा जस्तै नलागी वास्तविकता झैँ लागोस् यो प्रस्तुति पढ्दा पढिसकेपछि पाठक वृन्द जोकोहीलाई पनि लाग्न सक्छ कि उसलाई त्यो बृहत् क्लाउडमय उडानको अनुभव गराउने मित्र साँच्चिकै निकै महँगो, क्लाउडमय अनि एक पृथक् मित्र हुनुपर्छ। तपाईँ हामी सबैले उसले भनेको सुन्न पाउँ कि त्यो क्लाउडमय उडान साँच्चिकै उसको जीवनको पहिलो अनि एक निरपेक्ष मित्रताको आत्मीय साथी हो भनेर। ऊ सधैँ हार्दिक धन्यवादका साथ उसको जीवनको त्यो क्लाउडी फिलिङ्ग/अनुभव अनि उसको मनमा भएको प्रेम निष्कासन गर्ने माध्यमको रूपमा देखा परेको त्यो निरपेक्ष मित्रताको आत्मीय साथीको उज्ज्वल भविष्यको कामना गरिरहोस्। हार्दिक हार्दिक शुभकामना छ।

(नोट: माथि उल्लिखित ‘ऊ’ शब्दले लेखकलाई नै सम्बोधन गरेको कुरा जानकारी गराइन्छ। साथै यो च्याप्टर कोही कसैको जीवनमा मेल खाएका संयोग मात्र हुनेछ।) धन्यवाद।

[email protected]

Tags :
प्रतिक्रिया दिनुहोस