कर्मचारीहरूमा आध्यात्मिकताका तत्वहरु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कर्मचारीहरूमा आध्यात्मिकताका तत्वहरु


२७ भाद्र २०७७, शनिबार


योग्यता प्रणालीबाट छनौट भई आएको, गुणस्तरीय जीवनका लागि चाहिने भन्दा न्यून बेतनमा सामान्य दैनिक गुजारा चलाई आएको, जोखिममा काम गरिरहनु परेको, समयमा वृत्ति विकास नभएको तथा जीवन र कामका बिच सन्तुलन गर्न नसकेको यावत समस्याहरू भोगिरहेका कर्मचारीहरूका कथावेथा पनि कम छैनन्। तथापि सधैँ आफ्नै बारेमा वा आफ्नै सेवा सुविधाका बारेमा मात्र चर्चा गरेर मात्र हामीलाई कहाँ सुख मिल्छ र ? कहिलेकाहीँ सार्वभौमसत्ता नागरिकहरूको कुरा पनि हामीले सुन्नुपर्छ र उस्तै परे ईमान्दार कर्मचारीहरूले शिवजीले कालकुट विष पिए पछिको पिडा झैँ सहन गर्ने सहनशीलता र धैर्यता पनि राख्नु पर्दछ ।

राष्ट्र, सरकार तथा जनताको ईमान्दारपूर्वक सेवा गर्छु भनेर शपथ खाएका हामी कर्मचारीहरूलाई सेवाग्राही भई आएका सार्वभौम नागरिकले कसरी हेर्ने र बुझ्ने गरेका छन् त ? भन्ने विषयमा हामीले स्वसमीक्षा गर्ने आँट पनि गर्नुपर्दछ । सरकारी सेवा प्राप्त गर्ने क्रममा अनावश्यक दुःख र हैरानी पाएका जनताले गर्ने गरेको गुनासो झुट्टा मात्रै छ कि केही कुरामा सत्यता पनि छ ? सहानुभूतिको मानकमा आन्तरिक लेखाजोखा गर्नु पनि आवश्यक छ । उनै करदाता नागरिकहरूबाट सामाजिक सञ्जालहरूमा नेपालका कर्मचारीहररुसँग मानवीयता र दया छैन भनी गर्ने गरिएको गुनासो र आक्रोश देख्दा कति कर्मचारीहरूको मन कटक्क खान्छ । लाज र दुःख लाग्छ ।

कुनै विषयमा सेवाप्रवाह तथा कार्यसम्पादनका लागि नीति र कानुनमा स्पष्ट व्यवस्था नहुँदा, प्रक्रियागत कुराहरू पुरा गर्न नसक्दा, सेवाग्राहीलाई सेवाप्राप्त गर्ने तरिका बारे आवश्यक ज्ञान नहुँदा उनीहरूले दुःख पाउँछन् । कहिलेकाहीँ कार्यालयमा सेवा प्राप्तिको मागको दायरा, निर्णयका लागि लाग्ने समय, वित्तीय श्रोत र कर्मचारी सङ्ख्याको सन्तुलन नहुँदा तथा प्रविधिको कारण सेवा ढिलो भएको कुरा राम्रोसँग कन्भिन्सिङ नगर्दा त्यस अवस्थालाई नागरिकहरूले सहजै डाइजेष्ट गर्न नसकेको पाइन्छ । तर सेवा प्राप्तिका लागि सबै विधि र प्रक्रिया पुरा हुँदा तथा कार्यालयमा सेवा प्रदानका लागि उल्लिखित सबै पक्षहरू अनुकूल हुँदाहुँदै पनि सेवाग्राहीले विना कारण अनावश्यक हैरानी र दुःख पाउँदा सेवाग्राही र कार्यालय दुवैलाई तनाव हुन्छ । यस प्रकारको अवस्था रहनुको अनुमान गर्दा त्यसको सोझो प्रश्न क्रमशः उत्तरदायित्वको हिसाबले कार्यालय प्रमुख तथा जिम्मेवारीका हिसाबले सम्बन्धित जिम्मेवार कर्मचारीहरूतर्फ सोझिन्छ ।

आखिर यस्तो दुःखद, अप्रिय र नमिठो अवस्था आउँछ किन ? धेरै कारणहरू हुन सक्छन् । नीति, कानुन, प्रणाली, समन्वय, कार्य वातावरण, तथा श्रोतको अभाव आदि हुन भनेर संरचनागत “मेकानिष्टिक” कारणहरूको फेहरिस्त प्रस्तुत गर्न सकिन्छ । ती त रुपपक्षका कारण हुन्। त्यसका अलावा केही मनोव्यवहारगत तथा संस्कारगत “अर्ग्यानिक” कारणहरू पनि रहन्छन् । सेवा प्रदान गर्ने कर्मचारीहरूको मनमा धर्म वा हरि वा ईश्वर छैनन् भन्ने जनताको जनबोलीमा आंशिक सत्यता देखिन्छ । त्यसैले जानेर वा नजानेर कार्यालय तथा कर्मचारीहरूले विकास गरेको गैर जिम्मेवारीपूर्ण दूषित व्यवहार, कार्यशैली, संस्कार र संस्कृतिले सेवाग्राहीहरूको समस्याप्रतिको संवेदनशीलतामा ह्रास ल्याएको छ।

नागरिकहरूले कर्मचारीहरूलाई गर्ने गरेको सम्मानमा आएको यो क्षयीयकरणको कारण राष्ट्रसेवकहरूमा न्यूनतमरुपमा हुनुपर्ने आध्यात्मिकताको ज्ञान र अभ्यासको कमी त होइन ? भन्ने विषयमा आत्मसमिक्षा र व्यवहारिक चर्चा गर्नु यस लेखको उद्देश्य रहेको छ ।

तथापि सार्वजनिक प्रशासनमा आध्यात्मिकताले कर्मचारीको संगठनको स्वयम् भित्रको आपसी सम्बन्ध तथा नागरिसकहरुसँगको सम्बन्ध दुवै पक्षहरूका बारेमा विश्लेषण गरेको हुन्छ। वस्तुतः सेवाभित्र कर्मचारीहरूका बीच हुने मानवीय सम्बन्धका तत्त्वहरू क्रमशः सद्भावना, प्रेम, करुणा, सहानुभूति, उत्प्रेरणा तथा संगठानात्मक नतिजाका लागि चाहिने एकता आदिका बारेमा विश्लेषण गरिएको पाइन्छ । अर्कोतर्फ सेवाग्राहीहरूको विषयमा गरिने सोच र संस्कारलाई लिन सकिन्छ।

आध्यात्मकिताः
पूर्वीय दर्शन लगायत सबै दर्शनहरूमा उल्लिखित आध्यात्मिकताका बारेमा जान्नुपर्ने विषय विशाल समुन्द्र समान छन् । तर हामीले जतिसुकै अध्ययन गरे पनि केवल केही थोपा बराबर वा बढीमा एक  अम्खोरा बराबर हुनेछ। यस पृष्ठभूमिमा प्राप्त सामान्य ज्ञानका आधारमा यस विषयलाई परिभाषित र व्याख्या गर्ने जमर्को गरिएको छ ।

आध्यात्मिकता भनेको स्वयमले आफ्नो आत्मालाई चिन्नु वा अनुभूति गर्नु हो । विषयवस्तुलाई वा समस्यालाई ‘देह दृष्टिबाट होइन देवदृष्टिबाट’ हेर्नु हो । सबै मानव र प्राणीको आत्ममा परमात्माको बास छ भन्ने कुरालाई आत्मज्ञानद्धारा बुझ्नु, अनुभूति गर्नु, विश्वास गर्नु तथा व्यवहार गर्नु हो ।

आध्यात्मिकता केवल ईश्वरको सेवा र पूजा गर्न मठ मन्दिर तर्फ जानु मात्र होइन उनै ईश्वरका सन्तानहरूको हित र कल्याणका लागि सोच निर्माण, मधुर वाणीको प्रवाह र सद् व्यवहारको प्रदर्शन पनि हो । त्यो भन्दा पनि ठुलो त सबैको सुख र खुसीको सद्भाव राख्नु तथा “परोपकार पुण्याय पापाय परपिडनम”को दिव्य मर्मलाई आत्मसात् गर्नु हो ।

दिव्य चेतना आफूलाई चिन्नु
सरकारी कर्मचारीहरूले सर्वप्रथम आफू र आफ्नो पदको व्यक्तित्वलाई चिन्ने तथा बुझ्ने कोसिस गर्नु पर्दछ । म को हुँ, म यस कार्यालय र यो पदमा किन नियुक्ति भएको हुँ ? मेरो जिम्मेवारी र उत्तरदायित्व के हो ? मैले यो काम गरेबापत कति पारिश्रमिक र सुविधा लिन्छु ? वास्तवमा मलाई कसले र कसरी तलब भत्ता उपलब्ध गराएको छ ? यो कार्यालयको काममा म साधक बनौं कि बाधक ? सरकार, मन्त्रालय वा कार्यालय र कार्यालय प्रमुखको इज्जतसँग मेरो इज्जत जोडिएको छ वा छैन ? सबै सेवाग्राहीले मलाई कुन रुपमा हेर्ने र मूल्याङ्कन गरुन् भन्ने चाहाना ममा छ ? मेरो निर्णयले राष्ट्र, सरकार, संस्था एवम् नागरिकलाई के कति फाइदा पुग्छ वा पुग्दैन ? मुलुकको उन्नति र जनताको खुसीमा मेरो उन्नति र खुसीको परिपूरकता र परिपोषित सम्बन्ध छ वा छैन ? भनी पूर्व आत्म विश्लेषण र समीक्षा गर्नु आवश्यक छ ।

स्वधर्मको चरित्र नै आध्यात्मिकताः
पूर्वीय दर्शनका मूल ग्रन्थहरूमा स्वधर्मलाई ठुलो महत्त्व दिइएको छ । गीताको अध्याय ३ को ३५ औँ श्लोकमा श्रीकृष्णले उल्लेख गर्नु भएको “श्रेयान स्वधर्मो विगुणः परधर्मात स्वनुस्ठितात्, स्वधर्मे निधन श्रेयः परधर्मो भयावहः” कुरालाई सरकारी कर्मचारीहरूले आत्मसात् गरी सेवाका स्वधर्ममा अच्चूयत रही सो अनुसार कार्यशैली र स्वभाव प्रकट गर्नुपर्ने हुन्छ । तर हामीहरूबाट सरकारी कर्मचारीहरूले पालना गर्नुपर्ने राजनैतिक तटस्थता, निर्णय निर्माण र सेवा प्रवाहमा निष्पक्षता, व्यावसायिक आचरण, प्रशासकीय व्यावसायिकता, कार्यदक्षता र मितव्ययिता जस्ता आधारभूत गुण र मूल्य एवम् मान्यतामा ध्यान नदिँदा स्वधर्म पालनामा गिरावट आएको देखिन्छ । स्वतन्त्र र साझा व्यक्तित्व “न्युट्रल कम्पिटेन्ट पर्सानलिटि” तथा अभिभावक बन्नुपर्ने कर्मचारीहरूले सङ्कीर्ण स्वार्थ राखी कुनै एक पार्टी तथा भूगोल /समूहको हितलाई प्राथमिकता र प्रश्रय दिनु स्वधर्म होइन।

कर्म नै पूजाः
स्वधर्म पालनाको अर्को प्रमुख सूचक ‘कर्म’ हो । गीतामा श्रीकृष्ण भगावानले कर्म योगका बारेमा अर्जुनलाई बताउँदा केही नगरी बस्नु ‘अकर्म’, तथा स्वधर्म अनुसार असल काम नगर्नु ‘विकर्म’ भएकाले यी दुवै उचित होइनन् भनी बताउनु भएको छ । बरु प्रतिफलको आशा नगरी आफूलाई तोकिएको कर्म गर्नु नै उचित हुन्छ भन्ने भनाइ रहेको छ । गैह्र कानुनी निजी लाभ नहुने काममा हातै नहाल्ने, काम पन्छाउने, दोष आउनु भन्दा नगरेकै बेस जस्ता मनोविज्ञानले काम गर्ने संस्कार विकास भएसम्म जनसेवा सम्भव छैन । आफूलाई दिएको कर्म अनुसार जुन ठाउँमा काम गरिन्छ सो ठाउँ वा कार्यालयको र स्वयमको इज्जत बढ्ने गरी काम गर्नुपर्दछ । ‘जहाँ रोपिन्छौ त्यहाँ फूल’ भन्ने भनाइलाई आत्मसात् गर्नुपर्दछ।

धर्मका चार पाउको अनुसरणः
धर्मका चार आधारलाई ॐउकार परिवार, हिन्दु, बौद्ध नेपालका जनजातिहरूले मान्ने विविध धर्म सम्प्रदाय, मुस्लिम, इसाई आदिका धर्मग्रन्थहरूको अध्ययन गर्दा वा तिनका बारेमा लेखिएका सामाग्रीहरूको अध्ययन गर्दा मानव धर्मका व्यवहारिक आदर्श वा मानकहरूको व्याख्या गरिएको छ । सबै धर्म सम्प्रदायहरूमा मूलतः सत्य, तप, पवित्रता, दया जस्ता धर्मका चार पाउहरू भनिने अवधारणाका वरिपरि नै तत् तत् धर्म सम्प्रदायका आचरण र मूल्यहरूको व्याख्या गरिएको छ।

सरकारी कर्मचारीहरूले सत्य सोच्ने, बोल्ने र कर्म गर्ने कुरामा कसको विमति रहला र ? मुलुकको कठिन अवस्थामा धैर्यतापूर्वक स्वयमले पनि तपस्वी झैँ दुःख व्यहोरेर जनताको सेवामा तल्लीन कर्मचारीको सम्मान किन नहोला र ? शारीरिक र मानसिक पवित्रता/ शुद्धता कायम गर्दै अनुशासनमा रहने कर्मचारीहरू भई दिँदा सबैलाई राम्रै त होला । कमजोर वर्ग समुदाय अपागं लगायतलाई करुणा भावले हेरी दया र सहानुभूति जनाई जनसेवामा लाग्ने कुराको समर्थन नगर्ने को होला र ? उल्लिखित कुरा भई दिए त कर्मचारीहरूले सेवाग्राहीहरूलाई हेर्ने, बुझ्ने र व्यवहार गर्ने कुरामा सकारात्मकताको ग्राफले उकालो लगाइ हाल्नेछ।

कार्यालय नै मन्दिर र सेवाग्राही नै भगवानः
पूर्वीय दर्शन लगायत सबै धर्म र तिनीहरूभित्र रहेका सम्प्रदायहरूको अधिकांशको मत र व्याख्या के रहेको छ भने प्रत्येक व्यक्तिमा अंश रुपी परमात्माको अंश छ र तिनीहरूसँग व्यवहार गर्दा उचनिच गर्नु, अनावश्यक दुःख दिनु र अवहेलना गर्नु, स्वधर्मको संस्कार बाहेक अधिक नाफा वा लाभ लिनु परमात्माप्रतिको अपमान हो ।

सरकारी कर्मचारीहरूले पनि कार्यालयमा वा अनलाइनमा आएका सेवाग्राहीहरू भगवानका अंश हुन भन्ने सोच राखी कार्य व्यवहार र संस्कारको प्रकट गर्नु रुढीवादी सोच हो र ? प्रत्येक सेवाग्राहीको छातीमा परमात्माले ‘सिसिटिभी’जोडेर पठाएका छन् भन्ने परिकल्पना र अनुभूति रहनु अन्धविश्वास हो र ?

ह्रषीकेश र गुडाकेशको स्वभावः
मानिसहरू आवश्यकताभन्दा बढी इन्द्रिय सुखका लागि सोच्ने र व्यवहार गर्दा अमानवीय हुन पनि सक्छन् भन्ने हिसाबले सबै धर्मशास्त्रहरूका अध्ययन सामाग्रीहरूमा इन्द्रिय नियन्त्रणका कुराहरूलाई पटक पटक दोहोराएको पाइन्छ । गीतामा इन्द्रिय व्यवस्थापक ह्रषीकेश भगवान् कृष्णले अर्जुनलाई मोह आदि नगर्ने विषयमा जोड दिएको पाइन्छ। धेरै निदाउने र काममा आलस्य जनाउने मान्छेले समयमा केही कर्म गर्न सक्दैन भन्ने पनि गुडाकेश अर्जुनको स्वभावको परिचय दिइएको छ । ह्रषिकेश र गुडाकेशको चरित्र र संस्कार आँफुमा विद्यमान रहनु कर्मचारीको लागि झन् राम्रो छ, जसले गर्दा सेवाग्राहीले सहज र समयमा सेवा पाउने वातावरणमा योगदान पुग्दछ ।

दोष आफैमा खोजः
पूर्वीय दर्शनमा कुनै पनि समस्याको दोष बाहिर वा अरूमा नखोज बरु आफे भित्र खोज भन्ने शास्त्रीय मत रहेको छ । नेपालको राजनीति, सार्वजनिक प्रशासन लगायत सार्वजनिक जीवन मै आफ्नो दोष र गल्ती अरूलाई पन्छाउने ‘वकपासिङ’को रोगको संक्रमणः पहिल्यैदेखिको हो जुन संस्कार सरकारी कर्मचारीहरूमा दोब्बर छ । तथापि सरकारी सेवाका दैनिक कार्यहरू र नीति निर्माण लगायतका ठुला ठुला विकास आयोजनाहरूको कार्यसम्पादनमा आएका परिमाणात्मक तथा गुणात्मक कमजोरीहरूको जिम्मेवारी लिने र उत्तरदायित्व ग्रहण गर्ने अभ्यास कम छ । उदाहरणका लागि मेलम्चीको कार्यसम्पादनको गुणस्तरमा मेरो दोष छ भनी आत्मालोचना गर्ने कोही देखिएको छ र ? त्यसैले समस्या आफूभित्रै खोजौँ र अरूमा होइन । ‘शत्रु करार स्वयमलाई गरौँ अरूलाई होइन’ ।

पापको पिताको नाउँ लोभः
हाम्रो पूर्वीय शास्त्रहरूमा भनिएको छ कि मानिसका आवश्यकताहरू पुरा गर्न प्रकृति वा ईश्वर योग्य छन् तर उनीहरूको लोभ पुरा गर्न प्रकृति वा ईश्वर पनि सक्षम छैनन् । वास्तवमा करदाता जनता र सरकारको अवस्था पनि त्यही हो कि उनीहरू कर्मचारीहरूका आवश्यकता पुरा गर्न समेत धौ धौ भएको बेलामा थप लोभ कसरी पुरा गर्न सकुन् त ? नेपालमा उपलब्ध श्रोत र साधनलाई माथि देखि तलसम्मका जिम्मेवार पदाधिकारीहरूले मितव्ययितापूर्वक खर्च गर्ने र सदुपयोग गर्ने हो भने हालको अवस्था पनि त्यति निराशाजनक छैन । बरु दुरुपयोग हुनसक्ने श्रोतलाई रोक्ने हो भने कर्मचारीहरूका थप आवश्यकता पुरा गर्न अनुकूल वातावरण बन्न सक्छ । नागरिकले सेवा प्राप्त गरे बापत राज्यलाई बुझाउनु पर्ने राजस्व र शुल्क बाहेक उनीहरूबाट थप अतिरिक्त पैसा/ घुसको आस गर्नु तथा सरकारी काममा कमिसन आदिको लोभले राज्य वा जनतालाई नोक्सान पूर्याउनु पाप हो । भागवतमा भनिएको छ कि देव/देश/जनताको सेवा गर्नुपर्ने भूमिकामा रहेकाले आफ्नो मात्रै सेवा गरेमा पाप लाग्छ ।

अष्टाङ्गिक मार्ग र पञ्चशीलः
महात्मा गौतम वुद्दले विभिन्न देशानामा व्यक्त गर्नु भएका सद्धधर्मका कुराहरू मध्ये अष्ट मार्ग र पञ्चशील महत्त्वपूर्ण रहेका छन् । सम्यक् ज्ञान देखि लिएर सम्यक् विचार हुँदै वाणी, कर्म, जीवनयापन, प्रयास, चेतना र सम्यक् एकाग्रतालाई जोड दिनु भएको छ । सरकारी कर्मचारीहरू कुनै पनि कुरामा अतिवादी नभै वास्तविकतामा आधारित भएर मध्यम मार्गको अवधारणालाई आत्मसाथ गरी काम र जीवनको सन्तुलन गरी सेवा प्रवाह र विकास व्यवस्थापनमा लाग्नु पर्दछ । पञ्चशीलका विषयहरू क्रमशः अहिंसा, अचौर्य, इन्द्रिय भोग नियन्त्रण, सत्य वचन, मादक पदार्थको सेवनबाट पर रहने जस्ता चरित्रहरूले सुशोभित हुँदा कर्मचारीतन्त्र कस्तो हुने थियो होला ? माथिका गुणहरूको माध्यमबाट “अप्पो दिपो भव” को मान्यतामा रही आफ्नो व्यक्तित्वलाई स्वयमले पनि विकास गर्नु पर्दछ भन्ने कुरा मार्मिक रहेको छ ।

समानुभूतिः
सरकारी कर्मचारीहरू भनेका कुनै विषयहरूका सेवाग्राही समेत हुन् । उनीहरू समेत विभिन्न सेवा सुविधा प्राप्तिका लागि अन्य कार्यालय वा निकायहरूमा जानुपर्ने हुन्छ । यसरी सेवा लिन अन्य निकायमा जाँदा आफूलाई सो कार्यालय वा कर्मचारीहरूबाट के कस्तो सकारात्मक रेसपोन्स वा कार्यशैलीबाट समयमा नै सेवा प्रदान गरे हुने थियो भनी अपेक्षा गरिन्छ ? दुःख र हैरानी पाउँदा कस्तो महसुस हुन्छ ? सो बारे स्वयमबाट परिकल्पित अवस्थालाई स्मरण गरी आफूले पनि कार्यालयमा आएका सेवाग्राहीहरुको समस्या र मनोविज्ञानप्रति समानुभूति दर्साइ सेवा दिने काममा हृदयदेखि लाग्नु पर्दछ । निजामती सेवाका पूर्व प्रशासकहरू र हालका निवृत्त उन्मुख प्रशासकहरूले सेवामा छँदै स्वचालितरुपले कार्यसम्पादन हुने वातावरण र संस्कारको विकास नगरेको र गर्न नचाहेको कारणले पछि सेवाग्राहीकोरुपमा पाउन सक्ने सास्तीलाई बेलैमा बुझी काम गर्नु पनि आवश्यक छ ।

शासक कि सेवक ?
कर्मचारीहरू भनेका शासक हुन कि सेवक ? यो विषयमा लामो बहस गर्न सकिन्छ । तर यहाँ प्रस्तुत गर्न खोजिएको अभिमत के हो भने कर्मचारीहरू राज्यको कानुन “क्वयरसिभ पावर” प्रयोग गरेर शासन गर्ने संयन्त्रका अधिकारी मात्र होइनन् । समाजमा अमनचयन कायम गर्ने कार्यमा कानुनी कार्यवाही अगाडि बढाउनु तथा गलत काम कारबाहीका काममा गरिएको नियमनले अन्ततोगत्वा आम जनसाधारणको लागि सेवा पुर्‍याइ रहेको हुन्छ । तर सेवा प्रदान गर्दा वा आफ्नो अधिकारको प्रयोग गर्दा भने निर्दोषले सजाय पाउने तथा समन्याय नहुने गरी कार्य गर्नु हुँदैन । सेवाग्राहीहरुसँग शासकीय तथा पदीय अहमता, दम्भका भाषा, हाउभाउ तथा शैलीबाट काम गर्नु हुँदैन । भागवतमा भनिएको छ कि “दम्भ/घमण्ड गर्नु ठुलो पाप हो, यो नगर्नु । बरु अरू पापहरूको प्रायश्चित हुन्छ तर दम्भ र घमण्डको पापको प्रायश्चित हुँदैन” । त्यसैले सेवाग्राहीहरूको कार्यालयमा हुने आगमनलाई सम्मान, बसाइलाई सुव्यवस्थित गर्दै काममा सहजीकरण गरी जनताको नजरमा ‘प्यारो डार्लिङ’ बनेर सेवा पूर्याउनु पर्दछ । अर्थ मन्त्रालयको तत्कालीन नेतृत्वले कर कार्यालयको नाम परिवर्तन गरी करदाता सेवा कार्यालय राखेर सेवाग्राही मैत्री संस्थागत प्रबन्ध गरेकोमा धेरैले प्रशंसा गरेका थिए । आजकल सेवाग्राही मैत्री प्रतीक्षालय बनाउने काम पनि भएको देखिन्छ जसलाई विस्तार गर्नु आवश्यक छ ।

सरकारी सेवा दया कि अधिकार ?
भनिन्छ आधारभूत सरकारी सेवा भनेको सूर्यको प्रकाश, खुला स्वच्छ हावा, स्वच्छ पानी जस्तै विना लागतमा जनतालाई सरकारले सहजै र समानरुपमा उपलब्ध गराउनुपर्दछ । हाल मुलुकमा प्राप्त भएको सङ्घीयताको बोनस तल्लो वर्गका नागरिकहरूले प्राप्त गर्नु पर्नेमा कहीँ बिचैमा त हराएन ? भन्ने टिप्पणी हुन थालेको छ। नागरिकहरूले अनिवार्यरुपले पाउनु पर्ने सरकारी सेवाहरू अमुकले ल्याइदिएको हुँ भन्ने प्रचारबाजीमा कर्मचारीहरू लाग्नु हुँदैन । उनीहरूको धर्म त जनताले माग गरेको तथा सरकारले विनियोजन गरिदिएको बजेटको ईमान्दार पूर्वक कार्यान्वयन गर्नु हो । अन्य नियमित सेवाहरू पनि जनताकै लागि हुन् । हामीले वा मैले दिएको भनी गरिने प्रचारले जनतालाई अधिकारको पात्र होइन दयाको पात्रकोरुपमा हेर्दछ । त्यसैले सरकारी स्रोत र साधनलाई समानतापूर्ण र समतायुक्तरुपमा वितरण गर्ने कार्यमा राजनैतिक कार्यकारीहरूलाई सुझाव दिने र कार्यान्वयनका क्रममा समेत कर्मचारीहरूले समानता र समतालाई ध्यान दिनुपर्दछ ।

अर्कोतर्फ सेवाग्राही मध्ये पनि शारीरिक र मानसिक तथा संवेगात्मक दृष्टले कमजोर व्यक्ति, वर्ग र समुदायहरूलाई सरकारी सेवामा अग्राधिकार हुनुपर्छ भन्ने साबिकको मानवतावादी अवधारणा हाल अधिकारवादी अवधाराणाकोरुपमा विकास हुन थालेको छ । मत्स्य न्याय गर्ने परिपाटीलाई अन्त्य गर्नु पनि आध्यात्मिकता हो । आवाज विहीनहरुको अभिभावक बन्नु र उनीहरूप्रति न्यूनतम करुणा राख्नु धर्म हो ।

नैतिकताको आन्तरिकीकरणः
माथि उल्लिखित विभिन्न विषयमा गरिएका चर्चाहरूले अध्यात्मका केही व्यवहारिक सूचकहरूका विषयहरूमा पूनर्ताजगी गर्ने काम गर्ने नै छन् । तथापि ती विषयहरूलाई जबसम्म अन्तस्करणबाटै स्वीकार गरी सोच र व्यवहारमा परिवर्तन गरिँदैन, तबसम्म एकछिन तातेको पानी पुनः सेलाए जस्तै ह्नुन्छ । मोबाइल जस्ता विद्युतीय उपकरणहरूलाई समय समयमा चार्ज/ रिचार्ज गरे जस्तै यस प्रकारका विषयहरूमा सेवाग्राहीहरू र सरोकारवालाहरुसँग प्रत्यक्षता निरन्तर छलफल र आवधिकरुपमा अनुशिक्षण गरे मात्र आध्यात्मिक दर्शनका यी र अन्य विषयहरू सरकारी कर्मचारीहरूमा आन्तरिकीकरण हुन जान्छ ।

सांस्कृतिक बहुलताप्रतिको सम्मानः
सरकारी कर्मचारीहरूले आ-आफ्नो सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायतको धार्मिक र सांस्कृतिक स्वतन्त्रताको उपभोग गर्ने संवैधानिक अधिकार त रहेको छ नै नेपाल धर्म निरपेक्ष राष्ट्रकोरुपमा रहेको संवैधानिक पृष्ठभूमिमा वहुधर्म र संस्कृतिप्रति समान सम्मान प्रकट गर्नु पर्दछ । विभिन्न धर्म सम्प्रदायबाट सरकारी सेवामा प्रवेश गर्नु भएका सबै राष्ट्रसेवकहरुले मानिसलाई आध्यात्मिक तथा नैतिक बनाउने शिक्षा हरेक धर्म सम्प्रदायको परम्परा र शिक्षाबाट हासिल गरेकै हुन्छन् । “क्रस कल्चरल कम्पिटेन्सी” देखाएर सेवा प्रवाहमा आध्यात्मिकताका विषयलाई आत्मसात् गर्नु आजको आवश्यकता हो ।

निष्कर्ष :
अतः सरकारी कर्मचारीहरूका लागि आध्यात्मिकता त्यस्तो सदाचार र नैतिकताको विषय हो जसले उनीहरूको कार्यसम्पादनको शैली र स्वभावलाई स्वमूल्याङ्कन गरी जनताको सेवामा अन्तस्करणदेखि नै लाग्ने आत्मिक प्रेरणा प्रदान गर्दछ । अर्कोतर्फ कर्मचारीमा थप सकारात्मक सोच, सम्यकपूर्ण दैनिक जीवन शैली, कार्य व्यवहार र बानीको विकास गर्ने काममा योगदान गर्न सक्ने शिक्षा र सचेतनाका कार्यक्रमहरूलाई निरन्तर र दिगोरुपमा लागु गर्न सरकार र सम्बन्धित निकायहरूले ध्यान दिनुपर्दछ । यस प्रकारको नियमित अभिमुखीकरणबाट सेवा प्रवाहका क्रममा देखिएका केही नकारात्मक प्रवृत्ति र संस्कारमा सकारात्मक परिवर्तन हुन गई जनता र कर्मचारीहरूबिच यदाकदा देखिने पारस्परिक अविश्वास र असम्वेदनशीलताको न्यूनता हुने तथा थप हार्दिकता बढ्ने देखिन्छ ।

नियमित प्रकारको सकारात्मक व्यवहार र संस्कारबाटै उन्नत कार्य संस्कृतिको विकास हुने तथा कर्मचारी, सरकार र राज्यप्रति जनताको विश्वासलाई अझ दरिलो र दिगो बनाउन योगदान पुग्ने देखिन्छ । यी कुराहरूले निजामती सेवाको यो वर्षको नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ पुरा गर्न योगदान पुर्‍याउने देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस