अब ट्रेड युनियनले आफ्नो भूमिका देखाउँछ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अब ट्रेड युनियनले आफ्नो भूमिका देखाउँछ


२२ भाद्र २०७७, सोमबार


आज निजामती सेवा दिवस । दिवसकै सन्दर्भ पारेर निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलसँग निजामतीमा ट्रेड युनियन र यसको भूमिकालगायत विषयमा कुराकानी गरेका छौँ ।

निजामतीमा ट्रेड युनियनको भूमिका के का लागि राखियो र त्यो इमानदारीपूर्वकता निर्वाह गर्न सकेको छ ?
राजनीतिक परिवर्तनसँगै कर्मचारीहरूलाई सङ्गठित गर्न, कर्मचारीहरूको गुनासाहरूलाई सम्बोधन गराउन र कार्य थलोको सुरक्षा, सामाजिक सुरक्षा, सामाजिक न्याएको आन्दोलन तथा वृत्ति विकासका सवालहरूलाई लिएर ट्रेड युनियनको आवश्यकता पर्छ । जहाँ विभेदहरू हुन्छ, त्यहाँ सशक्त ट्रेड युनियन आवश्यक हुन्छ ।

जहाँसम्म भूमिकाको कुरा छ, कतिपय सवालहरूमा हाम्रो आन्दोलन अलि बढी सक्रिय हुँदा अराजकताको मोडतिर गयो भनियो । त्यसले कर्मचारीलाई उत्साहित नै बनाएको भए पनि अराजकताको विरुद्ध अराजकता जस्तै पनि थियो । यद्यपि हाम्रो आफ्नै कार्यविधि, नियम बनाउने कुरामा कमजोर भयौँ । बनाउन सकेनौँ, सशक्त ढङ्गले कर्मचारीको आवाज उठाउन पनि सकेनौ र दुई–दुई वर्षमा सौदा बाजी गर्नुपर्ने काम पनि त्यति गर्न सकेनौँ । यद्यपि मागहरू पेस गर्‍यौँ तर ती मागहरू सामाजिक सौदावाजीका हिसाबले सम्बोधन गर्नको लागि सरकारसँग टेबुलमा बसेर वार्ता गर्ने काम गर्न सकेनौँ ।

खास गरी कर्मचारी समायोजनदेखि संघीय निजामती सेवा ऐन निर्माण प्रक्रियासम्मै ट्रेड युनियनले आफ्नो भूमिका निर्वाह गर्दै आएको छ । समायोजन ऐनका सन्दर्भमा पनि कर्मचारीका वृत्ति विकासका कुराहरूमा हामीले जोडदार रूपमा उठायौँ । त्यसै गरी संघीय निजामती सेवा ऐनका विषयमा त सांसदबाट पास भएको ऐन अमान्य हुने भनेर घोषणा नै गर्‍यौँ र सम्माननीय प्रधानमन्त्रीज्यूले नै कर्मचारीका मुद्धाहरु सम्बोधन हुन्छन्, आन्दोलन गर्नु पर्दैन भनेपछि हामीले आन्दोलनका कार्यक्रम नै परिवर्तन गर्‍यौँ । त्यसैले हिजोका दिनमा के कति गर्न सकियो सकिएन त्यो आफ्नो ठाउँमा छ तर अबका दिनमा ट्रेड युनियन आफ्नो भूमिका देखाउँछ, त्यो तपाईँले महसुस गर्न पाउनुहुन्छ ।

नीति निर्माण तहमा दिनु पर्ने रचनात्मक सुधार दिन छोडेर काज–सरुवा र विदेश भ्रमणमै बढी केन्द्रित भएको देखिन्छ, यस्ता कामले त कसरी ट्रेड युनियनको औचित्यता पुष्टि गर्नुहुन्छ ?
आधिकारिक ट्रेड युनियनमा कसले त्यस्तो काम गर्‍यो त्यो मलाई थाहा छैन । म जति बेलादेखि कार्यवाहक अध्यक्ष भएँ वा उपाध्यक्ष नै थिएँ, मैले सरुवा, काज सरुवाका लागि या विदेश भ्रमणका लागि कहीँ कसैलाई भनेको छैन । म नेपाल सरकारको शाखा अधिकृत हो तर म सँग अहिले पनि अफिसियल पासपोर्ट छैन ।

तर केही साथीहरू पटक पटक गइरहेको हिसाबले तपाईँले भन्नुभयो होला तर म चाहिँ गएको छैन । कोही ट्रेड युनियनको हिसाबले, कोही नेतालाई भनाएर कोही प्रशासकको नजिक भएर त्यस्तो काम गरे होलान् र तपाईँले भनेको प्रश्न हो तर आधिकारिक ट्रेड युनियनले त्यो काम गर्दैन ।

कोरोना कहरमा तपाईँहरूको तर्फबाट नागरिक र सरकारलाई के कस्ता सहयोग गर्नुभयो ?
नागरिक समाजसँग आह्वान गर्‍यौ । सरकार र डब्लुएफटिओले जारी गरेका प्रोटोकललाई पालना गर्न र गराउन आह्वान गर्‍यौ । फ्रन्टलाईनमा बसेर काम गर्ने निकायका कर्मचारीहरूको बीमा गरिदिने, पर्याप्त रूपमा पीपीई उपलब्ध गराउन सरकारसँग आह्वान गर्‍यौ, जस्तोसुकै जटिल अवस्थामा पनि आफू सुरक्षित हुँदै सेवा गर्न पनि कर्मचारी र सरकारसँग आह्वान गर्‍यौ ।

त्यस्तै सरकारले सबैतिरबाट सहयोग जुटाइरहेका बेला हामीले पनि हाम्रो तर्फबाट सरकारलाई १५ लाख आर्थिक सहयोग गर्‍यौ, चार वटै राष्ट्रिय स्तरका ट्रेड युनियनलाई पनि पैसा जम्मा गर्न आह्वान गर्‍यौँ । थोरबहुत भए पनि त्यसले राहत पुग्छ भन्ने हामीलाई लाग्छ ।

अहिलेको यस्तो जटिल परिस्थितिमा पनि कर्मचारीहरूले ज्यान जोखिममा राखेर काम गरिरहेका छन् । हाम्रा स्वास्थ्यकर्मीहरू जो आफै कोरोना सङ्क्रमित भई राखेका छन्, उनीहरूले त्यही बसेर सङ्क्रमितलाई उपचार गरिरहेका छन् । अत्यावश्यकीय सेवाका निकायहरू सधैँ खुला रहे । ती निकायमा काम गर्ने कर्मचारीलाई जोखिम मोलेरै कार्यालयमा आई सेवा प्रदान गरे । यसर्थमा पनि भन्न सकिन्छ कि निजामती कर्मचारीहरूले जस्तो सुकै परिस्थितिमा पनि आफ्नो काम गरिरहेका छन् ।

ट्रेड युनियनको सवालमा तपाईँले हामी कर्मचारीको हितका लागि भनेर भन्नुहुन्छ, सिङ्गो निजामती कर्मचारीको वर्तमान र भविष्य जोडिएको ऐनका बारेमा खै त दबाब सिर्जना गरेको ?
म यो विषयमा केही स्पष्ट पार्न चाहन्छु । जतिखेर सामान्य प्रशासन मन्त्रालयले ठुलो खर्च गरेर संघीय निजामती सेवा ऐनको ड्राफ्ट कुनै कन्सल्टेन्सीलाई बनाउन दियो, त्यसमा निजामती सेवा ऐनका केही कुराहरू पनि कपि पेष्ट गरियो र कर्मचारीका हितसँग जोडिएका कुराहरूलाई कट गरियो । कपी पेष्ट र कट गर्ने नीतिबाट संघीय निजामती सेवा ऐन आयो र सुरुका दिनमा थोरै छलफल भएकोमा केही सुझाव पनि दियौँ ।

ट्रेड युनियनको तर्फबाट मेरै नेतृत्वमा कार्यदल बनाइएको थियो र हामीले ट्रेड युनियनलगायत कर्मचारीका हकअधिकारहरुका विषयमा सुझाव पनि दिएका थियौँ । ती सुझावहरू सम्बोधन गर्छौ भनियो तर हाम्रा विषय सम्बोधन नगरी तत्कालीन मन्त्री रेखा शर्माले ऐन अगाडी बढाउन खोज्दा हामीले रोक्यौँ । त्यसपछि लालबाबु पण्डित आउनुभयो र उहाँले एक वर्षसम्म ऐन थन्क्याएर राख्नुभयो ।

मन्त्रिपरिषद्मा पुरानै ऐन जस्ताको त्यस्तै पठाएको थाहा पाएपछि हामीले प्रधानमन्त्रीलाई नै ऐनमा उल्लेखित व्यवस्थाहरू बारे स्पष्ट आफ्ना कुराहरू राख्यौँ । भेटेर कुरा राख्यौँ । उहाँले ट्रेड युनियन अधिकारी सुनिश्चित गर्दै कर्मचारीको वृत्ति विकासका कुराहरूलाई समावेश गरी ऐन अगाडी बढाउन भन्नुभएको थियो । त्यसपछि ट्रेड युनियनका कुराहरू समावेश हुन्छन् भनियो । तर पछि समिति पूर्वाग्रही ढङ्गले अघि बढ्यो । राज्य व्यवस्था तथा सुशासन समितिबाट जुन ढङ्गले ऐन पास गरेर संसद्को मूल समितिमा पठाउने काम भयो त्यसपछि कर्मचारीको वृत्ति विकासलगायत मुख्य मुद्धाहरुलाई लिएर प्रधानमन्त्रीलाई नै भेटेर आफ्ना विषयहरू राख्यौँ । प्रधानमन्त्रीज्यूले नै ट्रेड युनियनहरूका सवालहरू सम्बोधन गरेर मात्रै अगाडी बढ्छौ भनेपछि हामी अहिले चुप बसेको अवस्था हो ।

हरेक वर्ष आयोजना गरिने निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत गर्ने गरिँदै आएको छ । तपाईँहरू आवाजविहिनहरुको आवाज उठाउँछौँ भन्नुहुन्छ, जहिल्यै सिंहदरबार संयन्त्रका झुण्डमुण्डहरु मात्रै पुरस्कृत भइरहँदा खै त दुर्गमका कर्मचारी र पुरस्कृत हुनै पर्ने कर्मचारीको पक्षमा आवाज उठाएको ?

केही दिन अघि मात्रै बसेको निजामती सेवा मूल समारोह समितिको बैठकमा मुख्यसचिव र सचिवज्यूसँग प्रष्ट रूपमा दुर्गम क्षेत्रमा रही काम गर्ने कर्मचारीलाई पुरस्कृत गरौँ भन्ने कुरा राखेको छु । हिजोका दिनमा पुरस्कृत गरिएकालाई दण्डित गर्नुपर्ने अवस्था आयो, अब पुरस्कार गर्दा छनौट गरेर गरौँ भनेको छु । यद्यपि त्यो ठाउँमा ट्रेड युनियन छैन, तर गत विगत जस्तै यो पटक हुँदैन भन्ने आशावादी छौँ ।

‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ भन्ने नारा दिएको छ सरकारले यसलाई सार्थक बनाउन तपाईँहरूको भूमिका के कस्तो रहन्छ ?
कर्मचारीहरूमा चेतना जगाउन जरुरी छ । सुशासनका विषयमा व्यापक बहस गर्न जरुरी छ । कर्मचारीमाथि जुन किसिमको विभेद भइरहेको छ, त्यस विषयमा हाम्रो आन्दोलनलाई सशक्त बनाउने, आधिकारिक ट्रेड युनियनको निर्वाचनको तयारी गर्दै छौँ । अब कर्मचारीको कार्यसम्पादन गर्दा काम र कार्यालयको प्रगतिका आधारमा गरिनु पर्छ भन्ने आवाज रहेको छ । सरुवालाई वैज्ञानिक र स्वचालित बनाउन जोड दिएका छौँ । कर्मचारी कल्याण कोष स्थापित गर्ने र कर्मचारीका सामान्य समस्याहरू व्यवस्थापन गर्नतिर लागेका छौँ । निजामती सेवालाई राजनीतिमा प्रतिबद्ध र सेवा प्रवाहमा तटस्थ बनाउने भन्ने दिशामा हाम्रो आन्दोलन केन्द्रित गर्छौ । प्रभावकारी सेवा प्रवाह गर्न हाम्रो संयन्त्र भरपुर रूपमा परिचालन गर्छौ । सेवा प्रवाहमा जागरूक बनाउने, कर्तव्य पुरा गर्ने कुराहरूमा प्रतिबद्ध र जिम्मेवार बनाउने र ट्रेड युनियनहरूमा सशक्त बनाउँदै अघि बढाउने कुरामा जागरूक गराउँदै छौँ ।

Tags :
प्रतिक्रिया दिनुहोस