म एक सिपाही ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म एक सिपाही !


२२ भाद्र २०७७, सोमबार


हर क्षेत्रका कुण्ठा र आक्रोशहरू पोख्ने
एक अचानो मानेर,
तिमी मै माथि निरन्तर प्रहार गर्दै गर,
म सहँदै जानेछु ।
तिमी मलाई गुलेलीको तारो बनाऊ,
ढुङ्गाको निशाना लगाऊ,
म तिम्रै टोलमा तिम्रै रक्षाको निम्ति,
रातोदिन जागै रहनेछु ।

तिम्रा गल्ली र बस्तीहरूमा,
तिम्रा हर गोरेटो र चोकहरूमा,
जहाँ तिमीलाई अप्ठ्यारो पर्छ,
जब तिमीलाई सङ्कट पर्छ, दुर्घटना हुन्छ,
बेवारिस र बेसहारा भई तिमी छट्पटिंदा,
म तिम्रो सहारा बनेर,
तिमीलाई उठाउन टुप्लुक्क पुग्नेछु,
चर्को घाम, आँधी, बेहरि केही नभनी,
म कवच बनेर
हमेसा तिम्रो लागि खट्नेछु, खटिरहनेछु ।

जब मानव वस्तिलाई पहिरोले बढार्छ,
जब महामारीले देशमा सन्त्रास छाउँछ,
जब भूकम्प र बिपदले तहस नहस पार्छ,
तिमीलाई आइपर्ने हरेक विपत्ति र दुर्दशाहरूमा
तिमीलाई उद्धार गर्न,
तिम्रा हरेक असहज परिस्थितिमा,
आफ्नो ज्यानको प्रवाह नगरी तिमीलाई बचाउन,
म हरपल तिम्रा सामु उपस्थित हुनेछु ।

कुनै द्वेष, प्रतिशोध र वैरभाव नराखी,
म तिम्रै लागि लडिरहनेछु,
भोक, प्यास, निद्रा र थकाई केही नभनी,
परिवार, आफन्त र चाँडपर्वहरु केही नभनेर,
हो तिमीलाई निर्धक्क निदाउन दिन
म रातभर जागै रहनेछु ।

सत्य, सेवा र सुरक्षाको खातिर,
चन्द्र सूर्य छातीमा टाँसी
म सधैँ समर्पित हुनेछु ,
म त राष्ट्रसेवक र तिम्रो सेवक बनेर,
एक मुठी सास रहुन्जेल
म तिम्रो लागि धड्किरहनेछु,
हरपल हर क्षण तिम्रै लागि लडिरहनेछु ।

चाहे सत्ताको होडमा मलाई अचानो बनाऊ,
चाहे कुनै धर्म वा संस्कारको
खोल ओढेर मकैको घुन बनाऊ,
तिमी शक्तिहीन भई छटपटिएको बखत
र तिम्रा हरेक व्यवधानहरूमा
तिम्रा निर्मम व्यवहार सबै भुलेर,
तिमीलाई सहयोग र सहजीकरण गर्न
टुप्लुक्क आउनेछु ।

म तिम्रो रक्षार्थ,
कर्तव्यपरायणको शपथ खाई युद्ध मैदानमा,
अहोरात्र खटिएको एक सेवक,
कानुनको सच्चा पहरेदार,
केवल तिम्रो रक्षक अनि साथी,
म देशको एक कर्मठ सिपाही ।

Tags :
प्रतिक्रिया दिनुहोस