असल नीति राम्रो नियत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

असल नीति राम्रो नियत


२२ भाद्र २०७७, सोमबार


निजामती सेवा दिवस, बाइस गते भदौ।
इमानदार भई सेवा दिने, सेवकलाई जदौ।
काम गर्ने काममा व्यस्त, थकित गलित।
हुन्न हजुर वृत्ति विकास, जागिर फलित।

कामचोर भजन भक्ति, शक्ति केन्द्र पुगी।
मौकामा चौका हान्छ, अवसरहरू ढुकी।
निजामती ट्रेड युनियन, अचम्मको बुटी।
उपाय खोज सुधारको, आपसमा जुटी।

लोकसेवा योग्य व्यक्ति, छानेर पठाउँछ।
सुरु हुन्छ सोर्सफोर्स, मनपरी खटाउँछ।
अपायकको जागिरले, खर्च चल्न गाह्रै।
पहुँचवाला पुरस्कार, पीडा हुन्छ साह्रै।

दरबन्दी रिक्त हुन्छन्, मोफसलको चित्र।
अटेसमटेस कर्मचारी, सिंहदरबार भित्र।
फुर्सदिला फेसबुके, सुशासनको बहस।
निजामती कानुन बन्न, संसदमा सकस।

निजामती सेवकलाई, भ्रष्ट ठान्छ सारा।
राणा देखि गणतन्त्र, काम चलाऊ पारा।
असल नीति राम्रो नियत, समयको माग।
करारले छाइ सक्यो, अधिकारिक जाग।

निजामती सेवा नै हो, ऐना विकासको।
निसेनिले खोल्नुपर्छ, बाटो निकासको।
राम्रोलाई मिठाई देऊ, नराम्रोलाई दण्ड।
तीन तहको निजामती, रहोस् अखण्ड।

Tags :
प्रतिक्रिया दिनुहोस