बा ! जमाना बदलिएर कहाँ पुगिसक्यो ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बा ! जमाना बदलिएर कहाँ पुगिसक्यो ?


२० भाद्र २०७७, शनिबार


सदरमुकाम बाट घर फर्किँदै गर्दा चार, पाँच घण्टाको हिँडाई पछि बल्ल एउटा सानो होटेल आइपुग्यो । सबैलाई भोकले सताएको थियो । के खाने भन्ने छलफल भयो । जे छिटो पाक्छ त्यही खाने, तर बा के खाने ? जब घर बाहिर गएर खाने कुरा आउँथ्यो समस्या यही हुन्थ्यो ।

बा ! के खाने ?

बा’को जवाफ आयो ‘केही पनि नखाने ।’

किन ? कसरी पुगिन्छ त घर ?

‘नपुगेर हुन्छ, पुगिन्छ नि’ बा’को जवाफ आयो ।

बा !हामीलाई मात्र छुट्टै पकाउन लगाउने हो, अलिकति खाऊँ केही हुँदैन ।

‘कस्तो ठाउँ हो ? कासको घर ? कस्ता मान्छेले पकाउँछन्, हेर ! त्यहाँ वरिपरि मान्छे झुम्मिएका, यस्तो ठाउँमा खान्छु ? कर नगर मलाई ।’

अब भो ! लु नखानु, जमाना कहाँ बाट कहाँ पुगी सक्यो तपाई होटेलको खाजा नखाने ? यसरी चल्छ सधैँ ?

‘तेरो जमाना जाँदै गरोस्, के खान्छौ तिमीहरू छिटो गर । घरबाट ल्याएको सातु छन् म त्यही खान्छु ।’

हामी लाई चाउचाउको सुप तयार भयो । बाले सातु खानुभयो हामीले चाउचाउ खायौँ ।

केही तातो खाने कि ?

‘भयो अब घर पुगेर खाने’ बा’को जवाफ आयो ।

पुराना बुढाहरूसँग नसकिने अबको जमानामा पनि यस्तो सकिन्छ ? पहिलेको जमाना हो र ? पहिलो पल्ट बालाई आफू जान्ने हुँदै मैले त्यसरी बोलेँ । त्यसपछि हिडयौँ त्यहाँ बाट हामी ।

जमाना बदलिएको हो, बा हाम्रो आनीबानी, प्रविधिको विकाससँगै हाम्रा खानेकुराका परिकारमा पनि परिवर्तन भए । हाम्रा परम्परागत खाना, खाजाका परिकार नै परिवर्तन हुन थाले । चाम्रे फ्राई राइस भयो, कोदो, फापर, गहुँका रोटी पिज्जा, बर्गरमा परिवर्तन भए । चिसो भनेकै कोकाकोला भन्ने हामीले परम्परागत महीको स्वाद, यसले हाम्रो स्वास्थ्यमा हुने फाइदाबारे कसले बुझाउने । कोक नपाए डीउ तर त्यसको विकल्प मही कहिल्यै हुँदैन । होटेलमा कोक को बोतलमा रमाउने डेरीमा गएर महीको चुस्की लिँदै गफिने हामी युवा कति छौँ ? स्वाद, रङ र स्वरूप बदलिएला तर त्यसले हाम्रो स्वास्थ्यमा पार्ने दीर्घकालीन असरको बारेमा ख्याल कसले राख्ने ? बाहिरको अस्वस्थकर खानाबाट स्वास्थ्यमा पर्ने प्रतिकुल असर को बारेमा जनचेतना जगाउने कसले ? हाम्रा स्कुलका स्वास्थ्य पढाउने शिक्षक/शिक्षिका नै टिफिनमा चाउचाउको सुप, चाउमिन खाजा अर्डर गर्नुहुन्छ । नेपाल सरकारले सरकारी विद्यालयमा सञ्चालन गरेको दिवा खाजा कार्यक्रममा समेत चाउचाउ, बिस्कुट वितरण गरेको समाचारहरू आएका थिए ।

कुनै होटेलमा बसेर पिज्जा, बर्गर, म.म, चाउमिन खाएको तस्बिर सोसल मिडियामा राख्दा गौरव महसुस गर्ने हामी, घरमा बनेका खानाका परिकार राख्न लजाउने, हिचकिचाउने गछौँ । घरमा पाहुना आउँदा खाजामा चाउचाउ उमालेर सुप दिने हाम्रो संस्कार बस्या । अझ पाहुनाले घरमा बनेको कोदो, फापर, गहुँको रोटी, मकै, भटमास खाजा दियो भने अपमानित महसुस गर्न बेर छैन । पछिल्लो समय सहरी क्षेत्रमा होटेलमा गएर ढिँडो खाएको फोटो हाल्ने खुब फेसन चलेको छ । तर त्यही कुरा घरमा पकाएको फोटो राख्न लजाउने, हिचकिचाउने किन ? निजी विद्यालयका विद्यार्थीहरूलाई टिफिन पठाउने चलन छ । तर त्यो खाजा हैन टिफिन हो । त्यसमा अधिकांश चाउचाउ चिउरा, भुजिया चिउरा, चिप्स वा क्यान्टिन को चाउमिन, म.म हुन्छ । घरमा बनाएको ताजा खाजा खान पाउने भाग्यमानी विद्यार्थी निकै कम हुन्छन् ।

अहिलेको जमनामा पनि यात्रा गर्दा कोही घरको खाजा बोकेर हिँड्छ ? सार्वजनिक यातायातमा कतै लामो यात्रा गर्दा कोही खाजा बोकेर हिँड्यो भने त्यो लोभि, पुरानो सोचको, आर्थिक अवस्था कमजोर भएको वा दीर्घ रोगीको पहिचान हो भन्ने हाम्रो मानसिकता बसेको छ । मुखै फोरेर नभने पनि आफैँले ल्याएको खाजा खाने यात्रुमा सबैको नजर पर्छ । एक पटक लामो यात्राको क्रममा खाजा खाने बेला बस रोकियो । सबै जना खाजा खाएर बसमा चढे । सँगै सिटमा बसेर गफिँदै आएका दाइ आफैँले ल्याएको रोटी तरकारी खादै हुनुहुँदो रहेछ । मलाई देख्ने बित्तिकै ‘भाइ, रोगले च्याप्यो, पाँच वर्ष भयो बाहिरको नखाएको, डाक्टरले नखानु भनेको छ । आफूले खाजा बोकेर ल्याउनुको कारण दीर्घ रोग हो’, उहाँले कारण पेस गर्नु भयो । यो कुरा मलाई सुनाउनुपर्ने कारण नै के थियो ? उहाँमा हीनताबोध ?

विश्व नै अहिले कोभिड–१९ को महामारीले आक्रान्त छ । रोगले मानव जातिको अस्तित्व माथि धावा बोल्दै अगाडि बढेको छ । पृथ्वी पुरै सखाप पार्ने अत्याधुनिक हतियारको आविष्कार गरेका विश्वका महाशक्ति राष्ट्रले पनि यति सानो भाइरस रोक्न औषधि पत्ता लगाउन सकेका छैनन् । अझै कति समय लाग्ने हो । विश्व ले नै अहिले मानव जातिको रक्षाको लागि मानिसको आनिवानि सुधार्न अपिल गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन ,विभिन्न स्वास्थ्य क्षेत्रका विज्ञ, नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि दैनिकरूपमा आनिवानि सुधार भन्दै अपिल गरिरहेको छ । बाहिरको खानेकुरा नखाऔँ, सफा, ताजा खानेकुरा खाऔँ । हामीले हाम्रो परम्परागत आनिवानि लाई यही अवसरमा पुन: ल्याउन जरुरी छ ।

जमाना बदलिएर समय परिवर्तनसँगै आफ्ना आनीबानी परिवर्तन गर्दै हिँडेको आधुनिक जमनाको नाति म आफ्नो ज्यान बचाउन अहिले हजुरबुवाकै पालाको नियम मान्न बाध्य छु । अफिस जाँदा तातो पानी बोक्छु, दिउँसो दुई चम्चा सातु गिलासमा घोल्दै गर्दा सम्झन्छु बा ! जमाना बदलिएर काहीँ पुगेको रहेनछ ।

रिजाल हाल रेडियो नेपालमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस