रिक्त पदहरूमा प्रदेश लोक सेवा आयोगमार्फत पदपूर्ति गर्ने प्रदेश नं ५ सरकारको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रिक्त पदहरूमा प्रदेश लोक सेवा आयोगमार्फत पदपूर्ति गर्ने प्रदेश नं ५ सरकारको निर्णय


१८ भाद्र २०७७, बिहिबार


काठमाडौँ । प्रदेश ५ सरकारले रिक्त पदहरूमा प्रदेश लोक सेवा आयोगमार्फत पदपूर्ति गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबार(आज)बसेको बैठकले प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य र इन्जिनियरिङ सेवाका रिक्त पदमा खुल्ला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्न लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरेको हो ।

बैठकले स्वास्थ्य सेवातर्फ मेडिकल अधिकृत आठौँ ४९, नर्सिङ अधिकृत सातौँ ११, फिजिओथेरापिस्ट सातौँ पाँच र मेडिकल ल्याब टेक्नोलोजी सात जना गरी ७२ जना रहेका छन् भने इञ्जिनीयरिङतर्फ हाइवे सिभिल १८, जनरल सिभिल पाँच, सिँचाइ आठ, सेनेटरी एक, बिल्डिङ आर्किटेक्टर १३, मेकानिकल पाँच, इन्जिनियर सिभिल दुई र हाइड्रो जिओलोजिस्ट एक जना गरी ५३ जना रहेका छन् ।

प्रदेश निजामती सेवा ऐन बनी नसकेको, प्रदेशमा समायोजन भई आएका कर्मचारीहरू न्यून रहेको र समायोजित कर्मचारीहरूमध्ये केहीको अवकाशसमेत भई अति आवश्यक जनशक्तिको अभाव हुँदा प्रदेशको विकास निर्माण र सेवा प्रवाह अवरुद्ध भएकोले तत्काल पदपूर्ति नगरी नहुने भन्दै आयोग खोल्ने निर्णय गरेको हो ।

सरकारले तत्काल निजामती सेवा ऐन, २०४९ र नियमावली २०५० को अधीनमा रही राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका प्राविधिक पद, सेवा, समूह, उपसमूह र स्वास्थ्य सेवातर्फ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली, २०५५ ले व्यवस्था गरे अनुरूप नेपाल स्वास्थ्य सेवा सातौँ र आठौँ तहका तत् तत् सेवा, समूह, उपसमूहका रिक्त पदहरूमा प्रदेश लोक सेवा आयोगमार्फत रिक्त दरबन्दीमा स्थायी पदपूर्तिका लागि माग गरी पठाउने निर्णय भएको छ ।

प्रदेश निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा र इन्जिनियरिङ सेवाका संलग्न विवरण बमोजिमको रिक्त पदहरू मध्ये निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० तथा नपाल स्वास्थ्य ऐन, २०५३ र नियमावली, २०५५ बमोजिम प्रतिशत निर्धारण गरी खुलातर्फ कायम हुने तत्तत् सेवा समूहका सातौँ–आठौँ तहका पदहरूमा प्रदेशमा समायोजन भएका समान तहका कर्मचारीहरू सरह तलब, भत्ता तथा बिदा सूविधा पाउने र अन्य सेवा सर्त र सुविधा प्रदेश कानून बमोजिम हुने गरी खुल्ला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगमा माग गरी पठाउन स्वीकृति प्रदान गरिएको छ ।

यसरी विज्ञापन गरिने पदहरूको सम्बन्धमा पदपूर्तिको तरीका निजामती सेवा ऐन, २०४९ र नियमावली २०५० र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली, २०५५ ले व्यवस्था गरेअनुरूप प्रतिशत निर्धारण गरी खुला विज्ञापन गर्ने र उल्लिखित व्यवस्था अनुसार आन्तरिक प्रतियोगिता र बढुवा हुने सिट संख्यालाई प्रदेश कानून बनेपश्चात मिलान गरिने छ । खुल्ला सिट संख्याको विज्ञपन गर्दा संघीय कानुन अनुसारकै समावेशिताको सिद्धान्त अवलम्बन हुने जनाएको छ ।

यसरी विज्ञापनबाट नियुक्त हुने कर्मचारीहरूको सेवा सर्त र सुविधा प्रदेश कानून बमोजिम हुने, विज्ञापन प्रक्रियासँगै अव उल्लिखित पदमा समायोजन संशोधन तथा अन्य तहबाट सरुवा वा कामकाजमा खटिई आउने कर्मचारीहरूलाई हाजिर नगराई फिर्ता पठाउने भएको छ ।

त्यसैगरी कर्मचारीहरूको पद, सेवा, समूह, उपसमूह प्रदेश सरकारले गर्ने स्थायी संगठन संरचना र दरबन्दी सर्वेक्षणमा समायोजित हुने गरी मिलाउने, प्रदेश लोक सेवाबाट एकमुष्ठरुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गर्ने र उनीहरूको नियुक्ति एवं सरुवा प्रदेश सरकारले प्रदेशमा समायोजन भै आएका समान तहका कर्मचारीको पदस्थापन र सरुवा गर्दा अवलम्बन गरिएको कार्यविधिअनुरूप गर्ने भनिएको छ ।

यसरी नियुक्त हुने कर्मचारीहरूको तलब भत्ता र बिदा हाललाई समान तहमा प्रदेशमा समायोजन भएका कर्मचारीहरू सरह हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस