विकासमा प्राकृतिक श्रोतको अपरिहार्यता : एक बहस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विकासमा प्राकृतिक श्रोतको अपरिहार्यता : एक बहस


१७ भाद्र २०७७, बुधबार


सोह्रौँ शताब्दीमा फ्रेन्च दार्शनिक जिन बोँदाले –‘एक उब्जाउ जमिनका मानिसहरू तुलनात्मक रूपले अधिक कायर हुन्छन् जबकि एक बन्जर बाझो देशका जनता सम्पन्न माटोका जनता भन्दा अधिक संयमी, सतर्क र मेहनती हुन्छन्’ भन्ने विचार राखेका थिए । त्यस्तै अठारौँ शताब्दीमा अर्थशास्त्रका पिता मानिने आडम स्मिथले –‘कुनै देशको माटो, मौसम वा अन्य कुनै भूभाग जस्तोसुकै किन नहोस्, श्रोत साधनको उपलब्धता र दुर्लभता जे सुकै होस् यसको पूर्ति श्रमको सीप, निपूर्णता र श्रमिक व्यवस्थापनमा नै भर पर्दछ’ भन्ने विचार राखे । अर्थात् विकासका लागि प्राकृतिक श्रोत साधन मात्र एकल उपाय होइन । परन्तु अर्थतन्त्रमा विभिन्न उत्पादनका साधनहरूको उचित व्यवस्थापन नै अव्वल उपाय हो भन्ने मान्यता विद्धत वर्गमा प्रारम्भदेखि नै रहेका पाइन्छ ।

नेपाल जस्ता देशहरू किन विकासको मार्गमा ढिला हुन गए भन्ने सन्दर्भमा प्राकृतिक श्रोतको अभावलाई एक कारणका रूपमा सामान्य जनस्तरमा लिने गरिएको पाइन्छ । के प्राकृतिक श्रोत साधनको पर्याप्तताले संवृद्धि र सुखल प्राप्त गर्न सकिन्छ त ? भन्ने बहसलाई सतहमा ल्याउन जरुरी छ । यसै सन्दर्भमा यस लेखमा प्राकृतिक श्रोतको प्रचुरता र दुर्लभताको विकास र द्धन्द्धसँगको साइनोको बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

प्राकृतिक श्रोत साधनहरू विकासका लागि आवश्यकता हुन् । अनिवार्यता होइनन् । खास गरी प्राकृतिक श्रोत साधनले विकासलाई भन्दा बढी द्वन्द्वलाई प्रोत्साहन दिएका घटनाहरू विश्वभरि पाउन सकिन्छ । श्रोत साधनको उपलब्धताको आधारमा कुनै देशलाई प्रत्यायुक्तता, दुर्लभतायुक्त र सामान्य देशकारूपमा विभाजन गर्न सकिन्छ ।

श्रोत साधनको प्राचुर्यताले लालच, तृष्णा र अभिलाषायुक्त द्वन्द्वको सिर्जना गर्दछ । त्यसैले प्राकृतिक श्रोत साधनको प्रचुरतालाई एक श्रापका रूपमा पनि व्याख्या गरिएको छ । सामान्य अवस्थामा स्रोतसाधनको प्रचुरता कि त वरदान हुन्छ, या त श्राप हुन्छ । यसको व्यवस्थापन गर्नु अति जटिल काम हो । श्रोत साधनको व्यवस्थापन गर्न नसक्नाले कतिपय देशहरू विखण्डन भएका छन् भने कतिपय देशमा गृहयुद्ध अनन्त कालसम्म चलिरहेको छ ।

श्रोतको अधिकताले श्रोत माथिको कब्जामा विभिन्न स्वार्थ समूहहरू तथा स्थानीय बासिन्दाहरूको बिचमा युद्धको अवस्था ल्याउँदछ । श्रोतको उपलब्धता द्वन्द्वको उत्प्रेरककारूपमा रहन जान्छ । विद्रोहीहरूले श्रोत माथि कब्जा गरी त्यसको बिक्रीबाट आम्दानी प्राप्त गर्ने विद्रोहलाई थप सशक्त बनाउन सक्दछन् । २०१६ मा इस्लामिक स्टेटले सिरिया र इराकका तेलका कुवाहरूमाथि कब्जा गरी आतङ्कलाई मजबुद बनाएको थियो । श्रोतको प्रर्याप्तताले लुटलाई प्रोत्साहन गर्ने भएकाले श्रोतको उपलब्धताले बेरोजगार र गरिब युवालाई त्यसतर्फ आकर्षित गर्दछ । अफ्रिकन देशहरू एंगोला, लाइबेरिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र सियरा लिओनका गृहयुद्धहरूमा प्राकृतिक श्रोतको अधिकताले ठुलो भूमिका खेलेको छ ।

पर्ल कुलियरले २००४ मा गरेको अनुसन्धानले प्राकृतिक श्रोत साधनको निर्यातमा एक चौथाइ भन्दा बढी निर्भर रहेका देशहरू अन्य वस्तु निर्यातका देशहरू भन्दा चार गुणाले बढी द्वन्द्वमा आबद्ध भएको पाएका थिए ।

अर्को तर्फ गरिब देशहरू श्रोतको अभावमा सामाजिक आर्थिक नवप्रवर्द्धनका लागि वाधाहरू उत्पन्न हुने भएकाले झनै गरिब हुने पनि सम्भावना हुन्छ । श्रोतको अभावले रेन्ट सेकिंग व्यवहारलाई प्रोत्साहन दिने र बजार व्यवस्थामा निश्चित वर्गको प्रभुत्वलाई बढवा दिने अनुसन्धानबाट देखिएको छ । श्रोतको अभावले पुँजी निर्माणमा पनि नकारात्मक भूमिका खेलेको पाइन्छ । जसबाट नवप्रवर्द्धन, त्रानको विकासमा नकारात्मक प्रभाव पर्नाले गरिबीको दुष्चक्रबाट बाहिर निस्कने सम्भावना कम हुन्छ । त्यसैले प्राकृतिक श्रोत साधनको अभाव पनि विकासका लागि एक वाधक नै हो ।

प्राकृतिक श्रोतको अधिकताले अर्थतन्त्रलाई एक अवज मोड ल्याइदिन सक्दछ । उदाहरणको लागि नेदरल्याण्डलाई लिन सकिन्छ । १९५९ मा नेदरल्याण्डमा प्राकृतिक ग्यासको ठुलो भण्डार पत्ता लाग्यो । त्यसको निर्यातमा सरकारले ठुलो लगानी गर्‍यो । सरकारलाई ठुलो मात्रामा रोयल्टी राजस्व प्राप्त भयो । जनताले पनि सजिलो तरिकाले आम्दानी प्राप्त गर्न थाले । सरकार पनि खुसी जनता पनि खुसी । तर यसको प्रभाव अर्थतन्त्रका अन्य क्षेत्रमा नकारात्मक रूपमा पर्न थाल्यो । निर्यातमा बढोत्तरी भएकाले मुद्राको अधिमुल्यन हुन पुग्यो । अन्य क्षेत्रमा सरकार र निजी क्षेत्रको ध्यान गएन । र विकासको मूल प्रवाहमा पछि पर्न थाल्यो । निर्यात घट्न थाल्यो । प्रतिस्पर्धात्मक क्षमता कमजोर भयो । अन्ततोगत्वा ज्याला बढ्न गई निर्यातमा भयावह गिरावट आउन थाल्यो । यसलाई अर्थशास्त्रीहरुले डच रोग (डच डिजिज) नाम दिएका छन् । यो स्पष्टरूपमा देखिने एक क्षेत्रको वृद्धिबाट अर्को क्षेत्रमा आउने गिरावटको तथ्य कारण सम्बन्ध हो । प्राकृतिक श्रोत साधनको उपलब्धताले अर्थतन्त्रको समग्र क्षेत्रलाई समानुपातिक रूपमा वृद्धि र स्थायित्व प्रदान गर्न नसक्ने तथ्यलाई डच डिजिजका रूपमा द ईकोनोमिस्टले १९७७ मा प्रकाशमा ल्याएको हो ।

प्राकृतिक श्रोतको अधिकताले परनिर्भरताको लक्षण पनि देखाउँदछ । उपलब्ध भएको श्रोतको बजार मुलुकहरूको माग र आपूर्तिको सन्तुलनले निर्यातका राष्ट्रलाई ठुलो प्रभाव पार्दछ । अन्तर्राष्ट्रिय सम्बन्ध प्रभावकारी नभएमा श्रोतको विक्रीमा पनि समस्या आउन सक्दछ । रसिया, इरान लगायतका देशहरूले अपार श्रोत हुँदा हुँदै पनि अन्तर्राष्ट्रिय बजारमा न त मूल्य प्रणालीमा न त विक्री र भुक्तानी प्रणालीमा नै ठुलो भूमिका खेल्न सकेका छैनन् । बरु अमेरिकाको प्रतिबन्धको सिकार भएकाले आफ्नो श्रोतको सही ढङ्गले विक्री गर्न सकेका छैनन् ।

प्राकृतिक श्रोतको अधिकताको अर्को नकारात्मक प्रभाव राजनीतिक प्रणालीमा पर्दछ । विश्वमा अधिक तेल निर्यातका राष्ट्र्रहरुले तेल व्यापारबाट ठुलो आम्दानी प्राप्त गर्दछन् । त्यस्तो आम्दानीबाट सरकारले सामाजिक सुरक्षाका क्रियाकलापहरूमा ठुलो रकम खर्च गर्दछ । सरकारलाई जनता उपर ठुलो मात्रामा कर लगाउन आवश्यक हुँदैन । यसबाट जनताहरूले सरकारका क्रियाकलापलाई नियमन, नियन्त्रण गर्नमा ध्यान दिर्दनन् । उनीहरूको राजनीतिक सहभागिता अत्यन्त कमजोर हुन्छ । शासक र शासितको बिचमा कुनै अन्तरक्रिया हुँदैन । किनकि सरकारले करारोपण गर्देन र सामाजिक सुरक्षा प्रभावकारी बनाएको हुन्छ । यसबाट त्यस्ता देशहरूमा सर्वसत्तावादी शासकको उदय हुन जान्छ । लोकतन्त्रले प्रस्फुटन हुने अवसर पाउँदैन । रुस लगायत प्राय: सबै खाडीका देशहरूमा वास्तविक प्रजातन्त्र नपाइनुको एउटा कारण प्राकृतिक श्रोत साधनको अधिकलाई मानिन्छ ।

प्राकृतिक श्रोतको अधिकताले अन्तर्राष्ट्रिय शक्ति समुदायको ध्यानाकर्षण पनि गर्दछ । आजको विश्वमा बन्जर मरुभूमियुक्त अरेबियाका मरुस्थलहरूमा अमेरिकी, रसियन र अन्य विश्व शक्तिराष्ट्र्रहरु एक आपसमा भिड्दै छन् । सिरियामा अरब वसन्तको आगो अझै पनि शान्त भएको छैन । कैयन आतंक्वादी समूहहरू एक आपसमा भिडि रहेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थहरूको चक्र व्यूहमा अधिक श्रोतयुक्त देशहरू परेका छन् । पछिल्लो समय अपार प्राकृतिक संसाधनलाई सही ढङ्गबाट उपयोग गर्न नसक्नाले भेनेजुएलाले ठुलो आर्थिक, सामाजिक र राजनीतिक क्षति व्यहोरेको छ । त्यसैले श्रोत साधनको उपलब्धता यदि उपयोगको सही भएन भने त्यो वरदान नभई श्रापको रूपमा रहन जान्छ ।

हालै मात्र पूर्वी अफ्रिकन देश मोजाम्बिकमा इस्लामिक स्टेटले एक ठुलो सामुन्द्रिक बन्दरगाहमा कब्जा गरेको छ । त्यस क्षेत्रमा ठुलो मात्रा प्राकृतिक ग्यासको भण्डार भएको अनुमान गरिएको छ । करिब ६० विलियन डलरको उक्त ग्यासको भण्डारणमा आतङ्कवादीको कब्जा भएकोमा आतंकवादीहरुले तेलको भण्डारमा आगो लगाउन सक्ने भएकाले सरकार र अन्तर्राष्ट्रियता समुदायले कुनै कारबाही गर्न सकेको छैन । ठुलो तेलको भण्डारको उपयोग गरी देशलाई विकसित गर्नमा हालसम्म मोजाम्बिकले कुनै ठोस कार्य गरेको पनि देखिँदैन । अर्थात् श्रोत साधन उपलब्धता हुनु मात्र विकासको अपरिहार्यता होइन । यसको सही ढङ्गबाट व्यवस्थापन हुन नसक्दा हमेसा जोखिममा रहनु पर्ने चाही पक्का हो ।

अर्को तर्फ कुनै उल्लेख्य प्राकृतिक श्रोत साधन नभएका एसियन अर्थतन्त्रहरू कोरिया, ताइवान, हंगकंग र सिंगापुर आज विकासको सिँढीमा निक्कै अगाडि पुगी सकेका छन् । उनीहरूमा श्रोतको अभावको हिनतावोध कहिल्यै पनि भएन । बरु जिन बोँदाले भने जस्तो यस्तो बाँझो देशका जनताहरू बढी मेहनती भएको देखियो । दूरदर्शी शासक, जनताहरुके बिचमा सार्वभौम एकता, सबल र सफल अन्तर्राष्ट्रिय सम्बन्ध, तुलनात्मक लाभको उचित विकास, मानव पुजिमा उल्लेख्य लगानी र वित्तीय क्षेत्रको गाढा विकासबाट एसियाका यी साना देशहरू आज एसियन टाइगरमा रूपमा उदीयमान भएका छन् ।

सामान्यतया प्राकृतिक श्रोत साधनलाई विकासको एउटा सजिलो साधन त मान्न सकिन्छ । तर यसले विकास मात्र निम्त्याउँदैन । सँगसँगै द्वन्द्वमा पनि मुलुकलाई फसाउँदछ । श्रोतको अधिकता सम्वृद्धिको सूचक हमेसा हुन सक्दैन । त्यसैले नेपालजस्ता श्रोतको न्यूनता भएका मुलुकहरूले आफ्नो आर्थिक नीति एसियन टाइगरको बाटो तर्फ डोेर्याउदा बढी उपयुक्त हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस