नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव भेटियो « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

नेपालका लागि बेलायती पूर्वराजदूत मोरिसको शव भेटियो


एजेन्सी

१६ भाद्र २०७७, मंगलबार


लन्डन । नेपालका लागि बेलायती पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । बीबीसीले जनाएअनुसार गत मे ६ देखि बेपत्ता मोरिसको खोजीमा जुटेको ह्याम्पशायर प्रहरीले उनको शव एलिस होल्ट जंगलमा फेला पारेको हो ।

प्रहरीले स्थानीय जंगल, नदी किनारामा व्यापक खोजी गरेको थियो । छरछिमेकका बासिन्दाहरुलाई पनि आआफ्ना घरका बगैंचा, भण्डार गृह, गोठ आदि चेक गर्न आग्रह गरेको थियो । कुनै स्थानीय बासिन्दा वा व्यवसायीसँग सीसीटिभी फुटेज भए उपलब्ध गराउन पनि आग्रह गरेको थियो ।

राजदूत मोरिसले नोभेम्बर २०१५ देखि नोभेम्बर २०१९ सम्म नेपालमा ब्रिटिस राजदूतको रुपमा जिम्मेवारी निर्वाह गरेका थिए । ब्रिटिस सरकारले उनलाई फिजी गणतन्त्रका लागि गत जुलाई महिनादेखि कार्यभार सम्हाल्ने गरी उच्चायुक्त तोकेको थियो ।

प्रहरीले उनको परिवारलाई जानकारी गराइसकेको छ । ५२ वर्षीय मोरिस बेलायतको फार्नहम नजिक बेनटली क्षेत्रमा बस्दै आएका थिए । मे ६ तारिखका दिन उनी बिहान १० बजे घरबाड निस्किएका थिए । उनी, श्रीमती र तीन बालबच्चाका साथमा बस्दै आएकाथिए ।

रिचर्डले नेपालमा महाभूकम्पपछि गएका बेलायती राजकुमार ह्यारीको भ्रमण संयोजनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । विशेषगरी ब्रिटेन–नेपाल च्याम्बर अफ कमर्स प्रतिनिधिसँग निकट थिए मोरिस ।

Tags :
प्रतिक्रिया दिनुहोस