आमाको वेदना ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आमाको वेदना !


कल्पना नेपाल आचार्य

१३ भाद्र २०७७, शनिबार


म रित्तिए, नाङ्गिए, निमोठिँदै छ मेरो अस्मिता
मेरो सौभाग्य, श्रृगार, वैभवहरू लुटिए,
भत्काइए, च्यातिए,
लत्त्याइए, कुल्चिए, फ्याँकिए
अटल शिर दिन प्रतिदिन
झुक्दै छ, घट्दै छ, नाँसिदैँछ ।
मेरा हरियाली सारी
दिन दाहाडै मासिए, काटिए
रात रात मेरा सन्तानको चोरी, शिकारी, तस्करी
आपराधिक जालो फिजिदैछ ।
मेरो छातीमा डोजर लगाइन्छ ।

सप्तरङ्गी इन्द्रेणी
मुसलधारे वर्षासँगै हराउँछ ।
बाढीसँगै बर्षेनी मेरा सन्तानहरू बढारिन्छन्
पहाडको ढिस्कोसँगै
लालावाला अबोध बचेराहरू, निर्दोष मनहरू
पुरिन्छन् ।

महामारीको आगोको रापमा पिल्सिएका
आशाका किरणहरूको मलिन अनुहारमा
आफ्नै सन्तानको कर्तुत पोखिएको छ ।
लडाइ कुर्ची मोह भागबन्डामा लालायित
लिप्त बनिरहे चुसिरहे
रक्त पिपासु जस्तै
निरन्तर, निरन्तर

धिक्कार!
तिमीलाई जन्म दिएको
दशधारा दूध पिलाएको
आमाको शरीरलाई टुक्रा टुक्रा पारी
दाइ, भाइ बिच वा दिदी, बहिनीहरूप्रति
अलिकति झिनो दया,माया, सहानुभूति
अंकुराउन सकेन
खै! माया, प्रेम, सद्भाव
द्रव्य पिचास, हत्या, अपराध, बलात्कार
तस्कर,भ्रष्टाचार झाँगिइरहेको छ ।
विन्ती ! कुर्ची र सत्ताको मोह त्यागी
करुणा र स्वज्ञानको आँखा खोली
रामराज्यको सपना साकार पार
चहराइरहेका, दुखीरहेका, भत्भति पोलीहेका
घाउहरूमा
आशा रुपी शीतलताको मलम लगाऊ
आमाको सिँगार लुटिई सक्यो यहाँ
बचाउन लाग ।

दिदी बहिनीहरूको अस्मिता लुटनेहरु माथि
खबरदारी र सजायको भागीदार बनाऊ
दया गरी जीवन र जगतको चक्षु उघार
मानवताको डोरीले मेरो टुक्रा टुक्रा भएको मनलाई जोड ।
आपसी कलुषता त्यागी आशाको किरण छर ।
फोहोरलाई धोइ पखाली कन्चन गङ्गा बन
मेरो शिर ठाडो पार
बिन्ती नगरेर लडाइ आपसमा
फुलावारिलाई सिगार
मेरो यही छ
अन्तिम चाहाना
मेरा सन्तान पूरा गर
मेरो चाहाना पुरा गर ।

Tags :
प्रतिक्रिया दिनुहोस