गौरा पर्वको आज तेस्रो दिन : गौरादेवी भित्र्याइँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गौरा पर्वको आज तेस्रो दिन : गौरादेवी भित्र्याइँदै


ममता भट्ट

९ भाद्र २०७७, मंगलबार


सुदूरपश्चिमेलीहरुको मुख्य चाड गौराको मङ्गलवार तेस्रो दिन। व्रतालु महिलाहरूले गौरादेवीलाई गौरा घरमा भित्र्याउँदै छन्। सुदूरपश्चिमको स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालुहरूले विशेष दिनको रूपमा लिने गरेका छन्।

व्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ। आज अमुक्त भरण सप्तमीका दिन व्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ ।

व्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन रहेको पण्डित रामचन्द्र भट्ट बताउँछन्। महिलाहरूले सामूहिक रूपमा धान, साउँ, तील, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमूर्ति बनाई गौरा घरमा भित्र्याउने गरेको पनि उनले बताए।

आजको गौरादेवीमा चढाएको दुबधागोलाई बुधवार अर्थात् भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरूले धारण गर्ने गर्दछन्। आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाहरूले राति मिठो मसिनो खाना खाने चलन छ। गौराको मुख्य दिन बुधवार दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन महिलाहरूले गौरालाई गौरा घरबाट गौराखलामा लगेर महेश्वरसँग विवाह गरी पूजा गर्ने चलन रही आएको पण्डित भट्टको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस