डडेल्धुरामा ८ वर्षीया बालिकामा कोरोना, परिवारका सदस्यमा देखिएन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डडेल्धुरामा ८ वर्षीया बालिकामा कोरोना, परिवारका सदस्यमा देखिएन


१ भाद्र २०७७, सोमबार


डडेल्धुरा । डडेल्धुरामा परिवारसँगै ७ दिनअघि भारत पन्जाबको लुदियानाबाट घर फर्किएकी १ बालिकामा कोरोना देखिए पनि परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सोमबार डडेलधुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा अमरगढी नगरपालिका–५ की ८ वर्षीया बालिकामा कोरोना देखिएको हो ।

ती बालिका परिवारसँगै ७ दिनअघि भारत पन्जाबको लुदियानाबाट घर फर्किएको अमरगढी स्वास्थ्य शाखाका प्रमुख गणेश विष्टले जानकारी दिए । लुदियानाबाट उनीसँगै आएका अन्य परिवारका ४ जना सदस्यको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए ।

बालिकाका स्वास्थ्य अवस्था सामान्य रहेको र उनी हाल होम आइसोलेसनमा रहेको स्वास्थ्य शाखाका प्रमुख विष्टले जानकारी दिए । ‘उनी र उनको परिवार भारतबाट यहाँ आएदेखि नै होम आइसोलेसनमा थियो । हामीले केही दिनअघि उहाँहरूको स्वाब संकलन गरेका थियौँ र आज बालिकाको रिपोर्ट पोजेटिभ आएको छ,’ उनले भने ।

उनले ७ दिनपछि ती बालिका र परिवारका अन्य सदस्यको पुनः कोरोना परीक्षण गरिने बताए । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ६ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस