आँसु र पानी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आँसु र पानी


३१ श्रावण २०७७, शनिबार


आँसु र दुःख त
मसँग पनि छन्,
रुने बेलामा लुक्छु र कसैले देख्दैनन् ।
प्रिय मान्छे
जहाँतहीँ आँसु नदेखाउनुस्,
यो दुनियाँमा आँसुको पनि रमिता हुन्छ ।
आँसुले त आफ्नो दुःख धुने हो
जसरी धोएपछि टिलिक्क टल्किन्छ
मैलो लुगा पनि,
जसरी पानी परेपछि अझ हरियाली हुन्छ
बगैँचा पनि
जसरी स्वच्छ हुन्छ आकाश पानी परेपछि

यहाँ आँसुलाई पनि पानीजस्तै देख्छ मान्छे
किनभने ‘बग्नु’ दुवैको नियति हो
हो पनि
दुवै बर्सिन्छन्, बर्सिरहन्छन्
अनवरत
पानी र आँसु बगेनन् भने खडेरी पर्छ
र सुक्छन् सबै थोक
पानी बर्सिएन भने जमिन बाँझो पल्टिन्छ
आँसु बर्सिएन भने मन बाँझो पल्टिन्छ…!

मनको पर्यावरणीय चक्रको लागि पनि रुनुस्
तर,
आँसुलाई रमिता देख्ने दुनियाँसँग बच्नुस्
एकान्तमा रुने मान्छे
भिडभाड देख्ने बित्तिकै
खित्का छोडेर हाँस्न थाल्छ
एकान्त भेट्ने बित्तिकै
भक्कानो फुटाएर रुन थाल्छ
मलाई नै हेर्नुस् न
रुँदा रुँदा शरीर सुक्यो
तर मन सुकेन

प्रिय मान्छे…!
म रोएको तिमीले मात्रै होइन
कसैले देखेको छैन
किनकि म आँसुको पोखरीबाट
मुहान खोलिदिन्छु हरेक रात
केही भल बगाउँछु
जो बिहान हुँदा सुकिसक्छ
अनि दिनजस्तै
उज्यालो र सफा हुन्छ मेरो मन पनि
र त
दुनियाँले मलाई सधैँ हाँसेको मात्र देख्छ ।
अचेल त मलाई
आँसु र पानी उस्तै लाग्न थालेको छ
बर्सेनन् भने हपहपी हुन थाल्छ…!

Tags :
प्रतिक्रिया दिनुहोस