हत्कडी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हत्कडी


३१ श्रावण २०७७, शनिबार


एका बिहानै
छापाहरूमा
भँगेरा टाउके अक्षरमा
लेखिएको देखेँ
तिम्रो नाम
र झसङ्ग भएँ म ।

पैसा देखे पछि
महादेवका तीन नेत्र
भने जस्तै
तिम्रो पनि
जब खुल्यो तेस्रो नेत्र
विवेक र करुणाका
ती दुई नेत्रहरू
अनायासै बन्द भए ।

अनि त अगाडि, पछाडि
दायाँ बायाँ
कतै केही नहेरी
मादकताले मोहित भयौ
र बिर्सियौ त्यो लगन
त्यो त्याग र सङ्घर्ष
जसले बढाएको थियो
तिम्रो मान, प्रतिष्ठा
र भव्य गरिमा ।

लटरम्म रस भरिएको
त्यो अङ्गुरको झुप्पो
हेर्दै नहेरी
च्वाम्म मुखमा हाल्यौ
र आनन्दानुभूति गर्‍यौ
तर झुप्पोमा फसेको
त्यो बारुलाले
जब चिल्यो जिब्रोमा
एक्कासि होस् खुल्यो
र खुले दुवै नेत्र
त्यतिन्जेल भई सकेथ्यो ढिला
तिमीले टेकेको
धरातल धसिएर
गर्ल्याम्म लडिसकेका थियौ
उठ्न खोज्यौ
फसिसकेका थियौ धरापमा
र लागि सकेको थियो
हत्कडी हातमा ।
….अस्तु….

प्रतिक्रिया दिनुहोस