बागलुङमा असारयता चारको मृत्यु, एक बेपत्ता, ५४ घर भत्किए « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बागलुङमा असारयता चारको मृत्यु, एक बेपत्ता, ५४ घर भत्किए


१६ श्रावण २०७७, शुक्रबार


गलकोट । बागलुङ जिल्लामा विपद्को घटनाबाट असारयता मात्रै चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । यस्तै जिल्लाभर ५४ घर भत्किएका छन् भने सयौँ घर पहिराको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

अविरल वर्षापछि साउन १० गते गएको पहिराले बागलुङ नगरपालिका–१ रामरेखाको निरयघाटमा एक जनाको मृत्यु भएको र अर्का एक जना बेपत्ता रहेका छन् । बेपत्ताको प्रहरीले खोजी कार्य गरे पनि हालसम्म फेला नपारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । यस्तै १३ गते जिल्लाको तमान खोला गाउँपालिका–२ मा घर पहिरोका कारण भत्किदा दुई बालबालिकाको मृत्यु भएको छ । सोही दिननै निसी खोला गाउँपालिका–१ मा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण पछिल्लो समय बागलुङमा विपद्का घटना बढ्दै गएका छन् । बाढीपहिराका कारण बागलुङमा अधिकांश सडक अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बागलुङ जिल्लामा हालसम्म ५४ घर भत्केका छन् । जोखिमयुक्त वस्ती पहिचानको कार्यलाई तीव्रता दिइएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिए । ‘स्थानीय तहमार्फत जोखिममा परेका घरको विवरण मगिएका छौं’ पन्तले भने, ‘असारपछि राहतको नियम अध्यावधिक भएको छ ।’

पन्तका अनुसार पहिरोमा ज्यान गुमाएका एक घरको एक जना छ भने रु २ लाख र त्यस परिवारका थप मत्यु सङ्ख्याको आधारमा रु एक लाख थप हुनेछ । उनले घरमा क्षति पुगेका ५४ घरलाई रु १५ हजारका दरले राहत वितरण गर्ने जानकारी दिए । जिल्लाका १० स्थानीय तहमा घर भत्केकाको विवरण आए पनि जोखिममा परेका घरको विवरण आइनसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहले जोखिमयुक्त बस्तीको पहिचान तथा पहिराको जोखिममा रहका घरको विवरण सङ्कलन गरिरहेका छन् । जथाभावी रुपमा सडक निर्माण गर्दा पहिराको जोखिम बढ्न थालेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस