‘कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भने पनि डरले थर-थर काप्नुपर्ने आवश्यकता छैन’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भने पनि डरले थर-थर काप्नुपर्ने आवश्यकता छैन’


९ श्रावण २०७७, शुक्रबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई सर्वोपरि ठान्ने व्यक्ति र प्रवृत्ति आफै पतन भएर जाने टिप्पणी गरेका छन् ।

४२ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले विधि र पद्धतिको पालना नगरी आफूलाई सर्वोपरि ठान्ने र आफैलाई केन्द्रबिन्दुमा राख्नेहरु आफै पतन भएर जाने र त्यो प्रवृत्ति पनि पतन हुने टिप्पणी गरे ।

विधिको पालना गरी सङ्गठनलाई सुरु गर्न सके सबै कुरा गति र स्वभाविक प्रक्रियामा अगाडि बढ्ने उनले बताए । उनले भने, ‘विधिको पालना गरिएन भने, ‘आईएम द स्टेट’ ठानियो भने, आफूलाई सर्वोपरि ठान्न थालियो भने, आफूलाई मात्र केन्द्रबिन्दुमा राख्न थालियो भने, आफूबाहेक दुनियाँमा कसैको केही अर्थ छैन भन्ने ठान्न थालियो भने त्यस्तो अहङ्कारको भावनामा चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुने बाहेक अर्को केही पनि हुँदैन ।’

नेता नेपालले त्यस्तो प्रवृत्तिमा कोही चुर्लुम्म डुबेको छ भने समयमै जोगिनुपर्ने पनि बताए । उनले भने, ‘त्यस्ता विचार र प्रवृत्तिमा यदि हामी केही चुर्लुम्म डुबेका छौँ भने त्यसबाट जोगिन समय छ । तर समय धेरै ढिला हुन थालेको छ ।’ नेता नेपालले कम्युनिस्ट पार्टी फुट्छ कि भन्ने चिन्ता नलिन पनि कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कसैले पार्टी फुटाउन खोजे ऊ एक्लिएर जाने तर पार्टी कहिले पनि नफुट्ने उनले बताए ।

उनले भने, ‘पार्टी फुट्नेवाला छैन । कसैले चोइट्याउन खोज्यो भने एक्लिएर जाला तर पार्टी फुटेर जानेवाला छैन । फुट्नेवाला छैन । कसैले पार्टी फुट्छ भनेर लेखिहाल्यो भने पनि डरले थर थर काप्नुपर्ने आवश्यकता छैन ।’ नेता नेपालले पार्टीभित्रको समस्या छलफल गरेर हल गर्ने अधिकतम प्रयास भइरहेको समेत बताएका छन् । पार्टीका लागि व्यक्ति प्रधान नभएर विधि र पद्धति प्रमुख कुरा भएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस