पर्सामा पाँच भारतीयसहित ३२ जनामा संक्रमण « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

पर्सामा पाँच भारतीयसहित ३२ जनामा संक्रमण


९ श्रावण २०७७, शुक्रबार


वीरगञ्ज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पाँच जना भारतीयसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार साँझ गरिएको परीक्षणमा ७ महिला र २५ पुरुषमा कोरोना पुष्टि भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले बताए ।

उनीहरूको साउन ६ र ७ गते स्वाब संकलन गरिएको थियो । संक्रमितमध्ये १८ जना वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसिरहेका थिए । १३ जना कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेन्टाइनमा ल्याइएका हुन् । बाँकी दुई संक्रमितमा एक जना सर्लाही र एक जना बाराका छन् ।

‘९ महिने बालकदेखि लिएर ६० वर्षीय वृद्धसम्म संक्रमित भएका छन्,’ डा. सिंहले भने, ‘अधिकांश कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित देखिएका हुन् ।’

स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार श्रीपुर वडा प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका पाँच भारतीयमा कोरोना संक्रमण देखिएको हो ।

श्रीपुरका प्रहरी निरीक्षक दीपककुमार साहले उनीहरूलाई गत शुक्रबार संक्रामक रोगअन्तर्गत पक्राउ गरिएको बताए । ‘उनीहरूमा कुनै लक्षण थिएन,’ उनले भने, ‘नियन्त्रणमा रहेका प्रत्येक थुनुवाको अनिवार्य पीसीआर परीक्षण गराउनुपर्ने भएकाले स्वाब संकलन गरिएको थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस