ट्राफिक नियम पालनामा कडाइ, मापसे जाँच शुरु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

ट्राफिक नियम पालनामा कडाइ, मापसे जाँच शुरु


७ श्रावण २०७७, बुधबार


काठमाडौं । झण्डै चार महिनाको बन्दाबन्दीपछि उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकलाई भौतिक दूरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्यलाई तिव्रता दिएको छ ।

बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले आम सडक प्रयोगकर्तालाई स्वास्थ्य मापदण्ड पालना गराउन र ट्राफिक नियम कार्यान्वयन गराउन आजदेखि ट्राफिक प्रहरीको विशेष टोली परिचालन गरिएको महाशाखाले जनाएको छ ।

उक्त टोलीले सार्वजनिक सवारीमा सामाजिक दूरी कायम गरेर नगरेको, चालक र यात्रुले मास्क लगाए नलगाएको, तोकिएको भाडादर लिएर नलिएको, ५० प्रतिशत मात्र यात्रु राखे नराखेको अनुगमन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

उनका अनुसार उपत्यकाका २९ स्थानमा जाँच चौकी स्थापना गर्नुका साथै बसपार्क, बसबिसौनी र विशेष गरी गुडिरहेको सार्वजनिक सवारीलाई अनुगमन गरिनेछ । बन्दाबन्दी हटेसँगै महाशाखाले ट्राफिक नियम पालना नगर्ने चालक विरुद्धसमेत कारवाही थालेको छ ।

मापसे जाँच शुरु

महाशाखाका अनुसार आजदेखि मादक पदार्थ सेवन (मापसे) जाँचलाई समेत तिव्रता दिएको छ । उपत्यकाका विभिन्न ठाउँमा मापसे गर्ने क्षेत्रमा निगरानी बढाउने र मापसे गरी सवारी चलाएको भेटिएमा कारवाही गर्न थालिएको ढकालले बताए।

कोरोना सङ्क्रमणको जोखिम कायम नै रहेकाले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गर्न, स्यानिटाइजर, मास्क लगाउन र सवारी साधन डिसइन्फेक्सन गर्न पनि महाशाखाले सवारी चालक तथा आम यात्रुलाई अनुरोध गरेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस