सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रकोे परिवर्तित भूमिका « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रकोे परिवर्तित भूमिका


६ श्रावण २०७७, मंगलबार


संसार प्रतिस्पर्धी छ । अवसर सिर्जना तथा चुनौती सामना गर्न गतिशील संगठनले कर्मचारीलाई निरन्तर सृजनशील, प्रतिस्पर्धी, सक्षम र नैतिकवान् बनाइ राख्नु पर्छ । तालिमले कर्मचारीको ज्ञान, सीप तथा सम्बन्ध अभिवृद्धि मात्र गर्दैन भावनात्मक, नैतिक र आध्यात्मिक क्षमतामा पनि परिवर्तन ल्याउने गतिशित प्रक्रिया हो । यो जनशक्ति विकासको अपरिहार्य तत्त्व हो । सङ्गठनलाई आवश्यक र विद्यमान क्षमता बिचको खाडल पूरा गर्न, कर्मचारीलाई सेवाप्रति समर्पित तथा उत्तरदायी बनाउने पद्धतिमूलक माध्यम हो ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र नेपाल सरकारको राजस्व, लेखा र लेखा परीक्षण क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्न, आर्थिक विषयमा अन्तरक्रिया गोष्ठी/कार्यशाला तथा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले २०३७ सालमा अर्थ मन्त्रालय अन्तर्गत राजस्व प्रशासन तालिम केन्द्रको रूपमा स्थापना भएको हो । केन्द्र आर्थिक प्रशासनसँग सम्बन्धित जनशक्तिको पेशागत दक्षता अभिवृद्धि तथा आर्थिक क्षेत्रका समसामयिक विषयमा अध्ययन अनुसन्धान, सूचना प्रवाह तथा परामर्श सेवा प्रदान गर्ने एक पुरानो विशिष्ट संस्था हो । नेपाल प्रशासन सेवा, रा.प.प्रथमको नेतृत्वमा, राजस्व र लेखा समूहबाट वरिष्ठ प्रशिक्षक, प्रशिक्षक लगायत तीन दर्जन कर्मचारी कार्यरत विशेष संस्था हो । आर्थिक प्रशासनको विशिष्ट काम अनुसार नाम रूपान्तरण गर्ने सिलसिलामा नेपाल सरकारको (म.प.) मिति २०७५ वैशाख ४ गतेको निर्णयबाट साबिकको राजस्व प्रशासन तालिम केन्द्रलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलाई आर्थिक प्रशासनका कार्यरत जनशक्ति विकास, अध्ययन अनुसन्धान र परामर्श दिने नेतृत्वदायी संस्थाको रूपमा विकास गर्न खोजिएको छ ।

शासकीय प्रणालीमा भएको परिवर्तनसँगै वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउन केन्द्रले नयाँ दृष्टिकोण, लक्ष्य, उद्देश्य, रणनैतिक लक्ष्यकासाथ तालिम केन्द्रले काम गरिरहेको छ । आन्तरिक स्रोत परिचालनमा अभिवृद्धि र स्रोतको समुचित व्यवस्थापन गर्न राजस्व, लेखा र लेखापरीक्षणमा कार्यरत जनशक्तिलाई सक्षम र सबल बनाउने दृष्टिकोण राखेको छ । यस्तै, तालिम, शिक्षा, अध्ययन अनुसन्धान, गोष्ठी, परामर्श र अन्तरक्रियाको माध्यमबाट राजस्व तथा आर्थिक प्रशासनको क्षेत्रमा पेशागत र संस्थागत दक्षता अभिवृद्धिको अवसर श्रृजना गर्ने लक्ष्य रहेको छ । राजस्व र आथिर्क प्रशासनका कर्मचारीलाई दक्ष र सीपयुक्त बनाउने, राजस्व र आर्थिक प्रशासन सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया गोष्ठी र कार्यशाला गर्ने, आर्थिक तथा राजस्वका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने तीन वटा उद्देश्यहरू रहेका छन् ।

केन्द्रले नेपाल प्रशासन सेवा (राजस्व तथा लेखा समूह) र नेपाल लेखा परीक्षणमा संलग्न सरकारी कर्मचारीहरूको लागि कक्षाकोठामा आधारित सेवा प्रवेश तालिम (रा.प.तृतीय), सेवाकालीन, अल्पकालीन तालिम तथा गोष्ठी र अन्तरक्रिया सञ्चालन गरिरहेको छ । प्रशिक्षण कार्यलाई उपयोगी र प्रभावकारी बनाउन केन्द्रले प्रवचन र अन्तरक्रिया, सामूहिक छलफल, समस्या समाधान, प्रयोगात्मक अभ्यास, कार्यपत्र प्रस्तुति र मामिला अभ्यास, पावर प्वाइन्ट आदि विधिहरू प्रयोग गरी रहेको छ । केन्द्रबाट सञ्चालित गोष्ठी, परामर्श र अन्तरक्रिया बाहेक अन्य तालिममा सैद्धान्तिक र व्यवहारिक परीक्षा, मामिला अध्ययन, अनुशासन, सक्रिय सहभागिताको आधारमा प्रशिक्षार्थीहरूको मूल्याङ्कन गरी श्रेणी सहितको प्रमाणपत्रबाट पुरस्कृत गर्ने व्यवस्था रहेको छ ।

उल्लेखित दृष्टिकोण, लक्ष्य र उद्देश्य अनुसार केन्द्रको कार्यक्षेत्र निकै बृहत् तथा भूमिका अहंम छ । आर्थिक प्रशासन सार्वजनिक प्रशासनका अन्य क्षेत्रभन्दा गतिशील र बढी संवेदनशील हुँदा आर्थिक प्रशासनमा कार्यरत कर्मचारीलाई तालिम मार्फत दक्ष, सीपयुक्त र सकारात्मक बनाउनु अति आवश्यक छ । यसको लागि केन्द्रबाट सञ्चालित तालिमलाई गुणस्तरीय र पद्धतिमूलक अथवा प्रभावकारी बनाउनु पर्ने देखिन्छ ।

तालिमको प्रभावकारिताको अर्थ गुणस्तरीय रूपमा तालिम प्रदान गर्ने र सोही अनुरूप नतिजा हासिल भयो भएन भनी मापन गर्ने वैज्ञानिक प्रक्रिया हो । अथवा कुनै तालिममा तोकिएका लक्ष्य तथा उद्देश्य अनुरूप तालिमको नतिजा आयो वा आएन भनी मापन गर्ने माध्यम हो । तालिमपछि सहभागीहरूको प्रतिक्रिया, सिकाई, सेवाग्राहीसँगको व्यवहार र नतिजा आदि सूचकको आधारमा तालिमको प्रभावकारिता मापन गरिन्छ । तालिममा उच्च अङ्कका साथ पुरस्कृत भएमा, कर्मचारीको सीप तथा क्षमता अभिवृद्धि र सकारात्मक मनोभावना निर्माण भएमा, तालिम पश्चात् आर्थिक प्रशासनसँग सम्बन्धित सेवाहरू सहज, शीघ्र र पारदर्शी भएमा, निकासा तथा प्रतिवेदन प्रणाली सहज, शीघ्र र स्वच्छ भएमा, बेरुजु अङ्कमा कमी आएमा, लेखा परीक्षण नतिजामुखी भएमा, अभिलेख प्रणाली राम्रो भएमा, स्रोत साधनको साबिकभन्दा उच्च परिचालन तथा न्यून चुहावट भएमा, कर्मचारीको व्यवहार र प्रवाहित सेवाप्रति सरोकारवालको सन्तुष्टि बढेमा तालिम प्रभावकारी भएको मानिन्छ ।

तालिमको नतिजा सम्पूर्ण गुण व्यवस्थापन प्रक्रिया हो । तालिमजन्य र गैर तालिम जन्य सुधारबाट मात्र समग्र नतिजा हासिल हुन्छ । अथवा तालिम पूर्व, तालिम सञ्चालन र तालिम पश्चात् तीन वटै चरणको सुधारको कूल योग हो । तालिम मानव संसाधन व्यवस्थापनका सबै पक्षसँग अन्तर सम्बन्धित हुन्छ । व्यवहारिक तालिम नीति, नतिजामुखी तालिमको आवश्यकता पहिचान, व्यवहारिक रूपमा आवश्यक सीप तथा ज्ञान र धारणा परिवर्तन गर्ने गरी स्मार्ट तालिमको उद्देश्य, उद्देश्य अनुसार व्यवहारिक पाठ्यक्रम तथा प्रशिक्षण विधि चयन, दक्ष र उत्प्रेरित प्रशिक्षक व्यवस्थापन, सक्षम र सहयोगी तालिम संयोजन समूह, योजनाबद्ध तालिम सञ्चालन, सिकाई मैत्री लजेष्टिक व्यवस्थापन, तालिम सार्वजनिक जीवनको अलावा व्यक्तिगत सम्पत्ति हो । तसर्थ उचित तवरले सिकी व्यवहारमा प्रयोग गर्नुपर्छ भन्ने प्रशिक्षार्थीको सकारात्मक सोच, तालिम पश्चात् वैज्ञानिक पदस्थापन (उपयुक्त व्यक्ति उपयुक्त स्थान), पर्याप्त तालिम, वर्क अर्गनाइजेसनमा कार्य मैत्री वातावरण, तालिममा कर्मचारीले के सिक्यो ? तालिम पछि व्यवहारमा कस्तो परिवर्तन आयो ? प्राप्त ज्ञान तथा सीप कति प्रयोग भयो भन्ने विषयको निरन्तर सुपरिवेक्षण, सोको अभिलेखन तथा कर्मचारीलाई पूर्ण जिम्मेवारी बनाउने र तालिम केन्द्रलाई पृष्ठपोषण दिने संयन्त्र विकास, तालिम लिएका कर्मचारीबाट प्रवाहित सेवा र प्रदर्शित व्यवहार बारे निष्पक्ष पृष्ठपोषण दिन सक्ने सक्रिय सेवाग्राही र सो को सुनुवाइ, अभिलेखन तथा प्रतिवेदन दिने प्रणाली विकास, तालिमको मूल्याङ्कन गर्न जिम्मेवारी पाएका निकायको तत्परता र सक्षमता, प्रशिक्षणको मूल्याङ्कनबाट प्राप्त सिकाइलाई आगामी तालिम नीति तथा कार्यक्रममा प्रयोग आदि समग्र पक्षमा गरिने सुधारले तालिमको नतिजामुखी (प्रभावकारी) हुन्छ । इन्डेक्स र इम्प्रेशन तहमा तालिम प्रभावकारी मानिन्छ भन्ने तालिम विज्ञहरूको धारणा छ ।

अतः तालिम प्रभावकारी हुन तालिमसँग सम्बन्धित समग्र पक्षमा सँगसँगै सुधार हुनुपर्छ भन्दैमा केन्द्रको भूमिकाले मात्र तालिममा सुधार हुँदैन भन्ने होइन । हो तालिम केन्द्रको एक्लो प्रयासले आर्थिक प्रशासनको क्षेत्रमा प्रभाव स्तरको नतिजा हासिल नहुन सक्छ तर आउट पुट तहको नतिजाको लागि केन्द्र सधैँ पूर्ण जिम्मेवार हुनु नै पर्छ । तालिम केन्द्रको कार्यक्षेत्रमा पर्ने तालिमजन्य सुधारमा पनि विविध पक्षहरू छन् । तिनीहरू मध्ये डिजिटल ट्रान्सफरमेशन मार्फत पनि प्रशिक्षण कार्यक्रमलाई लचक र प्रभावकारी बनाउनु एक महत्त्वपूर्ण सुधार हुन सक्छ । जुन कोभिड १९ को प्रत्यक्ष भोगाई र सिकाइको उपज हो । अनलाइन (भर्चुअल) तालिममा देहाय बमोजिम सबल र कठिनाइ (चुनौती) रहेका छन् ।

अनलाइन प्रशिक्षणका सबल पक्षहरू
अवसर सिर्जना र चुनौती सामना गर्दै डाइनामिक संस्थामा रूपान्तरण गर्छ ः भौतिक रूपमा कक्षा कोठामा आधारित परम्परागत तालिम नीति कोभिड १९ जस्ता महामारी अनुकूल छैन । मानव बचाउने महत्त्वपूर्ण विकल्पको रूपमा सरकारले बन्दाबन्दी नीति लिएको छ । यो नीतिले केन्दैले आ.व.२०७६/७७ को तेस्रो चौमासिकमा सम्पन्न गर्नुपर्ने कार्यक्रम अवरुद्ध मात्र भएका छन् । कोरोना जस्ता महामन्दीले एकातर्फ समूहगत भौतिक उपस्थितिलाई सीमित बनाउन सुरु गरेको छ भने अर्कोतर्फ लामो कोरोना सक्रमणको नाममा कर्मचारीलाई अनिश्चित समयसम्म सिकाई र वृत्ति विकासबाट वञ्चित गर्न उपयुक्त हुँदैन । तसर्थ कक्षाकोठामा आधारित तालिमका साथसाथै कोभिड मैत्री अनलाइन तालिमको सञ्चालन एक अवसर हो ।

वित्तीय संघीयतालाई प्रभावकारी बनाउन : आर्थिक प्रशासनमा कार्यरत जनशक्तिलाई दक्ष बनाई वित्तीय संघीयता सफल बनाउनु सरकारको एक मूल धेय छ । सङ्घीयतासँगै ७६० वटा सरकारहरू कार्यरत छन् । हालको कक्षा कोठामा आधारित अलचक समय र स्थान केन्द्रित तालिम नीतिले न त सबै संघीय इकाईमा कार्यरत जनशक्तिलाई तालिम प्रदान गर्न सम्भव छ, न त सबै तहमा यस्तै विशेषज्ञ संस्था गठन गरेर तालिम प्रदान गर्न । संगठनको रक्त सञ्चारको रूपमा रहेको आर्थिक प्रशासनमा कार्यरत जनशक्ति तालिम लिनको लागि लामो समयसम्म कार्यालयमा अनुपस्थिति हुँदा सँगठनको लक्ष्यमै असर पर्दछ । तसर्थ, संघीय इकाईको आर्थिक प्रशासनमा कार्यरत कर्मचारीले आफ्नो कार्यालयको कामसँगै नयाँ आर्थिक प्रशासनका संवेदनशील विषयवस्तुको सैद्धान्तिक र व्यवहारिक विषयमा लचिलो कार्य समय र कार्यस्थल (फ्लेक्सी टाइम एण्ड प्लेस) अनुरूप ज्ञान र सीप अभिवृद्धि मार्फत गरिने गुणस्तरीय सेवा प्रवाह र वृत्ति विकास (बढुवा) बिच तालमेल गर्न पनि अनलाइन विधि एक कोसे ढुंगा साबित हुन सक्छ ।

विश्वव्यापीकरण तथा सूचना प्रविधिसँग तालमेल गर्न : सूचना प्रविधिको विकासले संसार एउटा गाउँ बनेको छ । सिर्जनात्मक, प्रतिस्पर्धी, सहकार्यात्मक, पारदर्शिता र विश्लेषणात्मक बन्न अनलाई प्रशिक्षण तर्फ संसार उन्मुख भैसकेको छ । यस्तो परिस्थितिमा तालिम केन्द्रले कक्षाकोठामा आधारित तालिम विधिका साथसाथै अनलाइन विधि पनि कार्यान्वयन गर्नु आवश्यक छ ।

आर्थिक प्रशासनको क्षेत्रमा अवलम्बन गरिएका सूचना प्रविधि सम्बन्धी सुधारसँग तालमेल गर्न : सार्वजनिक आर्थिक प्रणाली सूचना प्रविधिमा आधारित बन्दै छ । नेपाल सरकारको बजेट तर्जुमाको लागि मन्त्रालयगत बजेट सूचना प्रणाली, लेखांकनको लागि कम्प्युटराईज्ड सरकारी लेखा प्रणाली, एकद्धार निकासाका लागि एकल कोष खाता प्रणाली, राजस्वको लेखांकन तथा प्रतिवेदनको लागि राजस्व व्यवस्थापन सूचना प्रणाली मार्फत आर्थिक प्रशासनलाई अनलाईमा आधारित बनाइएको छ । प्रदेश सरकारको लेखांकनको लागि प्रदेश एकल खाता कोष प्रणाली, प्रदेश राजस्व व्यवस्थापन सूचना प्रणाली लागु भएका छन् । स्थानीय तहको आर्थिक कारोबारको बजेटिङ्ग, लेखांकन र प्रतिवेदन गर्नको लागि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लागु भएको छ । सूचना प्रविधि लेखा परीक्षण भई रहेको छ । लेखा परीक्षणमा प्रणालीमा सूचना प्रविधिलाई उच्च महत्त्व दिइएको छ । आर्थिक प्रशासनमा कार्यरत जनशक्तिको तुलनात्मक रूपमा सूचना प्रविधि पूर्वाधारमा पहुँच पनि छ ।

विद्युतीय शासन मार्फत सेवा प्रदान गर्ने सरकारी नीति कार्यान्वयन गर्न, डिजिटल फ्रेमवर्क नेपाल, २०७६ कार्यान्वयन गर्न, तालिमको लागत घटाउन र आम्दानी बचाउन, सेवा प्रवाहमा शीघ्रता ल्याउन, कार्यदक्षता अभिवृद्धि गर्न, समय बचाउन, फ्लेक्सी टाइम र प्लसे अनुरूप तालिम प्रदान गर्न, अपाङ्गमैत्री सिकाई तथा समूहमा काम गर्दा सर्ने सरुवा रोग/भाइरसबाट बच्न । जुनसुकै स्थानमा रहको दक्ष स्रोत व्यक्ति मार्फत सेसन सञ्चालन गर्न सहज हुने ।

अनलाइन प्रशिक्षणका कठिनाइ/चुनौतीहरू
तत्काल इ–सिकाई पूर्वाधार तयार गर्नु । जस्तै अनलाइन तालिम सञ्चालनको लागि स्पष्ट तालिम नीति, सुरक्षित र गुणस्तरीय वेभमा आधारित भिडियो कन्र्फरेन्स सफ्टवेयर विकास तथा पहुँच पुर्‍याउनको लागि तत्काल समय र स्रोत व्यवस्थापन गर्नु । सूचना प्रविधि सम्बन्धी व्यवस्थापनका लागि अब्बल ज्ञान र सीप भएको कम्प्युटर इन्जिनियरको तालिम केन्द्रमा पदस्थापना गरी टिकाई राख्नु । प्रशिक्षकहरूको लागि प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गर्नु । कक्षाकोठामा आधारित तालिम माध्यम र संस्कारसँग आबद्ध भएका सहभागीहरू अनलाइन प्रणाली मार्फत परीक्षा तथा मामिला प्रस्तुत गर्न सक्ने गरी सक्षम र उत्प्रेरित गराउनु । सेसन सञ्चालन, प्रशिक्षार्थीको सहभागिता, सिकाई र अनुशासनको अभिलेख, परीक्षा सञ्चालन तथा सिकाई मुल्याकनका भरपर्दो आधार तथा विधि सहित स्पष्ट अनलाइन तालिम म्यानुअल तयार गर्नु । सुरुवाती चरणमा ई–सिकाईका पूर्वाधारका लागि बजेट विनियोजन गर्नु । प्रशिक्षार्थी र प्रशिक्षकहरूबिच प्रत्यक्ष रूपमा छलफल, संवाद, टेबलवर्क र अन्तरक्रिया नहुँदाका प्रभाव न्यूनीकरण गर्नु । प्रशिक्षक निर्देशित विधि भएको हुँदा प्रशिक्षकलाई बढी लचक, खुला, सहयोगी, मैत्रीपूर्ण बनाउनु ।

अनलाइन प्रशिक्षणको लागि भएका विद्यमान व्यवस्था
निजामती कर्मचारी राष्ट्रिय तालिम नीति, २०७१ मा विश्वस्तरमा आएका नवीनतम अवधारणा, प्रविधि एवं पद्धति अनुरूप तालिम प्रणालीमा सुधार ल्याउने र आधुनिक प्रविधि एवं सूचना तथा सञ्चार क्षेत्रमा आएका परिवर्तनलाई तालिमका क्रममा उपयोग गरिनेछ भन्ने रणनीति रहेको छ भने कार्यनीति अन्तर्गत तालिमलाई प्रविधि मैत्री बनाउन सूचना प्रविधि लगायत नवीनतम प्रविधिको प्रयोगमा जोड दिइनेछ । यस क्रममा दूर शिक्षा, इन्टरनेटमा आधारित तालिम, भच्र्यूयल कक्षा, इटे«निङ्ग, कम्प्युटरमा आधारित कार्यक्रमिक प्रशिक्षण जस्ता पद्धति अपनाइनेछ भन्ने व्यवस्था रहेको छ । उक्त तालिम नीतिले भच्र्यूयल कक्षा वा अनलाइन पद्धतिबाट तालिम सञ्चालन गर्न सकिने नीतिगत रूपमा मार्गदर्शन गरेका छ । तर सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र तालिम कार्यविधि, २०७४, निजामती सेवा ऐन तथा नियमावलीमा भने अनलाइन विधिबाट तालिम सञ्चालन गर्ने सम्बन्धी स्पष्ट कानुनी व्यवस्था भने नभएको ।

अनलाइन तालिमका पूर्वाधार
तालिम केन्द्रको प्रशिक्षणलाई अनलाइन विधि मार्फत प्रभावकारी बनाउन देहाय पक्षमा सुधार गरिनुपर्छ :

नीति तथा विधिमा सुधार : अनलाइन विधि अनुसार पनि तालिम सञ्चालन गर्न सकिने गरी अनलाइन तालिम म्यानुअल र पाठ्यक्रम तयार गर्नुपर्छ । अनलाइन विधिबाटै सहभागी सहभागिता र अनुशासनको अभिलेख, परीक्षा सञ्चालन तथा मामिला लेखन, मामिला प्रस्तुतीकरण, परीक्षण तथा मूल्याङ्कन, नतिजा प्रकाशन र तालिम प्रमाणपत्र वितरण गर्न सक्ने स्पष्ट प्रावधान सहित नयाँ निजामती कर्मचारी राष्ट्रिय तालिम नीति ल्याउनुका साथै सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र तालिम कार्यविधि, २०७४ संशोधन वा नयाँ कार्यविधि तर्जुमा गर्नुपर्ने देखिन्छ । निजामती सेवा नियमावलीमा पनि अनलाइन विधिबाट पनि सरकारी कर्मचारीलाई तालिम दिन सकिनेछ भनी स्पष्ट कानुनी व्यवस्था गर्नु उपयुक्त हुन्छ, ताकि भविष्यमा कसैले पनि अनलाइन तालिमको वैधानिकता बारे कानुनी रूपमा प्रश्न उठाउन नसकुन् ।

सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति व्यवस्थापन : तालिम केन्द्रमा न्यूनतम एक एक जना कम्प्युटर इन्जिनियर र अपरेटरको पदस्थापना गर्नुपर्ने देखिन्छ । तालिम केन्द्रमा भच्र्युअल तालिमको लागि आवश्यक सूचना पूर्वाधार (ठुलो साइजको कम्प्युटर तथा ल्याब) जडान गर्नु पर्ने देखिन्छ । तालिम केन्द्रमा उत्प्रेरित, सूचना मैत्री र सक्षम प्रशिक्षकहरूको व्यवस्थापन गरिनु उपयुक्त हुन्छ ।

गुणस्तरीय तथा सुरक्षित अनलाइन सफ्टवेयरको विकास : अनलाइनबाट प्रवचन दिने, छलफल तथा अन्तरक्रिया गर्ने, अनलाइन ह्वाइटवोर्डको प्रयोग, अन्तरक्रिया, मामिला प्रस्तुति तथा मूल्याङ्कन हुने गरी सुरक्षित र गुणस्तरीय वेभमा आधारित भिडियो कन्र्फरेन्स टुल (सफ्टवेयर) विकास तथा स्वीकृत गर्नु पर्ने देखिन्छ ।

संयोजक समूह तथा प्रशिक्षकको क्षमता अभिवृद्धि गर्ने : तालिम केन्द्रले सबै प्रशिक्षकहरूको लागि एक दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनुपर्ने । प्रशिक्षकलाई विषय वस्तुको तयारी, डेलिभरी विधि, अन्तरक्रिया तथा छलफल गर्ने, प्रशिक्षार्थीलाई मामिला तथा प्रश्नहरू सोध्ने तरिका, सिकाइको मूल्याङ्कन, सहभागीबाट पृष्ठपोषण र समय व्यवस्थापन जस्ता भूमिका बारे स्पष्ट पार्नुपर्ने देखिन्छ । संयोजक समूहले कुशलतापूर्वक समयबद्ध रूपमा प्रशिक्षक, सहभागी, मूल्याङ्कनकर्ता र प्रशिक्षार्थीका बिच योजनाबद्ध समन्वय, सहयोग र सहजीकरण गर्न सक्षम र तत्पर हुनु जरुरी छ । केन्द्रले तालिम सञ्चालनको क्रममा आउने समस्या सम्बोधन गर्ने संयोजक, सहसंयोजक र कम्प्युटर इन्जिनियर सहितको समूह गठन गर्नु पर्ने देखिन्छ । सहभागीहरू पूर्ण रूपमा सूचना प्रविधिसँग आबद्ध हुने गरी तयार हुनुपर्‍यो । सहभागी रहेको कार्यालयले प्रशिक्षार्थीको लागि सूचना प्रविधि सम्बन्धी कम्प्युटर, ल्यापटप, ट्याव, मोबाइल, इन्टरनेटको पहुँचको व्यवस्था गर्नुपर्ने देखिन्छ । प्रशिक्षार्थीमा सूचना प्रविधि मैत्री सिकाई गर्ने चाहना र सिकाईपति प्रतिबद्ध हुनुपर्छ । सुरुमा पाईलटीङ्गको रूपमा सूचना प्रणालीमा अभ्यस्त र माथिल्लो तहका कर्मचारीहरूको लागि अनलाइन तालिम सञ्चालन गरी प्राप्त पृष्ठपोषणका आधारमा आगामी नीति तथा कार्यक्रममा क्रमशः सुधार गर्दै जाँदा राम्रो हुने देखिन्छ ।

अभिलेख व्यवस्थापन : तालिममा सहभागीको सक्रिय सहभागिता, कार्यदिन, प्रशिक्षार्थी सिकाई तथा अनुशासनको अभिलेखन, परीक्षा तथा सोको मूल्याङ्कनको लागि विद्युतीय अभिलेख राख्ने । तालिम सम्पन्न हुने बित्तिकै प्रशिक्षार्थीको विवरण सम्बन्धित कितावखानामा (निजामती कितावखाना, प्रहरी कितावखाना, शिक्षक कितावखाना, सैनिक कितावखाना आदि) अद्यावधिक गर्ने व्यवस्था ।

सुधार कार्यान्वयन ढाँचा तयार गर्ने : माथि उल्लेखित नीतिगत, कानुनी र प्रविधिगत पक्षमा सुधार गरी अनलाइन मार्फत तालिम सञ्चालन गर्नको लागि सरोकारवाला निकायका पदाधिकारीवीचको सहकार्यमा स्पष्ट कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्दा उपयुक्त हुने देखिन्छ ।

तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक भट्टका यी व्यक्तिगत विचार मात्र हुन ।

Tags :
प्रतिक्रिया दिनुहोस