कोरोना परीक्षणमा मनपरी शुल्क : छानबिनका लागि ३ सदस्यीय समिति गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना परीक्षणमा मनपरी शुल्क : छानबिनका लागि ३ सदस्यीय समिति गठन


३० असार २०७७, मंगलबार


काठमाडौँ । अवैध रूपमा कोरोना परीक्षण शुल्क लिने निजी अस्पतालहरूमाथि छानबिन गर्न ३ सदस्यीय समिति गठन भएको छ । कोरोना परीक्षणका लागि स्वीकृति नलिई कोरोना परीक्षणका लागि शुल्क लिने काठमाडौँ उपत्यकाका ग्राण्डी, ह्याम्स र जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमाथि छानबिन हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले मन्त्रालयका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्रीको संयोजकत्वमा असार २८ गते ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्याथोलोजिस्ट डा. शंकर काफ्ले र स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत रवीकान्त मिश्र सदस्य छन्।

सरकारी निर्देशिका विपरीत स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउने र सेवाग्राहीसँग मनपरी शुल्क उठाएको पाइएपछि उक्त तीन अस्पतालमाथि छानबिन गर्न मन्त्रालयले समिति गठन गरेको हो ।

मन्त्रालयले उक्त अवैधानिक कार्यबारे छानबिन गरी २ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

उपत्यकाका वीर, पाटन र शिक्षण अस्पतालले शुल्क लिएर परीक्षण गर्न अनुमति पाएको थियो। त्यसपछि आइतबार मात्रै सानेपास्थित स्टार अस्पताल र सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजले आफैँ स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति पाएका थिए।

सरकारले अनुमति दिएका यी अस्पतालले ५ हजार ५०० मात्र शुल्क लिन पाउनेछन् । छानबिन गर्न लागिएका अस्पतालले भने ५ हजारभन्दा बढी लिएको बुझिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस