निजामतीमा पानी नचल्ने कर्मचारी हामी ! « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

निजामतीमा पानी नचल्ने कर्मचारी हामी !


२७ असार २०७७, शनिबार


प्रत्येक दसैँमा हजुरआमा भन्नुहुन्छ सुब्बा साप भएस् ! उ बेलाको सम्झिएर होला सायद । उ बेला सरकारी जागिरको कत्रो इज्जत थियो । सबैको मान सम्मान पाइन्थ्यो । विभेद थिएन सबैले हेर्ने दृष्टिकोण राम्रो थियो । तर, आज भोलि ‘सुब्बा साप’ र ‘खर्साप’का दिन गए। जब जब लोकतन्त्र, गणतन्त्र आयो तब तब तल्लो तहका कर्मचारी हेपिने र पेलिने क्रम चलिरह्यो ।

कुनै पनि कार्यालयको फन्टलाइनम बसेर काम गर्ने, जनतासँग प्रत्यक्ष सम्पर्क हुने भनेको सुब्बा खरदारको नै हो । र सेवाग्राहीको गाली खाने उता हाकिम’जी’को गाली खाने पनि यही वर्ग नै हो । काम जसले बिगारोस् गाली चाही खानै पर्ने बाध्यता त थियो र छ नै । तर पनि जसोतसो सरकारी सेवा कम्तीमा भविष्य त राम्रै छ नि भन्दै यो सेवामा होमिएकै छन् । सेवा भित्रका पीडा त सुनाइ नसक्नुका छन् । बाहिरबाट भन्दिनेले त सरकारी जागिर खाकोछ, मस्ती छ, भने भैगो । चलाउन कति कठिन छ ? भोगेको लाई मात्र थाहा छ। नत कुनै भत्ता नत कुनै भ्रमण खर्च , नत कुनै मिटिङ खर्च, यातायात, क्वाटर, इन्धन, सञ्चार लगायतका सुविधा त केवल माथिल्लो तहकोले मात्र पाउने परिपाटी छ । यस्तो सम्मकी रा प अनङ्कितको त पानी नै नचलोस् ।

हुन त हाकिम ‘ज्यु’हरूलाई रिस उठ्ला के खान हाकिम हुन नसकेर बोल्दै हिँड्ने ? भन्नुहोला तर सबैजना खुला परीक्षा पास गरेर त हाकिम भको होइन होला बढुवा बाट होला । तर अहिले त माननीयहरूलाई यति जाबो सानो जागिरको पनि के सारो डाहा लाको हो आखिर निजामती सेवा ऐनमा पेलिने र हेपिने पनि यही वर्ग पर्ने ? हुन् त माननीयहरूलाई दुख गरेर नागरिकले खाएको र खुसी भएको त कहाँ देख्न हुन्छ र ! वृत्ति विकासमा रोक लगाउनेगरी कानुन बनाउने, कर्मचारीको सुविधा कटौती भयो भनेर अर्थमन्त्रीले भन्दा तररर खुसी भएर ताली बजाउनेले कर्मचारीको पक्षमा बोल्देलान् भनेर के नै आशा गर्नु र खोइ । उहाँहरू त कानुन नै संशोधन गरेर आफ्नोपो सुविधा बढाउनुहुन्छ ।

जेनतेन जिन्दगी गुजारेका तल्लो तहका कर्मचारी सधैँ मारमा नै हो । बनाउनुहोस् कानुन खारेज गरीदिनोस् निजामती सेवा अनि नियुक्ति गर्नुहोस् आफ्ना मान्छे । तब मात्र हजुरहरूले भनेको समाजवाद पक्कै आउनेछ ।

कर्मचारीतन्त्र पनि गतीलो त कहाँ छ र ? राजनीतिलाई सही तवरले सही बाटोमा हिँडाउने त आखिर कर्मचारीतन्त्र ले नै हो । यदि कर्मचारीले नचाहिने हो भने नेताले मात्र कसरी भ्रष्ट्राचार गर्न सक्छन्, हस् मा हस् मिलाएर नेता ले जे भन्यो त्यही मान्दै हिँड्दा देश बिग्रेको हो । तसर्थ विशेष गरेर माथिल्लो तहका कर्मचारी वास्तविक रूपमा सुध्रनु जरुरी छ त्यसो भन्दै मा तल्लो तहको कर्मचारी ले जे गर्न नि पाइने भनेको होइन । आफ्नो मर्यादा कायम गर्न सक्नुपर्छ ।

सेवा प्रवाहमा अहोरात्र खटिने तल्लो तहका कर्मचारीसँग माथिल्लो तहका कर्मचारी मिठो वचन बोल्दैमा घटिँदैन । उनीहरूको कामको मूल्याङ्कन सही तरिकाले गर्न सक्नुपर्छ। कानुन बनाउँदा विशेष गरेर तल्लो तहकोलाई प्राथमिकतामा राखेर नीति बनाउनुपर्छ। माननीय ‘ज्यु’ ले बुझ्न जरुरी छ । जिन्दगीका कैयौँ वर्ष सङ्घर्ष गरेर गरिबका छोराछोरीले खाएको सानो जागिरमा अङ्कुश लगाउनु त पाप गरे सरह हो । जातीय विभेदको रूपमा रहेको पानी नचल्ने परम्परा त बिस्तारै हराएको छ । त्यस्तै  निजामतीमा रहेको विभेद (पानी नचल्ने) हेपाहा प्रवृत्ति हराउन जरुरी छ । तब मात्र वास्तविक समानता कायम हुनेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस