ऊ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   


२७ असार २०७७, शनिबार


कहिले दौरा, सुरुवाल र ढाका टोपीमा
कहिले बहुमूल्य टाई, सुटमा
चिटिक्क सजिएर
गम्भीर मुद्रामा देखिन्छ ऊ
लोकको अगाडि
भद्र देखिनु छ उसलाई
गम्भीर बन्नु छ उसलाई
किनकि ऊ आफूलाई
बडो श्रेष्ठ ठान्छ ।

उसको वरिपरि देखिने जन मानसमा
उसले कर्म गर्ने कार्य स्थलमा
ऊ हँसिलो, फरासिलो
बन्नु हुँदैन
ऊ कठोर देखिनु पर्छ
ऊ गम्भीर देखिनु पर्छ
उसले देख्ने साना मान्छेहरू सँग
ऊ हितैषी बन्यो भने
मित्रवत् व्यवहार देखायो भने
मुस्कुराएर वार्तालाप गर्‍यो भने
ऊ आफू पनि सानो हुन्छ
यही उसको मनोविज्ञान छ
त्यसैले त ऊ शब्द शब्द
तौलेर बोल्छ
किनकि ऊ आफू ठुलो देखिनु छ ।

ऊ भित्र ईर्ष्या छ
ऊ भित्र डाहा छ
दम्भ, अभिमान र अहङ्कार छ
ऊ सोच्छ
कोही म भन्दा अगाडि नबढोस्
कोही म भन्दा ठुलो नबनोस्
त्यसैले दिनरात, चारै प्रहर
ऊ सोच मग्न छ
ऊ तनाव ग्रस्त छ ।

ऊ भित्र वात्सल्यता छ
तर फुर्सद कहाँ छ ?
ऊ भित्र प्रेम छ
आफ्नी प्रियतमा सँग
आलिङ्गनमा बाँधिएर
मस्त निदाउने रहर छ
आफ्ना दौंतरीहरु सँग
निर्धक्क नाच्ने, गाउने चाहना छ
सारा संसार बिर्सिएर
हिलो, धुलोमा खेल्ने
झमझम वर्षे झरीमा रुझ्दै
लड्दै, उफ्रिँदै कुद्ने चाहना छ
ती खोला, खहरे
बेसुरले नाघ्ने अभिलाषा छ
तर विवश छ ऊ
किनकि ऊ बाँधिएको छ
पद, प्रतिष्ठाले घेरिएको छ ।

चञ्चलता उसलाई
शोभा दिँदैन
प्रेम, सद्भाव र वात्सल्यता
अब उसलाई सुहाउँदैन
उसलाई ताते ताते
हिँडाउने अग्रजहरू
अब पाखे बनेका छन्
असभ्य, गँवार बनेका छन्
ती आफन्त, ती साथी सङ्गति
ती पछौटे र गाउँले सँग
हिमचिम बढायो भने
अतीत कोट्यायो भने
उसको कद सानो हुन्छ
उसको इज्जत घट्न सक्छ
त्यसैले ऊ
अलग मान्छे बन्नु परेको छ ।

बर्सौँ पछि दसैँमा
गाउँ आउँदा ऊ
बारुले गावुमा दुहेको
माली गाईको दूध
अगेनाको कालो कुँडेमा घटाएर
आमाले प्यार सँग दिँदा
ठुस्स गनाएकोले
आमाको मन राख्न नाक चिम्राई
बलजफ्ती पिएको थियो
थोपा थोपा सँगालेर आमाले
हर्पेमा जमाएको
एक थुर्मि घ्यू
भागमा राखिदिन खोज्दा
ग्याष्ट्रिकको बहाना गरी
पन्छाएको थियो ।

ऊ विचित्रको छ
उसको एउटा अलग्गै संसार छ
जहाँ ऊ ती सीमित
स्वारे द्वारेहरू सँग
अनेकौँ तानाबाना बुनिरहेको हुन्छ
राता, काला र हरिया
लेबलका झोलहरूमा
चुर्लुम्म डुबिरहेको हुन्छ
रात रातभर
मोज मस्तीमा झुम्दै
निर्लज्ज नाङ्गिएर
रतिक्रीडामा रमाइरहेको हुन्छ
र जब उज्यालो हुन्छ
यथार्थ संसारमा आउँदा
ऊ भित्रको प्राकृतिक
मान्छे मारेर
चारै तिर कृत्रिमताको
लेप दलेर
ऊ गम्भीर बन्नु परेको छ
ऊ भद्र बन्नु परेको छ
र साँच्चै
अलग मान्छे बन्नु परेको छ ।
…….अस्तु…….

प्रतिक्रिया दिनुहोस