मेट्ने र मेटाउने परम्परा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मेट्ने र मेटाउने परम्परा


२७ असार २०७७, शनिबार


समय बित्दै गयो, कति वसन्त आए होलान्, कति पात झरे होलान्, कति पलाए अनि कति पलाएनन्।समय बितेको पत्तै भएन अनि पत्तो हुँदो रहेनछ पनि।यसै गरी समय बित्दै जाँदा कुनै ठाउँमा लेख्ने ठाउँ नै नभए या भेट्टाएन भने जसरी भएनि अर्थात् सो ठाउँमा लेखिएको अर्काको नाम मेटाएरै भए नि आफ्नो नाम लेख्ने परिपाटी मानवताजीको प्रकृतिको एक विशेषता नै होला।

मानवजातिको सरलता र स्वाभिमानताले उसलाई विशिष्ट बन्ने हैसियत राख्न सिकाउँदछ। उसले आफैलाई चिन्न सक्ने क्षमता, स्वभाव जस्ता गुण राख्दछ र विवेकशील भएको पहिचान गराउँदछ। यो सबै मानविकी हो अनि छ पनि। यसभित्र केही सम्भवहरू, केही समाधानहरू, केही फरक-फरक कोणहरू बाट समस्यामा हेर्न र सुल्झाउन मिलेको छ। बिलकुलै लाग्छ कि, यही जीवनमा नै हो सबैखाले विश्लेषण, संश्लेषण गर्ने र गर्न सकिने। जसलाई अझ स्पष्ट रूपमा भन्दा वा गौरवका साथ सभ्य भाषामा भन्दा मानवीय सक्षमता नै यही हो कि ?

जसले अरूलाई पूजा गर्न, आदर अनि सम्मान गर्न सिकाउनुपर्ने हो, उसैले मेट्ने र मेटाउने परम्परा सिकाउने सम्बन्धी धार्मिक गुरुहरूका मुखारविन्दुबाट सुनिने गरेको एउटा प्रसङ्ग जुन यस मेट्ने अनि मेटाउने परम्परासँग सम्बन्धित छ यसलाई यहाँनेर राख्न उपयुक्त देखिन्छ, ‘प्राचीन भारतवर्षहरुमा सबैका प्यारा संसारकै एक चक्रवर्ती राजा थिए रे। राजालाई एक दिन प्राचीन बृषभासल पर्वतमा जान मन लागेछ। जुन पर्वतमा पुग्ने जो कोहीले पुगेपछि आफ्नो नाम लेखेर फर्किनुपर्ने चलन रहेछ।उहाँलाई त्यस पर्वतमा गएर म नै सर्वोत्कृष्ट एवं संसारकै चक्रवर्ती राजा हुँ भनेर आफ्नो नाम लेख्न जान मन लागेछ र गएछन् पनि। राजा आफ्नो दलबलका साथ त्यस पर्वतमा पुगिसक्दा त उहाँभन्दा अघि नै सो पर्वतमा अरू कसैका नामै नामले पुरै भरिसकेको पाए।अब त्यस समयमा उहाँको नाम लेख्ने ठाउँ कतै पाईएन।

अब चक्रवर्ती राजालाई ठुलो टाउको दुखाइको विषय बन्यो त्यो क्षण।उहाँलाई त्यतिबेला आफू सच्चा र चक्रवर्ती राजा भएकोमा ठाउँ नभेटे आफ्नो नाम नलेखी फर्कनुपर्ने सोच आउनुपर्थ्यो तर त्यस्तो सोच त्यतिबेला आएनछ। किनकि, उहाँमा त्यतिबेला आफू निकै महान् भएको महसुस भएछ तर उहाँले त्यसो नगरीकन त्यस पर्वतमा लेखिएको कुनै एक-दुई जनाको नामलाई मेटेर भए पनि आफ्नो नाम लेख्नुपर्‍यो भनी ती एक-दुई जनाको नामलाई मेटी आफ्नो नाम लेखेर फर्कनुभयो। जुन परम्परा मेट्ने र मेटाउने परम्पराको रूपमा वर्तमान समयमा विश्वमा अनि नेपालको राजनीतिक, प्रशासनिक लगायत अन्य क्षेत्रहरूमा हाल सम्मपनि ज्युँका त्युँ छ। वास्तवमा त्यतिबेला नै मेट्ने र मेटाउने परम्पराको विकास ती चक्रवर्ती राजाले नगरेको भए, सबैलाई लिएर अघि बढेको भए सरलताको जरो मजबुत हुन्थ्यो कि ? तर आफ्नो अभिमानले मान्छेलाई कहाँ अमर राख्न सक्थ्यो र मेट्ने र मेटाउने परम्पराको दौरानमा’। यहाँ उल्लेखित गरिए जस्तै बितेका समयका भुल वा गलत परम्पराहरूमा पश्चात्ताप त के त्यस्ता भुलहरूका खाल्डाहरूलाई झन् अझ राम्रोसँग नापिरहेको अवस्था विद्यमान छ।वास्तवमा सफल अनि स्वस्थ प्रवृत्ति भनेको त आफ्नो वर्तमान समयका सक्षमताहरू र सृजन शक्ति सँगसँगै सहज भावबाट प्रसन्न रही अगाडी बढ्ने पो हो।

यसै सन्दर्भमा वि.सं. २०४६ सालको जनआन्दोलनले खोलेको ढोकाहुदै नेपाल प्रवेश गरेको बहु दलीय खुला राजनीतिले एउटा विचित्रको परिस्थिति सृजना गरेको छ, हाम्रो मुलुकमा।खुलाबजार र निजीकरणको नाममा विदेशी व्यापारीका मुट्ठीभित्र बन्द छ वर्तमान नेपाली अर्थ-व्यवस्था।सो अर्थ-व्यवस्थाभित्र देखा परेको अभाव र महँगीले त झन् तरबार लिएर एक छिनमा गर्लम्म छिनाउने मुद्रामा छ नेपाली जन-जीवनलाई।यस्तो नाजुक अवस्था सृजना भएको टलटलापुर अवस्थामा पनि केही हुल अझै केही उल्लेखित परम्परावादीहरू चक्रवर्तीको रुपधारणमै व्यस्त र अझै त्यही मेट्ने अनि मेटाउने परम्परामै चुर्लुम्म भएको देखिन्छन्।

स्वाभाविक रूपमा मानिस समय र परिस्थितिको दास हुन्छ। ती परिस्थितीहरुसँग हातेमालो गर्दै यस यसलाई सार्थक मार्गमा र सत्कर्ममा डोर्‍याई आफूले गरेको कुनै पनि कर्म हितकारी हुने गरी गर्नुपर्दछ।किनकि, मानव जीवन एक दुर्लभ जीवन हो। यस जीवनबारे १८ पुराणहरूमा, ‘सुख र दुःखका कुरा मानिसको कर्ममा निर्भर रहेको हुन्छ’ भनी वर्णन गरिएको वाक्य विभिन्न सन्त, महात्माहरूका प्रवचनहरूमा समेत बेला-बेलामा सुनिने गरिन्छ। नेपालको वर्तमान समय नियाल्दा त जिउने तरिका फरक-फरक होको बहानामा विशाल गलत मनोवृत्तिहरू जस्तै: यहाँ एकले अर्कालाई दायाँबायाँ लगाएको, उसको सामु अरू त देखिनै भएन किनकि उ अर्काको मर्यादाको ख्यालै नराखी अर्काको हक मार्न तत्पर भएको देखिन्छ।अझ एकले अर्कालाई अमुकीकरणको आरोप लगाइरहेको देखिन्छ मात्र ठुलो कुर्सी पाउन। यस्ता कुराहरू कुनै विशेष क्षमताका टुसाजस्तै गलत परम्पराको रूपमा पलाएका देखिन्छन्।

वस्तुतः एकले अर्कालाई यसरी चिढ्याउने पक्ष वा यस्ता शक्ति, सत्ता, मान, अनि प्रतिष्ठाका लागि मेट्ने र मेटाउने परम्पराजस्ता यी धारणा र अभ्यास गलत हुन् भनी विभिन्न कूटनीतिज्ञहरूले बेलाबेलामा सुझाव दिएको विभिन्न सञ्चार माध्यमहरूमा सुनिन्छ। पछिल्ला दिनहरूमा नेपालको राजनीतिक एवं प्रशासनिक संयन्त्र दिनभरि रेल पर्खँदा–पर्खँदा लखतरान परेको एउटा यात्रुको जीउ आरामदायी कुर्सी पाउने बित्तिकै भुसुक्कै निदाउने जस्तै भएको छ, अनि केही व्यापारिक वर्ग निष्क्रिय आम्दानी हुने ब्याज ताकेर बसेको अवस्थामा देखिन्छन्। जसले गर्दा हाम्रो समाजमा नयाँ उद्यमबाट समृद्धिको यात्रामा बढ्न निकै चुनौतीपूर्ण एवं पेचिलो बन्दै गएको छ। अझ यस्तो गलत मेट्ने अनि मेटाउने यात्राका क्रममा मौनताबाट आफ्नो नामलाई कलङ्कित हुनबाट बचाउन सके पो उपलब्धि हुन्थ्यो कि, अर्काको टाउकोमा व्ययभार थुपार्ने पुरानो संस्कृति नै आज जामा पहिरिएर खराब परम्पराको रूपमा टुप्लुक्क आइपुगेको छ।जोकोही अर्काकै थाप्लोमा आफ्नो व्ययभार थोपार्न व्यस्त अभ्यस्त देखिन्छन्, अर्काकै थाप्लोमा बजार्न व्यस्त।तर यो व्ययभार अर्काको थोप्लामा बजारी मोजमज्जा आफूले लिनु त रत्नाकरको संस्कृति पो हो। त्यसैले एउटा निसन्देह भयानक शस्त्र ‘जिब्रो’ हो र यस शस्त्रबाट आफ्नो नामलाई कलङ्कित हुनबाट बचाई यो मेट्ने अनि मेटाउने परम्परा त्याग्न सक्नु दीर्घकालीन समाधान हुन आउँदछ।

चक्रवर्ती नै भए पनि हानी र शोकलाई छुट्ट्याउन र सही निर्णय लिन सक्नुपर्दछ, यसले जोहोकीलाई असल र दृढ बनाउँदछ, जसभित्र हरेक बिष्फोटनयोग्य कुराहरू लुक्न सकुन्।धेरै-थोरै बल त सबैसँग अवश्य हुन्छ, तर आत्मबल केहीसँग मात्र। किनकि, हातपाखुरा मोटा, कान छेल्ने गरी गाला बढ्दैमा अनि उत्तीस जस्तो आकासिँदैमा र भुँइकटहर जस्तो होचिदैमा त कसैले पनि बलियो भएको प्रमाणपत्र प्राप्त गर्ने होइन।त्यसैले बुझौँ कि मनुष्य प्रकृतिको सर्वश्रेष्ठ प्राणी हो। मानवले आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्ने क्रममा एउटा समान विचार अँगाल्ने, एउटा सिद्धान्त अनि एउटा वा अन्य केही विचारधारालाई स्वीकार गरिसकेको अवस्थामा समाजका लागि त एक सफल उदाहरण भई प्रस्तुत हुने प्रयत्न गरौँ।

अन्त्यमा,
नाम मात्रको परिवर्तनले सम्भव गराउन खोज्नुले के परिवर्तन होला र किनकि उदाहरणको रूपमा कुनै रोड/सडक/राजमार्गको नाम परिवर्तन गरेमा मात्र त त्यो राम्रो अनि चिल्लो हुने होइन, अनि त्यसमा बिग्रेका ठाँउहरु, खाल्डाखुल्डीहरू नाम फेर्दैमा मात्र पुरिने हैनन् क्यारे। नाम परिवर्तन त केवल समय सापेक्षताका लागि गरिए पनि नामै मात्र फेरेर केही हुन्न नै त्यसैले अब यो मेटिएको ठाउँ नामले नभई कामले भर्नुपर्ने बेला आएको छ। यी विभिन्न अर्थहरूलाई सैद्धान्तिक रूपमा मात्रै नभई व्यवहारिक रूपमा परिवर्तन गर्ने बेला आएको छ। त्यसैले प्रत्येकले विगतलाई आधार मानी वर्तमानलाई टेकेर भविष्य सुनिश्चित गर्नतिर लाग्नुपर्दछ नकि मेट्ने अनि मेटाउने परम्परातिर।

सुझावका लागि : [email protected], @joshinawaraj301

Tags :
प्रतिक्रिया दिनुहोस