सरुवामा भनसुन र दबाब दिन लगाउने कर्मचारीलाई कालोसूचीमा राखेर कारबाही « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरुवामा भनसुन र दबाब दिन लगाउने कर्मचारीलाई कालोसूचीमा राखेर कारबाही


२६ असार २०७७, शुक्रबार


काठमाडौँ । पछिल्लो समय भनसुनले राम्रै बजार लिँदै आएको छ । यसको प्रभाव नेपालको सार्वजनिक प्रशासनमा अझ धेरै छ । भनसुनकै कारण नहुने काम पनि हुने गरेका छन् भने भन्ने र सुन्ने नहुनेहरूका लागि हुने काम पनि नहुने गरेको कुरा घाम जत्तिकै छर्लङ्गै छ ।

सायद यही अघोषित प्रथा र परम्पराबाट आजित भएर होला भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले कर्मचारी सरुवा व्यवस्थापन सम्बन्धी एउटा परिपत्र नै जारी गरेका छन् ।

विभाग र अन्तर्गतका कार्यालयहरूमा हुने कर्मचारी सरुवा र पदस्थापनलाई निष्पक्ष, न्यायोचित, पारदर्शी र अनुमानयोग्य बनाई कर्मचारीको खटनपटन व्यवस्थित बनाउन विभिन्न ६ वटा कार्य प्रणाली अवलम्बन गरेको जनाएका छन् ।

जसअनुसार विभागले कर्मचारी सरुवा गर्दा कर्मचारी सरुवासम्बन्धी निवेदन इमेल वा अनलाइनमार्फत मात्र लिने, सरुवा र पदस्थापनको लागि सम्बन्धित कर्मचारीबाहेक अन्य दोस्रो या तेस्रो व्यक्ति वा पक्षले दिएको निवेदन दर्ता स्वीकार नगर्ने, कर्मचारी कार्यरत कार्यालयको प्रमुखलाई सोधेर वा जानकारी गराएर मात्र कर्मचारीको सरुवा गर्ने जनाएको छ ।

त्यसै गरी मिलेसम्म कर्मचारीलाई घर पायक सरुवा गर्ने, नसके सम्बन्धित कर्मचारीलाई कारणसहित जानकारी गराउने र अर्को पटकको लागि प्राथमिकतामा राख्ने, सरुवा निवेदन प्राप्त भएपछि दरबन्दी खाली रहेको वा सरुवा गर्न मिल्ने अवस्थामा अविलम्ब सरुवा गरी सो को जानकारी तत्काल कर्मचारीलाई दिने र दुर्गम स्थानका कार्यालय रोज्न कर्मचारीलाई प्रोत्साहन गर्ने तथा त्यसरी खटिने कर्मचारीलाई निश्चित अवधि पश्चात् माग बमोजिम सुगम कार्यालयमा सरुवा गर्ने कार्य प्रणाली विभागले अपनाएको जनाइएको छ ।

बिहीबार एक सूचना जारी गर्दै विभागले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र अन्तर्गतका कार्यालयहरूमा आन्तरिक वा अन्य निकायबाट सरुवा हुन चाहने कर्मचारीलाई सरुवाका लागि निवेदन र कागजात पठाउने इमेल, अनलाइनका लागि प्रक्रिया तथा फोन नम्बरसमेत उपलब्ध गराएको छ । सरुवा निवेदन र कागजात [email protected] वा [email protected] मा इमेल गर्न सकिने छ भने अनलाइन निवेदनका लागि विभागको www.dolma.gov.np मा गई कर्मचारी सरुवा निवेदन मा क्लिक गरी निवेदन दिने सकिने छ । विभागको ०१ ४२०५८५ मा फ्याक्समार्फत समेत निवेदन र कागजात पठाउन सकिने छ ।

कर्मचारीले सरुवाको लागि सास्ती हैरानी खेप्नु नपरोस्, चलखेल नहोस् र सरुवा एक निश्चित पद्धतिमा आधारित भई विवादरहित बनाउन उनले त्यस्तो प्रणाली अवलम्बन गरेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताएका छन् । न्यायोचित सरुवा प्रणालीले कर्मचारीलाई उच्च मनोबलका साथ सेवा प्रवाहमा खटिन प्रोत्साहन गर्दछ भन्ने मान्यता विभागले लिएको पनि उनको भनाई छ ।

साथै कर्मचारीका जायज र कार्यान्वयनयोग्य माग विभागले नै सम्बोधन गर्ने हुनाले अनावश्यक भनसुन गराउने तथा दबाब दिन लगाउने कर्मचारीलाई विभागले नकारात्मक सूची(नेगेटिभ लिस्ट)मा राखी कारबाही गर्नेसमेत विभागले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस