पोखरा र लमजुङमा पहिरोले १० जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पोखरा र लमजुङमा पहिरोले १० जनाको मृत्यु


२६ असार २०७७, शुक्रबार


काठमाडौँ । कास्की र लमजुङका विभिन्न स्थानमा अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर १० जनाको ज्यान गएको छ ।

पहिरोले कास्कीमा ७ र लमजुङमा ३ जना गरी १० जनाको मृत्यु भएको हो ।

पोखरा–१८ सराङकोट गोठादीमा बिहीबार राति साढे २ बजेतिर खसेको पहिरोले टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, टंकबहादुरका दाजुका नाति ६ वर्षीय सुवान थापा र ११ वर्षकी इसिका थापा छन् । अर्का एक बालकको सनाखत भइनसकेको कास्की प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारी र २६ पैतेडाँडाका स्थानीय दुर्गाबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अहिले पनि पहिरो जाने क्रम जारी रहेको छ भने कालिमाटी र फुस्रे खोलाबिचमा खसेको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको जनाइएको छ ।

त्यस्तै बिहीबार रातिको भीषण वर्षापछि गएको पहिरोमा परी लमजुङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बेंसीसहर नगरपालिका–१०, खााचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरूका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको हो ।

उनीहरूलाई उद्धार गरी राति नै लमजुङ जिल्ला सामुदायिक अस्पताल पुऱ्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस