सडक विभागका सिडिइबिरुद्ध सवा दुई करोडको अकूत मुद्धा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सडक विभागका सिडिइबिरुद्ध सवा दुई करोडको अकूत मुद्धा


२५ असार २०७७, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा सडक विभागअन्तर्गत हाल मध्यपहाडी लोकमार्ग सडक आयोजना तुल्सीपुर दाङमा कार्यरत सिनियर डिजिनल इञ्जिनीयर जितेन्द्रराज शाक्यविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगले शाक्यका बारेमा लामो समयदेखि अनुसन्धान गरेको र सोही आधारमा अकूत सम्पत्ति कमाएको ठहर गर्दै मुद्दा दायर गरेको हो । आयोगका अनुसार सिनियर डिभिजनल इञ्जिनीयर शाक्यमाथि एक सय पाँच वटा नक्कली कोटेशन बनाई रु पाँच करोडभन्दा बढी भ्रष्टाचार गरेको अभियोग लागेको थियो । सार्वजनिक सेवामा २०३४ साल साउन २ गते प्रवेश गर्नुभएका शाक्यको २०७६ असार ३१ गतेसम्मको सम्पत्तिको जाँच गरेको थियो ।

आयोगको अनुसनधान अनुसार रु एक करोड ५६ लाख ६ हजार ४८० बराबरको आय वैध रहेको पाइएको छ । सोही अवधिमा शाक्यले रु तीन करोड ८१ लाख १० हजार ४९० बराबरको लगानी तथा खर्च गरेको पाइएको छ । आयोगका अनुसार वैध सम्पत्तिको तुलनामा रु दुई करोड २५ लाख चार हजार १० बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको छ ।

अवैध रुपमा आर्जन गरेको सम्पत्ति सिनियर डिभिजनल इञ्जिनीयर शाक्यले श्रीमती मिथिला, छोरीहरु ज्योत्सना र उन्नतिको नाममा घर जग्गा खरिद गरेको, बैंकमा जम्मा गरेका, सवारी साधन खरिद गरेको पाइएको छ । आयोगले सिनियर डिभिजनल इञ्जिनीयर शाक्य, उहाँका श्रीमती मिथिलाको नाममा रहेको सम्पत्ति जफत गरी हदैसम्मको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

Tags :
प्रतिक्रिया दिनुहोस