ग्रामीण विकासमा हाम्रो भूमिका « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ग्रामीण विकासमा हाम्रो भूमिका


२४ असार २०७७, बुधबार


विकास आफैमा एक गतिशील तथा प्रगतिशील प्रक्रिया हो । विकास विनाको अवस्था र व्यवस्था हामी कल्पना पनि गर्न सक्दैनौ सायद । समयको माग र आवश्यकता सँगै विकासको गति पनि परिवर्तन हुने गर्दछ । विकास रूपान्तरणकारी प्रक्रिया पनि हो । त्यसैमा पनि अझ वर्तमान समयमा विकाससँग जोडिएको दिगो विकासलाई पनि सँग सँगै लीन कसरी सम्भव छ, भन्ने कुरामालाई पनि विशेष जोड दिन आवश्यक छ । विकास केन्द्रीकृत नभई ग्रामीण क्षेत्रमा विकेन्द्रिकृत गरी तीव्र गतिका विकासको मूल फुटाउन आवश्यक छ । समाज दिन प्रति दिन रूपान्तरण र चलायमानको प्रक्रियामा छ । त्यस सँगै ग्रामीण बस्ती तथा इलाकामा पनि विकास र निमार्र्णको गति तिब्रत्तर हुनु पर्दछ । समाज रुपान्तणको लागि हरेक क्षेत्रमा कुनै न कुनै रूपमा विकास हुनु पर्दछ ।

दिन प्रति दिन कुनै न कुनै रूपमा विकास त भई नै रहेको छ । तर जुन रूपमा ग्रामीण इलाका वा क्षेत्रमा विकास हुनु पर्ने हो त्यो चाही भएको पाइँदैन । अरूले गरिदेला र हामीलाई सहज होला भन्ने मानसिकता बाट विच्छीप्त हामी कहिले सम्म हुने ? हामी काममा भन्दा नि गफ गाफ र मौनतामा बढी रुमलिन पुगेका छौँ । अरूको मुख ताक्ने प्रकृतिले गर्दा सामान्य विकास निमार्णका कार्य पनि गर्न हामीलाई धौ धौ परि राखेको अवस्था छ । हिजो जुन अवस्था थियो आज त्यो अवस्था अवश्य छैन नै । कसैले भोगेका, कसैले देखेको र कसैले सुनेका कुरा पहिले पहिले ग्रामीण क्षेत्रका बाटो, घाटो, कुल कुलेशा, पुल पुलेसाको काम सामूहिक रूपमा ग्रामीण स्तरका जनसमुदाय मार्फत जनसर्मदान बाट नै हुने गर्दथ्यो । तर आज सामान्य खानेपानीको पाइप जोडन नि हामी अरूको प्रतीक्षा मा छौँ । हामी युवामा जोस जाँगर त छ तर हाम्रो जोस जाँगर खरानी रूपी भएको छ । अरूको परनिर्भरतामा रहने प्रवृत्तिको अन्त्य नै अहिलेको विकासको मूल विकल्पको आधार हो ।

हिजो भन्दा आज विकास त भएको छ र हुनु पनि पर्छ । यो विकासको सामान्य चरण पनि हो । तर सामान्य विकास निमार्णको काम पनि अरूको निर्भरतामा भएको छ । बुहसंख्यक जनसङ्ख्या ग्रामीण क्षेत्र भएको कुरा हामी सबैलाई सर्वविदितै छ । ग्रामीण इलाकामा बस्ने हाम्रो जमात पनि ठुलै छ । त्यसका पनि युवा पुस्ताको सङ्ख्या पनि धेरै छ । आज आज भोलि भोलि जसरी हुन्छ हाम्रो जोस र जाँगर ग्रामीण पूर्वाधार विकासमा केही प्रतिशत भए पनि लगाउन र खर्च गर्न सकियो भने नि सरकारको लागि र हाम्रै समाजको लागि पनि धेरै राम्रो हुने थियो । परनिर्भरताको बाटो छाडि आफ्नो ठाउँ आफै बनाऊ भन्ने उद्देश्य राख्यो भने विकास निमार्णको कार्यले अवश्य गति लिन्छ होला ।

ग्रामीण क्षेत्रको युवा पुस्ताको अगुवाइमा विकास गरी ग्रामीण क्षेत्रलाई थप हराभरा र कृषि उत्पादन तथा पकड क्षेत्रको रूपमा विकास गर्नु पर्छ । ग्रामीण क्षेत्रको ऊर्जा रूपी माटोलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरी कृषिमा आधुनिकीकरण ल्याई ग्रामीण क्षेत्रबाट पलायन हुने भन्दा नि आक्रशण गर्ने थलोको रूपमा विकास गर्नु पर्छ । पर्याप्तता स्रोत साधन हुँदा हुँदै पनि अरूको आस गर्ने बानीले गर्दा हामी ग्रामीण परिवेश भुल्न थालेका छौँ । युवा पुस्तामा हुने महत्वकाक्षी विचार र सोचले गर्दा आज हाम्रो ग्रामीण क्षेत्र ओझेलमा परेको छ । दिन प्रतिदिन हुने दक्ष युवा जमातको पलायनको कारणले गर्दा पनि हामी विकासमा पछि परिराखेका छौँ । अझैँ पनि माल पाएर पनि चाल पाउन सकेन भने हामी विकासको क्षेत्रमा कछुवाकै गतिमा हुने पक्का छ ।

वर्तमान समय जति सक्दो चाँडो नै ग्रामीण क्षेत्रको विकास गरी आम नागरिकलाई विकासको प्रत्याभूत गराउनु हाम्रो कर्तव्य हो । अव भाषण गरेर शासन गर्नु भन्दा नि विकास गरेर शासन गर्नु राम्रो हुने छ । हाम्रा केही अत्यावश्यक क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी सिँचाई जस्ता क्षेत्रमा तुरुन्तै विकास गर्‍यौ भने मात्र हामी थप अन्य विकासका कार्यक्रमहरू चरणबद्ध रूपमा विकास गर्न सक्थ्यौ ।

आ–आफ्नो ठाउँ र क्षेत्रमा धेर थोर भए पनि विकासका कार्यमा विना स्वार्थ लागि पर्‍यौ र विकासको काममा थोरै भए पनि समय दिन थाल्यौ भने ग्रामीण विकास सहज रूपमा हुन सक्छ । हातमा हात र हरेक कुरामा हाम्रो साथ र सहयोग रह्यो भने ग्रामीण क्षेत्रको विकास हाम्रो लागि स्वर्णिम वगैचा हुने छ । तपाई हाम्रै अग्रशर्तामा केही गरै र गर्नु पर्छ भन्ने भावनाले काम गर्‍यो भने मात्र हामी अगाडी बढ्न सक्छौ । हिजो विकासको नाममा जे भयो र जस्तो थियो ती पुराना कुराहरू बिर्सी अबको पालो हाम्रो र राम्रो विकास गर्नु नै हो । पहिला विकास अनि निकास भन्ने मूल नारामा साथ हामी अढिक भएर अगाडि बढेमा मात्र हाम्रो सहरी तथा ग्रामीण सँगै समग्र विकासले स्थान पाउँछ ।

अझैँ पनि ग्रामीण इलाकामा खानेपानी, सिचाईको लागि कुलो, सडक जस्ता अत्यावश्यक क्षेत्रको विकास अथासक्य चाँडो हुनु पर्दछ । ग्रामीण सडकको हिलो र धुलोको निकास न खोज्ने हो भने तपाई हाम्रो पुस्ता ईतिहसमै सम्झन लाहेक हुने छैन । सामान्य जनस्तरबाट हुन सक्ने विकास निर्माणका कार्यमा स्वयम जनस्तरबाट तथा अग्रज व्यक्तिहरूको साथ र सहयोग बाट कार्य गर्न सहज हुने छ । ठुला परियोजनामा स्थानीय सरकारको साथ र सहयोग लिँदै द्रुत रूपमा अगाडी बढ्न सकिन्छ । भोलि वादको बाटो छोडी आजै काम गरौँ भोलि न कुरौँ भन्दै दिन रात गरी तपाई हामीले देखेका र पुस्तकको पानामा लेखेका असजिलो लाग्ने बाँकी रहेका कामलाई तुरुन्तै पुरा गरै ।

समाजमा सामाजिक सद्भाव र एकता कायम गर्दै आफ्नो गाउँ बस्तीको विकासमा बढी जोड दिँदै अगाडि बढ्नु पर्दछ । आफुँ सँग भएको ज्ञान सिप र क्षमताको प्रयोग गर्दै ग्रामीण परिवेशलाई आमूल परिवर्तन गरी ग्रामीण परिशेलाई सहज र सरल बनाउनु पर्छ । यसो गर्दा ग्रामीण क्षेत्रमा रहेको विकासको गरिबिलाई केही हद सम्म भए पनि मत्थर पार्न सकिन्छ । ग्रामीण क्षेत्रमा विकासको नाममा विनाश न निम्त्याउने हिसाबले तेरो र मेरो भन्ने गलत भावनाको अहम् हटाई ग्रामीण विकासमा तपाई हाम्रो सक्रिय सहभागिता हुन आवश्यक छ । आफूलाई समाजको बुद्धिजीवी ठान्नेहरूले पनि विकासका काममा साथ र सहयोग दिन आवश्यक छ । विकासको नाममा राजनीति गर्ने हरूलाई पाखा लगाई सहज वातावरण सिर्जना गरी विकासमा परिवर्तन ल्याउनु पर्दछ ।

हाम्रो राम्रो कामले ग्रामीण परिवेशलाई मात्र नभई समग्र विकासलाई नै फाइदा हुने छ भने हाम्रो आउने भावी पुस्ताको लागि पनि राम्रो हुने छ । राजनैतिक रूपमा हाम्रो आस्था र विचार फरक भए पनि विकासको क्षेत्रमा तपाई हाम्रो आस्था र विचारमा साथ र सहयोग अपरिहार्य छ । हाम्रो कल्पना सुन्दर ग्रामीण क्षेत्रको परिकल्पना भन्ने कुरालाई आत्मसाथ गर्दै कत्ती पनि ढिला नगरी सोच र विचार बदली विकास निमार्णको कार्यमा गति लिनु आवश्यक छ । समाजमा रहेको विकासको अन्धविश्वासलाई पछि पार्दै आगामी दिनहरूमा उर्जाबान बनाउँदै विकास र निकासको कार्यलाई जोड दिनु पर्दछ । तपाईँ र हाम्रो सक्रिय सहभागिता सँगै विकास निमार्णको कार्यमा टेवा पु¥याउनु छ । हामीसँग भएको बल, बुद्धि र विवेकको प्रयोग गरी आम जनमानसमा विकासको प्रत्याभूति दिलाउनु पर्दछ ।

ग्रामीण विकासका कार्यमा वातावरण मैत्री प्रविधिको प्रयोग गर्न सकेका विकासमा थप सहजता प्रदान हुने छ । त्यस्तै कृषि क्षेत्रको विकासमा परम्परागत कृषि प्रणालीलाई फेरबदल गरी आधुनिक कृषि प्रणालीमा रूपान्तरण गर्नका लागि हाम्रो शिक्षित जमातको सक्रिय सहभागितामा हुन आवश्यक छ । विकासको हरेक क्षेत्रमा शिक्षित युवा जमातको परिचालन गरी ग्रामीण विकासमा आमूल परिवर्तन ल्याउनु छ । विकासको मूल फुटाउनमा हामी युवा पुस्ताको ठुलो भूमिका छ । आशा छ हाम्रो आगामी दिनहरूमा विकास निमार्णको कार्यमा थप गति प्रदान हुने छ ।

लेखक सुवास भट्टराई ग्रामीण विकासको विद्यार्थी तथा विद्यावारिधिको तयारीमा हुनुहुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस