प्रहरीद्वारा निर्घात कुटिएकी महिलाको भिडियो भाइरल, कुटपिटमा संलग्न प्रहरी कारबाहीमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरीद्वारा निर्घात कुटिएकी महिलाको भिडियो भाइरल, कुटपिटमा संलग्न प्रहरी कारबाहीमा


२४ असार २०७७, बुधबार


काठमाडौँ । प्रहरीले एक महिलामाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा प्रहरीले एक महिलामाथि लाठी प्रहार गर्दै कुटेको दृश्य देखिन्छ । त्यहाँ पुरुष प्रहरी र महिला प्रहरीको संलग्नता रहेको भिडियोमा भएको दृश्यले देखाएको छ । उक्त घटना कर्णाली प्रदेशको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको हो । घटना जेठ १ गते घटेको बताइए पनि अहिले भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उक्त घटनाले प्रहरी मेरो साथी भन्ने नारालाई नै गिज्याइरहेको छ । त्यो पनि महिलामाथि प्रहरीले कुटपिट गर्दा मानवीय समवेदना हराएको अनुभूति देखिन्छ । ती महिलाले गल्ती नै गरेको भए पनि त्यसरी यातना दिइनु कानुन विपरीत ठहरिन्छ ।

भिडियो भाइरल भएपछि उक्त घटनाबारे सोधखोज भएको छ । जिल्लाबाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा महिलामाथि कुटपिट गरिएको बताइएको छ ।

कुटपिटमा संलग्नमाथि छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ठकगबहादुर केसीले जानकारी दिएका छन् । उनका अनुसार कुटपिटमा संलग्न एक प्रहरी हवलदार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत रहेको र अन्य दुई जनामाथि जिल्लामा अनुसन्धान भइरहेको छ ।

महिलामाथि कुटपिट गर्ने महिला प्रहरी जवान निर्मला विक पनि आठबिसकोट नगरपालिकाको नगर प्रहरी कार्यालयमा कार्यरत हुन् । उक्त भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरी छानबिनको दायरामा ल्याइएको डिएसपी केसीले बताए । भिडियोमा देखिएको दृश्यमा भने महिला प्रहरीले प्रहरी आचरण विपरीत कार्य गरेको देखिएको छ । दोषी ठहरिए कानुन अनुसार कारबाही हुने छ ।

प्रतिक्रिया दिनुहोस