अब त तन्द्राबाट जाग्नुस् न कान्छा दाइ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अब त तन्द्राबाट जाग्नुस् न कान्छा दाइ


२० असार २०७७, शनिबार


जुन गोरेटोबाट
कान्छा दाइको घर पुग्न पैताला खियाउँथ्यौ
जुन जस्केलाबाट
हजुरको सुन्दर घर चियाउँथ्यौँ
आफैले कष्टले छाएको
आफ्नै हातले रंगाएको
त्यै घरको छानो
त्यै घरको मानो
उतिविघ्न प्रिय लाग्दैन कान्छादाइ आजकल ।
X
केही दिन पाहुना लाग्न जाँदा
चोटैचोट भएको
कोठै कोठा भएको
उदार गल्ली
चौडा बार्दली
चर्म चक्षुले बुईगलबाट
विशाल फाँट छिचोल्न सकिने
बन्द क्षितिज खोल्न सकिने
अँध्यारो- उज्यालो केही नभनी
अहोरात्र लक्ष्यमा अडिग बनी
हजुरले बनाएको त्यो ठूलो घर
निकै प्यारो लाग्छ कान्छा दाइ ।
X
कान्छादाइ आजकल
आफूले बजाउने मादलभन्दा
आफूले भजाउने भजन भन्दा
हजुरको सुर ताल मन पर्छ
हजुरकै आँगनको घिरौलाको झ्याल मन पर्छ ।
X
लहलह धान झुल्ने
आफ्नो बारी नभएको होइन
सालिन्दा तामाका टुसा निकाल्ने
घना बाँसघारी नभएको होइन
पैसा टिप्न दौडिंदा-दौडिंदै
फूलेका कपाल दार्‍ही पनि नभएको होइन
तर प्रत्येक सेकेण्डमा टिक-टिक गर्दै
समय सिकाउने त्यो ठूलो भित्ते घडी
आफैलाई डोर्‍याएर यहाँसम्म ल्याउने छडी
हिजोसम्म सजाएको आफ्नै झुपडी
फिका फिका लाग्छ कान्छा दाइ ।
X

कान्छा दाइ,
आजकल किन किन
फाँडो बनाई मन
फतफत् फत्काईदिउँजस्तो लाग्छ
आफ्नै समूहको वैशिष्ट्यता
छिन्न-भिन्न पारी भत्काईदिउँजस्तो लाग्छ
मामा र काकाहरू साथमा भएको बेला
ठुलो घर देखेर आत्तिएको नमान्नू
माया पाएर धेरै मातिएको नठान्नू ।
X
कान्छा दाइ,
उसबखत समय नभएको होइन
हातमा दही जमाएर
सुती खानुमै रमाएर
सुत्नुसम्म सुतियो
हजुरले सुनाएको
खरायो र कछुवाको कथा सुनेर उठियो ।
मन त पटक्कै होइन कान्छा दाइ
हजुरले सुन्दर बाटिका सजाएको देख्दा
गाउँलेहरूलाई हाँसी-हाँसी कजाएको देख्दा
लोभको घडा बडा बनिदिंदोरहेछ
तँ पनि अघि सर भनिंदिंदोरहेछ ।
तर मसँग आजकल
फगत ईर्ष्या र अहम् मात्र अवशेष देख्दछु
त्यही नै मेरो विशेष देख्दछु ।
X
अलि अस्ति
तल्ला गाउँलेहरू
सलहझैँ हुल बाँधी
हजुरहरूको करेसाबारी आफ्नै भनी
हजुरको दिवारमा छिर्ने सुरुङ् खनी
अड्डा जमाएर बसेको अनादेख गर्नुभयो र ?
सधैँ कति जाती बन्नुहुन्छ
सदैव कतिको जाती बन्नुहुन्छ कान्छा दाइ ।
X
सुतेरै खाए भनी हामीजस्तै
हजुर पनि
पसिनाले सिँचेर सुन फलाउने ती पाखुरी बाँधेर नबस्नू न कान्छा दाइ।
आफ्ना सबै शिष्यको लागि
सन्ततिको स्वर्णिम भविष्यका लागि
आफू मरे’सि फलानो राजा जसै
अर्कैले ख्वाएको खाजा जसै
आजकल निद्रै नलाग्दा पनि
बिछ्यौनामा पल्टेर
सिरकमात्र सधैँ नबेर्नू न कान्छा दाइ
आफैले हिँडेको बाटोमा पिसाबै त नफेर्नू न कान्छा दाइ ।
जुर्मुराएर आइसके सलहहरू
अब त तन्द्राबाट जाग्नुस् न कान्छा दाइ ।
X XX

प्रतिक्रिया दिनुहोस