कहीँ नभएको जात्रा हेर्ने भए हाँडी गाउँ होइन, सिंहदरवार जानू « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कहीँ नभएको जात्रा हेर्ने भए हाँडी गाउँ होइन, सिंहदरवार जानू


१९ असार २०७७, शुक्रबार


काठमाडौँ । माल भएर के गर्नु चाल थाहा नपाएपछि भन्ने उखान सिँहदरवारभित्रका हाकिमहरूका लागि सामान्य हो । आँगनमा बगैँचा बनाई दिएको छ, फूलका बोटहरू पनि रोपी दिएका छन् । तर फूललाई झारले ढाकेर गज्जबको सौदर्यता दर्साएको देखिन्छ सिंहदरवारमा ।

शोभा बढाउन राखिएका सजावटहरूको सामान्य स्याहार गर्न नसक्दा समेत बाँदरको हातको नारिबल बन्न पुगेका छन् । त्यो पनि मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिँहदरवारमा जहाँ हरेक मन्त्रालयमा सरकारका विशिष्ट श्रेणीका प्रशासकहरूको नेतृत्व छ ।

गतसाता युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्राङ्गणमा एउटा गज्जबको दृश्य देखियो । हुन त एक आध मन्त्रालयबाहेक अधिकांश मन्त्रालयको हालत यस्तै छ । तर नाकैमुनि यस्तो कुरूपता सायदै देखिएला ।

नपाउनेले केरा पायो बोक्रासमेत खायो भने जस्तै सीमित अवधिका लागि पाएको सुविधाको सवारी बाटो नै छेक्ने गरी आगनमा ड्याम्म राखिनु आफैमा कुरूपता त हो नै त्यसैमाथि ढोकै अगाडी झारै झार उमारेर आफ्नै गाडी टल्काउन लगाएको दृश्य देख्नेलाई भन्दा …..लाई लाज भनेजस्तै थियो ।

सफा गाडीमा चढ्नु नराम्रो हुँदै होइन, तर आँगनकै बगैँचा कुरूप बनाउनु पनि त राम्रो होइन नि ! हरेक दिन बिहान ओर्लिदा र बेलुकी चढ्दा तिनका आउँदा किन यसमा पुग्न सकेनन् । सवारी सफा खोज्ने उनले आँगन र बगैँचाको कुरूपतातर्फ किन भन्न सकेनन् ?

आफै बस्ने कुर्सी टकटक्याउदा एक पाथि धुलो जम्मा हुने अवस्थामा सुकिला दौरा सुरुवाल लगाएर टल्किने गाडीमा सवार हुनु भनेको फोहोरको डुंगुरमा सेतो तन्ना बिछ्याएर आहा कस्तो स्वच्छ वातावरण भनेजस्तै भएन र !

आफै बनाउन त सक्दै नसक्ने, अरूले बनाई दिएका संरचनाहरूसमेत सफा राख्न नसक्ने उच्च प्रशासकहरूले कसरी राजनीतिक सपना र योजना सफल बनाउलान् ? राजनीतिक नेतृत्वले सुम्पेको ‘सुखी नेपाली, समृद्ध नेपालको सपना’ यस्तो चालाबाट पुरा होला भनेर कसरी पत्याउने ? कि यो पनि प्रधानमन्त्रीले नै निर्देशन दिनु पर्ने थियो कि महोदय !

Tags :
प्रतिक्रिया दिनुहोस